१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १७ बिहीबार
  • Saturday, 24 May, 2025
निरज गिरी
२o८१ श्रावण १७ बिहीबार o७:५६:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण

सेयर बजारको कीर्तिमानी वृद्धि कति स्वाभाविक ?

Read Time : > 4 मिनेट
निरज गिरी
नयाँ पत्रिका
२o८१ श्रावण १७ बिहीबार o७:५६:oo

सस्तो छ भन्दैमा कम्पनी नहेरी ‘रिटर्न’ दिने सम्भावनै नभएका कम्पनीको सेयर किनियो भने लगानी डुब्ने जोखिम बढी हुन्छ

लामो अवधिसम्म सेयर बजार १८०० देखि २००० विन्दुको आसपास बसिरहेको थियो । बजार सधैँ चलायमान हुन्छ, स्थिर रहँदैन । पछिल्ला केही वर्षमा बजार स्थिरजस्तो देखिन्थ्यो । नयाँ सरकार आउनु र मौद्रिक नीति खुकुलो बन्दै जानुले सेयर बजारलाई बढाउन भूमिका खेलेको छ । तर, अहिले जुन किसिमले बजार बढिरहेको छ, त्यसले बजारमा ससाना लगानीकर्ता बढी सजग हुनुपर्ने देखिन्छ । आजभन्दा एक महिनाअघिको तुलना गर्दा अर्थतन्त्रमा तात्विक भिन्नता आएको देखिन्न । बजार बढेको हेर्ने हो भने समग्र कम्पनीको सेयर मूल्य बढेको छ । खराब वित्तीय विवरण भएका कम्पनीको पनि सेयर मूल्य बढेको छ । यसले बजारको वृद्धि अलि अस्वाभाविक हो कि भन्ने आशंकालाई बल पुर्‍याएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई खराब कर्जा र वित्तीय विवरणमा सुधार ल्याउन नीतिगत लचकता प्रदान गरेको छ । यसले बैंक तथा वित्तीय संस्थाको सेयरप्रतिको आकर्षण स्वाभाविक हुन सक्छ । तर, राम्रा–नराम्रा सबैखाले कम्पनीको सेयर मूल्य बढ्नुले सर्वसाधारणको लगानी जोखिममा पर्न सक्ने देखिन्छ । 

हामीकहाँ संस्थागत लगानीकर्ताको अभाव छ । विकसित मुलुकमा संस्थागत लगानीकर्ताको वर्चस्व हुन्छ । तर, नेपालमा व्यक्तिगत लगानीकर्ता बढी छन् । व्यक्तिगत लगानीकर्ता बढी भएको बजारमा आत्तिने र मात्तिने प्रवृत्ति हुन्छ । पछिल्लो समय सेयर बजारमा भइरहेको वृद्धिदरमा लोभिएर नयाँ लगानीकर्ता पनि प्रवेश गर्न थालेका छन् । हाम्रो सेयर बजार अस्थिर हुनुको कारण साना लगानीकर्ताको उपस्थिति बढी हुनु पनि हो । संस्थागत लगानीकर्ताका नाममा केही व्यक्तिको समूह मिलेर सेयर कारोबार गर्ने प्रवृत्ति पनि छ । तर, यो वास्तवमा संस्थागत लगानीकर्ता भने होइन । यस्ता समूहले बजारबाट अल्पकालीन लाभ लिन मात्रै खोज्छन् । यस्ता समूह दीर्घकालीन लगानीकर्ताभन्दा पनि अल्पकालीन सेयर कारोबारमा संलग्न हुन्छन् । बिमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्ता बजार प्रवेश गर्न सकेका छैनन् । पुँजी बजारले अपेक्षा गरेका संस्थागत लगानीकर्ता यिनै हुन् । लगानी कम्पनीका रूपमा खुलेका यस्ता समूहको बाढी नै आएको छ । दीर्घकालीन लाभका लागि लगानी कम्पनी प्रवेश गरे भने मात्रै बजारमा स्थायित्व कायम रहन्छ । 

नेपाली सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीभन्दा पनि बैंक तथा वित्तीय संस्थाको वर्चस्व छ । बैंक तथा वित्तीय क्षेत्रबाहेकको औद्योगिक क्षेत्र, होटेल, फर्मास्युटिकल्स आदिलाई हामी वास्तविक क्षेत्र भन्छौँ । त्यस्ता कम्पनी, जसले देशमा रोजगारी सिर्जना गर्न सक्छन्, ‘भ्यालु एड’ (मूल्य अभिवृद्धि) गर्ने क्षेत्रलाई वास्तविक क्षेत्र भनिन्छ । हाइड्रो, बिमा, सिमेन्ट आदि क्षेत्रलाई पनि यसैमा राख्न सकिन्छ । ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाले नै ओगटेको छ । त्यसैले पनि राष्ट्र बैंकले लिने नीतिले सेयर बजारलाई बढी प्रभाव पार्दै आइरहेको छ । धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीलाई सूचीकृत गर्न ‘बुक बिल्डिङ’ विधि कार्यान्वयनमा ल्यायो । यद्यपि, यसमा सुरुवाती चरणमै विवाद देखा परेको छ । अहिले राष्ट्र बैंक नै पुँजीबजारको नियामकजस्तो देखिनुको कारण बैंक तथा वित्तीय संस्थाको वर्चस्व हो । बैंक तथा वित्तीय संस्थालाई इजाजत पत्र दिँदा नै सर्वसाधारणलाई सेयर निष्कासन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । रियल सेक्टरका कम्पनीलाई आफ्नो व्यवसाय विस्तार तथा वृद्धिका लागि पुँजी अपुग नहुँदासम्म बाध्यकारी व्यवस्था छैन । त्यसैले गर्दा पुँजीबजारमा धितोपत्र बोर्डभन्दा बढी भूमिका नेपाल राष्ट्र बैंकको देखिँदै गएको छ । 

ब्रोकरमार्फत मार्जिन प्रकृतिको कर्जा प्रवाहसम्बन्धी कार्यविधि बनाएर सुरु गर्ने हो भने पनि त्यो अघि बढ्न सकेको छैन । ब्रोकरहरूको पुँजी नै तीन–पाँच करोड रुपैयाँ छ । सानो पुँजी भएको संस्थालाई कसले पत्याउने ? बैंकहरूले पनि साना पुँजी भएका ब्रोकर कम्पनीलाई विश्वास गर्न नसक्ने अवस्था छ । त्यसैले अघि बढ्न सकेन । तर, पछिल्लो समय ६० करोडदेखि डेढ अर्बसम्मका नबिल स्टक डिलर, सिआइटी स्टक डिलरलगायत ब्रोकर कम्पनी खुलेका छन् । मार्जिन प्रकृतिको कर्जाले नै अहिले बजारमा प्रभाव परेको हो । राष्ट्र बैंकले पनि ब्रोकरमार्फत जाने भनेको छ । धितोपत्र बोर्डले आफ्नो नियमावलीमार्फत ब्रोकरहरूको पुँजी २० करोड रुपैयाँ पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ । पुँजी वृद्धि भइसकेपछि ब्रोकरमार्फत मार्जिन कर्जा जाने सम्भावना रहन्छ । विकसित मुलुकमा बैंकहरूबाट प्रत्यक्ष रूपमा सेयरमा लगानी गर्न कर्जा नदिने व्यवस्था छ । हाम्रोमा पनि बिस्तारै यो प्रणाली आवश्यक छ । त्यसपछि मात्रै लगानीकर्ताले मौद्रिक नीतिलाई वास्ता गर्न छोड्नेछन् । 

वित्तीय अवस्था कमजोर रहेका कम्पनीको मूल्य पनि द्रुत रूपमा बढिरहेको परिप्रेक्ष्यमामा नेपालमा सेयर बजारलाई उचाल्न ‘पम्प एन्ड डम्प’ प्रवृत्ति मौलाएको आशंका गर्न सकिन्छ । मूल्यलाई उचाल्दै लैजाने र एकमुष्ट बेचेर बजारबाट बाहिरिने प्रवृत्तिलाई पम्प एन्ड डम्प भनिन्छ । यस्तोमा केही लगानीकर्ता मिलेर पालैपालो सेयर किन्दै बजार मूल्य बढाउँदै लैजाने र निश्चित मूल्यमा बढिसकेपछि बेचेर बाहिरिने गर्छन् । यसलाई नियामक निकायले हेर्नुपर्छ । सेयर बजारमा नियामकको मूलतः दुई किसिमको भूमिका रहन्छ– सबैलाई सूचनाको समान पहुँच कायम राख्ने र बजारलाई ‘म्यानुपुलेट’ गरे–नगरेको अनुगमन गर्ने । लगानीकर्ताले नियामक निकायबाट संरक्षित भइन्छ भन्ने आसले लगानी गरेका हुन्छन् । त्यो आत्मविश्वास दिलाउन बजारमा म्यानुपुलेट हुन नदिन अनुगमन गर्न सक्नुपर्छ । यस्तो आशंका देखिएमा सम्बन्धित कम्पनीलाई सोधपुछसमेत गर्नुपर्छ । अमेरिकी फेडरल रिजर्भ बैंकले नीतिगत दर फेरबदल गर्दा संसारभरको सेयर बजार प्राभावित हुने गर्छ । त्यसैले मौद्रिक नीतिले सेयर बजारलाई प्रभावित नपार्ने भन्ने त हुँदैन । मुख्यतः सेयरमा लगानी गर्ने भनेको कम्पनीमा हो । कम्पनीको वित्तीय विवरण नहेरी लगानी गर्ने हो भने दिगो लाभ दिँदैन । उर्लिएको बजारमा नबुझी लगानी गर्ने हो भने खेलाडीको खेलमा पर्ने जोखिम भइहाल्छ । किनभने सेयर बजारमा जोकोही पनि कमाउने उद्देश्यले प्रवेश गर्ने हो, गुमाउनका लागि होइन । 

कम्पनी नहेरी लगानी गर्दा ‘रिटर्न’ दिने सम्भावनै छैन, त्यस्तो सेयर सस्तो छ भनेर किन्न थाल्यौँ भने यो दिगो रूपमा जान सक्दैन । अहिलेको मौद्रिक नीतिले बैंकिङ सेक्टर, फाइनान्स क्षेत्रको पर्फर्मेन्समा असर गर्ला पनि । तर, सबैतिर त त्यस्तो अवस्था छैन । त्यसैले, सेयरमा लगानी गर्दा पर्फर्मेन्स नहेरी गर्नुहुँदैन । सेयर बजार एकदम उर्लेर गएको समयमा नयाँ लगानीकर्ता छिर्ने हो भने उहाँहरूले कति बुझ्नुभएको छ, त्यसले पनि फरक पार्छ । नबुझीकन लगानी गर्ने हो भने बजारका खेलाडीले खेल्न त कोसिस गरिहाल्छन् । यस्तोमा अनेक किसिमका झुटा सूचना या अफवाह पनि आउँछन् । भेरिफाई नगरी त्यस्ता सूचनाकै भरमा सेयर बजारमा हामफाल्नु हुँदैन । लामो समय नबढी बसेको र मौद्रिक नीतिले पनि त्यसलाई अलिकति भए पनि चलायमान गराएको अवस्थामा अहिले बजार केही बढ्नु अन्यथा होइन । तर, ‘ननपर्फर्मिङ’ कम्पनीहरूको पनि बढिरहेको अवस्थामा भने लगानीकर्ता सजग हुनुपर्छ ।

पछिल्ला दिनमा करिब ३२०० को बजार घटेर १८०० मा आइपुगेको हो । अहिले बढ्दा धेरैले यसलाई ‘बुल बजार’ भनिरहेका छन् । तर, यो जार्गन मात्र हो । पुँजी बजारको ‘सम इफेक्ट’ शून्य नै हो । आज एउटासँग हुँदा अर्काले तान्छ र भोलि अर्कासँग हुँदा अर्कालाई तान्छ । त्यही पुँजी यता र उता हुने न हो । त्यसैले, अहिले तीन–चार दिनमै बुल भन्ने अवस्था छैन । बुल भनेको त एउटा तहमा अर्थतन्त्रसित बजार ‘टाइअप’ भएर ‘ग्र्याजुअल्ली’ ‘मुभ’ भयो भने मात्रै भन्ने हो । तर, हामीकहाँ हप्तादिनमै दुई–तीन सयले बढेपछि बुल आयो भनेर हल्ला फिँजाइएको छ । तर, यत्तिकै भरमा बुल भन्न मिल्दैन । ह्वात्त बजार बढेको छ भने त्यो कतैबाट म्यानुपुलेटेड पनि हुन सक्छ । अर्थतन्त्रले पर्फर्म नगरेर घटेको छ भने त्यो बियरिस भयो भने अर्थतन्त्रले पर्फर्म गरेर इन्डेक्स बिस्तारै माथि गएको छ भने त्यसलाई बुलिस बजार भन्न सकिन्छ । बजार एकातिर र अर्थतन्त्र अर्कातिर गयो, अर्थात् अर्थतन्त्र र बजारबीच टाइअप हुन सकेको छैन भने सर्वसाधारण लगानीकर्ता सचेतचाहिँ हुनैपर्छ । 

सेयर बजार बढेको समयमा खुसी भएर लगानी गर्ने हो भने पनि सतर्क भने हुनुपर्छ । नवप्रवेशीले सस्तो सेयर उठाउँछु भनेर छिर्ने होइन, पर्फर्मिङ कम्पनी हेरेरै लगानी गर्नुपर्छ । ट्रेडिङ नै गर्ने हो भने पनि इन्भेस्टर र ट्रेडिङको फरक हुन्छ । म इन्भेस्टर होइन, ट्रेडिङ गर्छु भन्ने हो भने पनि उसले पर्फर्मिङ कम्पनी नै छान्न सक्नुपर्छ । कसैले हल्ला चलाएरै बजार बढाउन खोजेको हो कि भन्नेमा सचेत हुनुपर्छ । कम्पनीको पर्फर्मेन्स राम्रो छैन, तर बजार मूल्यचाहिँ बढिरहेको छ भने खतराको घन्टी महसुस गर्न सक्नुपर्छ । राम्रो गरिरहेको कम्पनी छ भने त्यसमा लगानी गर्न सकिन्छ । बजार प्रवेश गरिसकेपछि आफ्नो अपेक्षित रिटर्न कति हो भन्नेमा पनि प्रस्ट हुन सक्नुपर्छ । अन्यथा, बढिरहेको छ, यति पुग्ला, उति पुग्ला भनेर लोभ गरेर बसियो भने त्यसले समस्यामा पार्न पनि सक्छ । धेरै मानिस फस्ने भनेको ठीक समयमा बजारबाट निस्किन नजानेरै हो । त्यसैले, निस्कने बाटोबारे पनि समय छँदै सचेत हुन जरुरी छ । ढिलो भइसकेपछि पछुताएर केही हुँदैन । 

(गिरी नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक  हुन्)