१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
टेगुसिगल्पा
२o८१ असार २० बिहीबार १o:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

होन्डुरसमा आपराधिक गिरोहविरुद्धको अभियान तीव्र, २० हजार अट्ने कारागार बनाइँदै

Read Time : > 1 मिनेट
टेगुसिगल्पा
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १o:२३:oo

होन्डुरसमा गत वर्ष हत्यादर प्रतिलाख ३४ थियो, जुन विश्वव्यापी औसतको झन्डै ६ गुणा बढी हो

होन्डुरसका अधिकारीले संगठित अपराधसँग जुध्नका लागि विभिन्न कठोर कदम घोषणा गरेका छन्, जसमा २० हजार कैदी अटाउने विशाल कारागारको निर्माण पनि समेटिएको छ । अभियानमा आपराधिक समूहलाई आतंकवादी घोषणा गर्नेदेखि र आपराधिक गिरोहका सदस्यविरुद्ध सामूहिक सुनुवाइ गर्ने कदम पनि चालिने सरकारले बताएको छ । 

केही दिनअघि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति जिओमारा क्यास्ट्रोले यो योजना घोषणा गरेकी थिइन् । त्यस क्रममा क्यास्ट्रोले देशमा बढ्दो हिंसाको कारण ‘सुरक्षा आपत्काल’को स्थिति सिर्जना भएकाले गम्भीर कदम चाल्न बाध्य भएको बताइन् । होन्डुरसका राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा परिषद्का सदस्यलाई छेउमा राखेर गरिएको सम्बोधनमा क्यास्ट्रोले भनिन्, ‘सशस्त्र बल र पुलिसलाई तुरुन्त देशका सबैभन्दा हिंसाग्रस्त क्षेत्रमा खटाइनेछ । देशमा आपराधिक गिरोहका कारण पैसाका लागि हत्या गर्ने, लागुपदार्थ र बन्दुकको तस्करी गर्ने, जबर्जस्ती असुलीका घटना, अपहरण र सम्पत्ति शुद्धीकरणजस्ता अपराध उलेख्य बढेको छ ।’ 

आपराधिक गिरोहविरुद्धको अभियानका क्रममा देशको पूर्वी भेग ओलान्चा र ग्रासियास ए डिओसको बीचको न्यून जनसंख्या रहेको क्षेत्रमा २० हजार कैदी अट्ने ‘इमर्जेन्सी रिक्लुजन सेन्टर’ बनाइने योजना छ । यदि सो कारागार निर्माण भयो भने त्यसले होन्डुरसको हालको कारागार क्षमतालाई व्यापक रूपमा विस्तार गर्नेछ । योजना कार्यान्वयनमा जान संसद्ले देशको दण्डसंहितामा सुधार गर्ने कानुन पारित गर्नुपर्नेछ । त्यस कानुनले लागुपदार्थको तस्करी तथा राष्ट्रपति क्यास्ट्रोले उल्लेख गरेका आपराधिक गिरोहका जघन्य अपराधलाई ‘आतंकवादी’ घोषित गर्ने र समूहविरुद्ध सामूहिक मुद्दा अघि बढाउने व्यवस्था गरेको छ । 

राष्ट्रिय प्रहरी बलका प्रमुख हेक्टर गुस्ताभोले ‘बुद्धिजीवी लेखक, नेता र गिरोह सदस्य’को सूची वितरण गरेर ती सूचीमा रहेकाहरूलाई तत्काल गिरफ्तार गर्न आदेश दिइएको जानकारी गराए । यसै योजनाअन्तर्गत गाँजा र कोका पातको खेतीको खोजी गरिने, तिनको समूल नष्ट गर्ने अभियान पनि चलाइने उनले बताए । 

होन्डुरसले घोषणा गरेका पछिल्लो अभियान छिमेकी अल साल्भाडोरले चालेको उस्तै कदमबाट प्रभावित बताएको देखिन्छ । अल साल्भाडोरका राष्ट्रपति नायब बुकेलेको आपराधिक गिरोहविरुद्ध सञ्चालन गरेको अभियान उस्तै समस्या सामना गरिरहेका ल्याटिन अमेरिकाभर चर्चित बनेको छ । यही अभियानका कारण बुकेले अहिले ल्याटिन अमेरिकाकै सबैभन्दा लोकप्रिय नेतामध्ये एक बनेका छन् । तर, अधिकारवादी समूहले भने यस योजनाका क्रममा मानव अधिकारको हनन भइरहेको आरोप लगाएका छन् । 

होन्डुरसले देशमा बढेको अपराध गिरोहका हकर्तलाई नियन्त्रण गर्न भन्दै डिसेम्बर २०२२ मै आपत्कालीन अवस्थाको घोषणा गर्दै संविधानका केही भाग निलम्बन गरेको थियो । यसका बाबजुद हिंसा कम नभएपछि नयाँ कदम चालिएको सरकारले बताएको छ । गत वर्ष त्यहाँको हत्यादर प्रतिलाख ३४ थियो, जुन विश्वव्यापी औसतको झन्डै ६ गुणा बढी हो । चर्चित मानव अधिकार समूह एम्नेस्टी इन्टरनेसनलले पहिले नै चेतावनी दिएको छ कि सामूहिक हिंसाविरुद्ध लागू गरिएको कठोर सुरक्षा उपायले ‘मानव अधिकार उल्लंघन तथा मृत्युको घटना वृद्धि गराएको र ‘सबैलाई खतरामा पारेको’ चेतावनी दिएको छ ।
 

ad
ad
ad
ad