Skip This
एकीकृत समाजवादीको पदाधिकारीमा आकांक्षी धेरै, अपूरो कमिटी चयन गर्दै सकियो महाधिवेशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २२ शनिबार
  • Friday, 04 October, 2024
अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदै । तस्बिर : विमलबहादुर विष्ट/रासस
प्रेम गौतम काठमाडाैं
२o८१ असार २२ शनिबार o६:१३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एकीकृत समाजवादीको पदाधिकारीमा आकांक्षी धेरै, अपूरो कमिटी चयन गर्दै सकियो महाधिवेशन

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २२ शनिबार o६:१३:oo

महाधिवेशन हलले एकतिहाइ सदस्य पनि चयन गर्न सकेन । विधानअनुसार २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नुपर्नेमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत

पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीको महाधिवेशन अपूरो कमिटी चयन गर्दै सम्पन्न भएको छ । २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नुपर्नेमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन भएको छ । 

महाधिवेशन हलले एकतिहाइ सदस्य पनि चयन गर्न सकेन । भूगोल, योग्यता, क्षमता र क्रियाशीलताको आधारमा प्रदेश र जिल्लासँग समन्वय गरेर सदस्यहरू चयन गरिने सम्मानित नेता खनालले बताए । विधानअनुसार केन्द्रीय कमिटीमा प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्य रहनेछन् । यस्तै, महिला ३३ प्रतिशत र युवा २० प्रतिशत हुनुपर्नेछ ।

राजधानीको प्रज्ञा भवनमा गत १६ असारमा सुरु भई शुक्रबार सम्पन्न महाधिवेशनले बाँकी पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी नवनिर्वाचित केन्द्रीय कमिटीलाई दिएको छ । केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी हुनेछ । 

पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी उल्लेख्य छन् । त्यसकारण सर्वसम्मत चयनका लागि करिब दुई हप्ताको समय लाग्ने नेताहरू बताउँछन् । शनिबार १ बजेका लागि नवगठित केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । 

बैठकले सदस्य चयनका लागि मापदण्ड र प्रक्रिया निर्धारण गर्ने नेता उर्वादत्त पन्तले बताए । २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेपछि पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयन हुने बताइएको छ । 

सचिव र उपमहासचिवले माथिको पदमा आकांक्षा राखेका छन् । स्थायी कमिटीका अधिकांश सदस्यले पदाधिकारीमा आकांक्षा राखेका छन् । त्यसकारण पदाधिकारी चयनमा सकस परेको छ । पदाधिकारीमा पुरानै अनुहार दोहोरिने सम्भावना प्रबल रहेको नेताहरू बताउँछन् । स्थायी कमिटीबाट तीन–चारजना मात्रै पदाधिकारीमा जाने सम्भावना रहेको एक नेताले बताए । 

कांग्रेस–एमाले गठबन्धन दक्षिणपन्थी अवसरवाद
एकीकृत समाजवादीले सत्तासमीकरण बदलेर कांग्रेस–एमालेको गठबन्धनलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ । महाधिवेशनबाट पारित प्रस्तावमा कुनै सिद्धान्तविना कांग्रेस र एमाले मिल्नुलाई अस्थिरता निम्त्याउने खेल भनिएको छ ।

‘सरकारको समीकरण परिवर्तन गर्दै गर्दा कुनै सैद्धान्तिक आधारविना सत्तास्वार्थका लागि जोसँग पनि जतिखेर पनि जस्तोसुकै सम्झौता गरेर अस्थिरता निम्त्याउने काम गर्नु दक्षिणपन्थी अवसरवाद हो भन्ने यो महाधिवेशनको निष्कर्ष छ,’ महाधिवेशनबाट पारित समसामयिक प्रस्तावमा छ । महाधिवेशनले वामपन्थी एकतामा जोड दिएको छ । 

महाधिवेशनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्गसंघर्ष सही दिशा र गति दिनका लागि समाजवादी क्रान्तिका लागि वामपन्थीहरूबीचको बृहत् एकता र सहकार्य अगाडि बढाउन सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूलाई आह्वान गर्दछ ।’

महाधिवेशनले मुलुकमा व्याप्त भ्रष्टाचारप्रति चिन्ता जाहेर गरेको छ । भ्रष्टाचारविरोधी आन्दोलनमा जुट्न पार्टीपंक्तिलाई आह्वानसमेत गरेको छ । भ्रष्टाचारीलाई कारबाही गर्न सरकारसँग माग पनि गरेको छ ।

प्रेम आले ९३ जनाको सूचीमा परेनन् 

एकीकृत समाजवादी गठनका वेला महत्वपूर्ण योगदान गरेका पोलिटब्युरो सदस्य प्रेम आले ९३ जनाको सूचीमा परेनन् । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्यसम्मलाई समेटेर ९३ जनाको नाम हलमा घोषणा गरिएको थियो । आले प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी महाधिवेशनमा सहभागी भएका थिएनन् । महाधिवेशन हलमा उपस्थित नभएका कारण हलले निर्वाचित नगरेको नेता जगन्नाथ खतिवडाले बताए । उनले भने, ‘महाधिवेशन हलमा उपस्थित नभएको व्यक्तिलाई निर्वाचित गर्न निर्वाचन निर्देशिका र विधानले दिँदैन,’ उनले भने । दुईतिहाइ केन्द्रीय सदस्य चयन गर्न बाँकी रहेकाले छुटेका नाम समावेश हुने नेताहरूले बताएका छन् । आले भने सम्पर्कमा आएनन् ।