१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
गेयर वुड्स
२o८१ असार १७ सोमबार १o:१३:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

युरोपेली युवामा देखिएको दक्षिणपन्थी झुकाव

युरोपेली युनियनका युवा मतदातामा दक्षिणपन्थी झुकाव स्पष्ट देखिन्छ

Read Time : > 3 मिनेट
गेयर वुड्स
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १o:१३:oo

प्रगतिशीलहरू जनाधारका लागि लामो समयदेखि युवामा निर्भर रहँदै आएका छन् । पाँच वर्षअघि मात्रै पनि युरोपेली युवा जलवायु परिवर्तन, सामाजिक न्याय र लोकतान्त्रिक सुधारको वकालत गर्ने दलहरूलाई मतदान गरेका थिए । तर, अबका लागि भने यो व्यावहारिक राजनीतिक रणनीति नहुन सक्छ । यसै जुन महिनामा सम्पन्न युरोपेली संसद्को चुनावले धेरैजसो युवा मतदाता चरम दक्षिणपन्थी खेमामा सरेको देखाउँछ । जसबाट आप्रवासीविरोधी, युरोपेली संघको शक्ति बढाउन हुँदैन भन्ने र संस्थापनविरोधी पार्टीहरू महत्वपूर्ण लाभ उठाउन समर्थ भएका छन् । 

यो प्रवृत्ति युरोपमा मात्रै सीमित छैन । नयाँ करका विरोध गरिरहेका केन्याली युवाले यसै महिना संसद्मा धाबा बोले र सो क्रममा प्रहरीले गोली चलाउँदा कैयौँको मृत्यु भयो । विश्वभर नै यस्तो राजनीतिको उदय भइरहेको छ । यस्तो राजनीति सधैँ उग्रपन्थसँग जोडिन्छ भन्ने त छैन, तर अक्सर यथास्थितिविरोधी भने हुने गर्छ । यस्तो आन्दोलनले असन्तुष्ट युवा मतदाताको मन जित्न राजनीतिज्ञले आफ्ना सन्देश र माध्यम दुवैमा पुनर्विचार गर्नुपर्ने आवश्यकताबारे जबर्जस्त सचेतना रूपमा काम गर्दै आएको छ । 

युरोपियन युनियनमा युवा मतदातामा दक्षिणपन्थी झुकाव स्पष्ट देखिन्छ । सन् २०१९ मा ‘ग्रिन्स’हरूलाई अत्यधिक समर्थन गरेका २५ वर्षमुनिका १६ प्रतिशत जर्मन मतदाताले यो वर्षको युरोपेली निर्वाचनमा चरम दक्षिणपन्थी ‘अल्टरनेटिभ फर डचल्याड (एएफडी)’को पक्षमा मतदान गरे । परिणामतः एएफडीले चान्सलर ओलाफ सोल्जको ‘सोसियल डेमोक्य्राट पार्टी’लाई उछिन्दै अर्काे उग्र दक्षिणपन्थी दल ‘क्रिस्चियन डेमोक्य्राट्स’पछिको दोस्रो स्थानमा आयो । फ्रान्समा मरिन ले पेनको चरम दक्षिणपन्थी दल ‘नेसलन र्‍याली’मा ३० प्रतिशत युवा मत गयो । यो नतिजा सन् २०२२ को राष्ट्रपतीय चुनावकै लयमा छ । त्यतिखेर ले पेनले १८–२४ वर्ष उमेर समूहका ३० प्रतिशत र २५–३४ वर्ष उमेर समूहका ४९ प्रतिशत मत प्राप्त गरेकी थिइन् । 

बढ्दो भाडादर र घट्दो आर्थिक सम्भावनाबीच युरोपेली युवा सामाजिक सञ्जाललाई आफ्नो रिस पोख्ने स्थानका रूपमा प्रयोग गर्दै बढ्दो रूपमा चरमपन्थी दलतर्फ आकर्षित हुँदै छन् । यसको प्रमाण यसै जुन महिनामा सम्पन्न युरोपेली संसद्को निर्वाचन परिणाममा देख्न सकिन्छ । यसले विश्वभरका राजनीतिज्ञका लागि ‘वेक–अप कल’को काम गर्नुपर्छ । 

यसैबीच, १८–३४ वर्ष उमेर समूहका २१ प्रतिशत इटालियन मतदाताले प्रधानमन्त्री जियोर्जिया मेलोनीको ‘ब्रदर्स अफ इटली’लाई मतदान गरे, जसबाट मेलोनीको दलले आफ्नो एजेन्डा अघि बढाउन बलियो जनादेश प्राप्त गर्‍यो । स्पेनमा ‘अल्ट्रा कन्जर्भेटिभ भोक्स’ पार्टीले युवा मतदाता (२५ वर्षभन्दा कम उमेरका) को मत–हिस्सा बढाएर १२.४ प्रतिशत पुर्‍याएको छ । रुझानविपरीत स्विडेनको चरम दक्षिणपन्थी दल ‘स्विडेन डेमोक्य्राट्स’ले भने २२–३० वर्ष उमेर समूहका १० प्रतिशत मतदातालाई मात्रै आकर्षित गर्न सकेको छ । 

युरोपमा युवाको दक्षिणपन्थी झुकावले राजनीतिज्ञलाई आप्रवासनजस्ता मुद्दामा आफ्नो स्थिति कडा बनाउन अभिप्रेरित गरेको छ । तर, युवा मतदातामा जेनोफोबिक, इयूविरोधी भावना र अल्ट्रा कन्जर्भेटिभ पार्टीहरूको समर्थनमा वृद्धि तिनको आप्रवासीविरोधी भावनाले भन्दा पनि संस्थापन राजनीतिज्ञबाट विश्वासघात भएको शक्तिशाली भावनाबाट अभिप्रेरित छ । आर्थिक रूपमा सुरक्षित जीवनयापन गरेका पुराना पुस्ताले पेन्सन र स्वास्थ्य सेवामार्फत सरकारी बजेटको बढ्दो हिस्सा उपभोग गरिरहँदा युवा युरोपियन भने जीवनयापनको महँगो लागतसँग जुधिरहेका छन् ।

निराशाको वृद्धिमा आंशिक रूपमा युवाका लागि राम्रो तलबयुक्त स्थिर रोजगार सुनिश्चित गर्नमा युरोपेली संघका राजनीतिज्ञको विफलता जिम्मेवार हुन सक्छ । युरोपमा सन् २०२३ मा १५–२४ वर्ष उमेर समूहको युवा बेरोजगारी दर १३.८ प्रतिशत पुगेको छ । स्पेनमा यो दर २७.९ प्रतिशत छ भने ग्रिसमा २७.७ प्रतिशत छ । यसैगरी इटलीमा यस्तो बेरोजगारीको दर २०.७ प्रतिशत र स्विडेनमा १८.९ प्रतिशत छ ।

बेरोजगरीको समस्या समाधानमा केही प्रगति भएको भने छ । फ्रान्समा युवा बेरोजगारी दर सन् २०१६ मा २५ प्रतिशत रहेकोमा सन् २०२३ मा घटेर १५.७ प्रतिशतमा झरेको छ । इटलीमा यस्तो बेरोजगारी दर सन् २०१४ मा ४२.७ प्रतिशत रहेकोमा सन् २०२४ मा सुधार भएर २२.८ प्रतिशतमा झरेको छ । नेदरल्यान्ड्समा यो दर सन् २०१३ मा १३.२ थियो भने २०२३ मा ८.७ प्रतिशत झरेको छ । जर्मनीमा पनि सन् २००५–२०२३ को बीचमा १५.५ प्रतिशतबाट झरेर ६ प्रतिशतमा सीमित छ । यसका बाबजुद जतिसुकै मिहिनेत गरे पनि अधिकांश युरोपेली युवा आफ्ना आमाबाबुभन्दा गरिब हुनेछन् । यसबाट उनीहरू निराश हँुदै छन् र चरम दक्षिणपन्थीहरूको समर्थन बढ्दै छ ।

यो समस्या श्रमबजारभन्दा बाहिर पनि विस्तारित भएको छ । युरोपका अधिकांश देशमा युवाले आवास संकट, भिडभाडयुक्त कक्षाकोठा र स्वास्थ्य–हेरचाह प्रणालीमा संकट सामना गरिरहेका छन् । बढ्दो भाडा खर्च, चर्काे शैक्षिक शुल्क र स्थिर ज्याला साक्षात्कार गरिरहेका युवा मतदाताले हाम्रो चिन्तालाई कसले सम्बोधन गर्नेछ भनेर आफैँलाई प्रश्न गर्दै छन् । यी समस्याको दोष चरमपन्थी राजनीतिज्ञले गलत तरिकाले आप्रवासनलाई दिन्छन्, तर कमसेकम उनीहरूले यो समस्या रहेको कुरालाई भने स्वीकार गरेका छन् । यो भाकाबाट उनीहरूले युवा मतदाताको आवजसँग लय मिलाउन खोजिरहेका छन् ।

सोसल मिडिया यसको प्रमुख दृष्टान्त हो । सन् १९६० को दशकमा मिडिया सिद्धान्तकार मार्सल म्याकलुहानले ‘के भनियो भन्दा पनि सन्देश कसरी सम्प्रेषण गरिन्छ भन्ने कुराको महत्व हुने’कुरालाई प्रकाश पारेका थिए । जुन माध्यमबाट मानिसले कुराकानी गर्छन्, त्यसैले उनीहरूको अन्तर्क्रियालाई आकार दिने उनको तर्क छ । ‘माध्यम नै सन्देश हो’ भन्ने मार्सल म्याकलुहानको प्रसिद्ध टिप्पणी टिकटकजस्ता प्लाटफर्मको आजको युगमा अझ बढी सान्दर्भिक भएको छ । यी माध्यमले चरम दक्षिणपन्थी डेमोगगलाई युवासम्म आफ्ना सन्देश पुर्‍याउन समर्थ बनाएका छन् ।

प्रसारण माध्यमका रूपमा सोसल मिडियालाई उपयुक्त नठान्ने दिग्गज राजनीतिज्ञ यो संलग्नता, बन्धन र पहिचान निर्माणलाई बढावा दिने शक्तिशाली उपकरण हुन सक्छ भन्ने बुझ्न असफल छन् । सामाजिक सञ्जाललाई चौबीसै घन्टा लक्षित समूहका रूपमा निगरानी गरिरहने राजनीतिज्ञले चाहिँ मतदाताको सनक र तात्कालिक प्रतिक्रियाअनुसार आफ्ना नीतिलाई आकार दिन थालेका छन् । यस्ता राजनीतिज्ञ पनि सोसल मिडियालाई उपेक्षा गर्ने राजनीतिज्ञजत्तिकै खतरनाक छन् ।

‘साझा गुनासा’लाई बढावा दिएर सामाजिक सञ्जालले राजनीतिक आन्दोलन विस्तार र समर्थकलाई भेला गर्नमा मद्दत गर्न सक्छ । उदाहरणका लागि, जब सोल्ज अप्रिलमा टिकटकमा सामेल भए, उनले सोसल मिडियाले युवा मतदाताको डर र चिन्तालाई बोल्छ भन्ने शक्तिशाली भाष्य सिर्जना गर्न यो प्लाटफर्मलाई प्रयोग गरे । परिणामतः इयूका नीति–निर्माताले बढ्दो रूपमा दबाब महसुस गर्न थालेका छन् । जब उनीहरू आफ्नो काम गर्ने प्रयास गर्छन्, अनलाइन समूहहरू उनीहरूविरुद्ध परिचालन हुन्छन् र खेद्न थाल्छन् ।

संयुक्त राज्य अमेरिकामा युवापुस्ता आफ्नो अधिकांश समय युट्युब, टिकटक र इन्स्टाग्रामजस्ता प्लाटफर्ममा बिताउँछन् । अमेरिकामा किशोर–किशोरीले प्रतिदिन औसतमा ४.८ घन्टा सामाजिक सञ्जालमा बिताउँछन् । यसको नतिजा विषाक्त राजनीतिक ककटेल हुन सक्ने सम्भावना छ । यी युवाको मन फर्काउन राजनीतिज्ञले उनीहरूलाई विश्वासिलो भविष्य दिनुपर्छ र युवामा लोकप्रिय मिडिया प्लाटफर्मलाई अँगाल्नुपर्छ ।
– प्रोजेक्ट सिन्डिकेट

ad
ad
ad
ad