१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format o९:१९:oo
Read Time : > 4 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङका स्थानीय तहको बजेट : कुन पालिकाकाे कति ?

नाै स्थानीय तहले ४ अर्ब ३१ करोड २७ लाख ७५ हजार ७ सय ५२ रुपैयाँको बजेट ल्याए

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१९:oo

हिमाली जिल्ला ताप्लेजुङका नौ स्थानीय तहले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि बजेट ल्याएका छन् । एक नगरपालिकासहित नाै स्थानीय तहले चार अर्ब ३१ करोड २७ लाख ७५ हजार ७५२ रुपैयाँको बजेट ल्याएको स्थानीय तहहरूले बताएका छन् ।

फुङलिङ नगरपालिका

एक मात्र नगरपालिका फुङलिङले कुल ६६ करोड ७६ लाख ७३ हजार ५५१ रुपैयाँको बजेट ल्याएको छ । अनुदान रकम तीन करोड ८३ लाख १७ हजार २०० कटौती भएको छ । चालूतर्फ ४६ करोड ८ लाख ८२ हजार अर्थात् ६९ प्रतिशत र पुँजीगततर्फ २० करोड ६७  लाख ९१ हजार अर्थात् ३१ प्रतिशत खर्च हुनेगरी बजेट आएको छ । 

नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले पेस गरेको बजेटमा सामाजिक विकासतर्फ ३६ करोड ३५ लाख, पूर्वाधार विकासतर्फ १० करोड ५५ लाख, आर्थिक विकासतर्फ दुई करोड १३ लाख, सुशासन र अन्तरसम्बन्धित क्षेत्रतर्फ १७ करोड ७२ लाख विनियोजन गरिएको छ ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १४ करोड ८५ लाख, राजस्व बाँडफाँडबाट नाै करोड ७८ लाख, ससर्त अनुदानबाट ३० करोड ६७ लाख, विशेष अनुदानबाट एक करोड ५० लाख, समपूरक अनुदानबाट एक करोड प्राप्त हुने उल्लेख छ ।

कोशी प्रदेशबाट वित्तीय समानीकरण ९६ लाख, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड तीन लाख, समपूरक अनुदानबाट एक करोड ३० लाख र ससर्त अनुदानबाट एक करोड ५९ लाख ९४ हजार रहेको छ । नगरपालिकाको आन्तरिक स्राेतबाट तीन करोड ७६ लाख प्राप्त हुने उल्लेख छ । 

नगरपालिकाले पूर्वाधार विकासतर्फ आठ करोड ९० लाख, भवन, आवास तथा सहरी विकासतर्फ ८७ लाख, सञ्चार तथा सूचना प्रविधितर्फ ३६ लाख, सम्पदा पूर्वाधारतर्फ ४२ लाख रुपैयाँ विनियोजन गरेको बताइएको छ । 

सामाजिक विकासअन्तर्गत शिक्षातर्फ ३० करोड ५२ लाख, स्वास्थ्यमा चार करोड २७ लाख, खानेपानी तथा सरसफाइतर्फ २४ लाख ५५ हजार, भाषा–संस्कृतितर्फ ३५ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा ७४ लाख युवा तथा खेलकुदमा २३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

कृषितर्फ एक करोड २१ लाख, उद्योगमा २२ लाख ५० हजार, पर्यटनमा २० लाख, जलस्राेत तथा सिँचाइमा २५ लाख, पशुपन्छी विकासतर्फ २४ लाख ५० हजार विनियोजन गरिएको उल्लेख छ । १७ करोड ७२ लाख विनियोजन गरिएको रकम भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रअन्तर्गत कार्यालय सञ्चालन तथा प्रशासनिकलगायतका कार्यक्रममा खर्च गरिने ओझाले बताइन् । 

आठराई त्रिवेणी गाउँपालिका

आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि कुल ५० करोड ५४ लाख रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले वित्तीय समानीकरण अनुदानतर्फ १० करोड ९४ लाख १५ हजार रुपैयाँ विनियोजन गरेको छ । 

वित्तीय समानीकरणतर्फ संघीय सरकारबाट प्राप्त १० करोड ३० लाख तथा प्रदेश सरकारबाट ६४ लाख १५ हजार रुपैयाँ स्रोत व्यहोर्ने क्षेत्रको रूपमा राखिएको छ । वित्तीय समानीकरणबाट भौतिक पूर्वाधार तथा अन्य कार्यक्रम खर्च गर्ने प्रस्ताव गरिएको छ । 

यस्तै राजस्व बाँडफाँटतर्फको सात करोड नाै लाख रुपैयाँ चालू खर्च र कार्यक्रम खर्चतर्फ विनियोजन गरिएको छ । यस्तै, संघीय सरकारबाट प्राप्त एक करोड ५० लाख र प्रदेश सरकारबाट प्राप्त एक करोड रुपैयाँ गरी कुल दुई करोड ५० लाख पूर्वाधार निर्माणका लागि खर्च गर्ने गरी बजेट विनियोजन भएको छ । संघीय सरकारबाट प्राप्त २० करोड १९ लाख पाँच हजार र प्रदेश सरकारबाट प्राप्त ५१ लाख ५० हजार रकम सर्तअनुसार खर्च गर्ने गरी विनियोजन गरिएको छ । 

यस्तै, संघीय सरकारबाट प्राप्त विशेष अनुदानबापतको एक करोेड ५० लाख रुपैयाँ धोद्रे खानेपानी आयोजनामा खर्च गर्ने गरी बजेट विनियोजन भएको छ । आन्तरिक आयतर्फ अनुमान गरिएको ३५ लाख रुपैयाँलाई निःशुल्क विद्युत् कार्यक्रममा खर्च गर्ने गरी विनियोजन गरिएको छ ।

बसाइँ सरेर पालिकामा आउनेलाई ५० हजार नगद दिइने
पहाडी क्षेत्रमा बसाइँसराइ गरेर जानेको लर्को लागेको वेला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले बसाइँ सरेर आउने परिवारलाई नगद उपलब्ध गराउने भएको छ । अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले आगामी आर्थिक वर्ष०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३१ वटा मुख्य विषयलाई आधार माी नीति कार्यक्रम तय गरिएकामध्ये बसाइँसराइ गरेर गाउँमा आउनेलाई पनि प्राथमिकतामा राखेको छ । 

जिल्ला तथा जिल्लाबाहिर जुनसुकै ठाउँबाट पालिकामा बसाइँ सरेर आउने प्रत्येक परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको छ । बसाइँ सरेर आउनेहरूलाई व्यवस्थापन हुने भन्दै पुरस्कारस्वरूप नगद उपहार दिने बजेटमा उल्लेख गरिएकाे छ ।

मैवाखोला गाउँपालिका

मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ४५ करोड १९ लाख ५३ हजार ३२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कुल बजेटमध्ये चालूतर्फ २६ करोड ५० लाख ९८ हजार २३२ रुपैयाँ र पुँजीगत तर्फ १८ करोड ६८ लाख ४५ हजार आठ सय रुपैयाँ रहेको छ ।

बजेटमा संघीय ससर्त अनुदानततर्फ १६ करोड ६० लाख ७२ हजार, वित्तीय समानीकरणतर्फ नौ करोड ३३ लाख, राजस्व बाँडफाँटतर्फ ६ करोड ९६ लाख र विशेष अनुदानको एक करोड ८० लाख रुपैयाँ रहेको छ ।  प्रदेश वित्तीय समानीकरणतर्फ ५५ लाख ४९ हजार, ससर्त अनुदानतर्फ ४७ लाख २२, राजस्व बाँडफाँटको २२ लाख र समपूरक अनुदानतर्फ एक करोड रुपयाँ बजेट रहेको छ । गैरसरकारी संस्था एचपिएफ र जिडब्लुटीमार्फत तीन करोड ७१ लाख १२ हजार ३३२ रुपैयाँ रहेको छ । 

फक्ताङलुङ गाउँपालिका

फक्ताङलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले कुल बजेटको ३१ प्रतिशत अर्थात् १४ करोड २६ लाख पाँच हजार रुपैयाँ पुँजीगत खर्चमा विनियोजन गरेको छ । संघीय तथा प्रदेश ससर्त अनुदानतर्फ कुल बजेटका ४५.६० प्रतिशत अर्थात् २० करोड ९७ लाख ३५ हजार विनियोजन भएको छ । चालू खर्चतर्फ भने १० करोड ७६ लाख ६० हजार रुपैयाँ अर्थात् कुल बजेटको २३.४० प्रतिशत विनियोजन भएको छ ।

पाथीभरा याङ्वरक गाउँपालिका

पाथीभरा याङ्वरक गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ४६ करोड ७७ लाख ९९ हजारको बजेट ल्याएको छ । चालू खर्चतर्फ ३० करोड ४५ लाख १९ हजार रुपैयाँ छ भने पुँजीगततर्फ १६ करोड ३२ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको अध्यक्ष केशरकुमार मेन्याङ्बोले बताए । 

मेरिङदेन गाउँपालिका

मेरिङदेन गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ४० करोड २० लाख ३० हजार रुपैयाँकाे बजेट ल्याएको छ । पालिकाका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचङ्बाङले पस गरेको बजेटमा चालूतर्फ २७ करोड ५२ हजार रुपैयाँ छ । उता, पुँजीगततर्फ १२ हरोड ६८ लाख ३० हजार रुपैयाँ रहेको छ । 

मिक्वाखोलाको गाउँपालिका

मिक्वाखोलाको गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ३७ करोड ४७ लाख ३२ हजारको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष डण्डु शेर्पाले बजेट भाषण प्रस्तुत गर्दै चालूतर्फ आठ करोड ५२ लाख ८९ हजार रुपैयाँ, ससर्ततर्फ १३ करोड ५६ लाख ७४ हजार साथै पुँजगततर्फ आठ करोड ६६ लाख १८ हजार रुपैयाँकाे बजेट ल्याएको छ । त्यस्तै, विशेष अनुदान दुई करोड ९० लाख, समपूरक दुई करोड ३० रुपैयाँको बजेट ल्याएको छ । 

सिदिङ्वा गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१८२ का लागि ४२ करोड ६४ लाख १५ हजार सात सय २० रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाबाट विनियोजित १३ करोड ५७ लाख ६१ हजार ७२० रुपैयाँ, संघीय अनुदान ससर्ततर्फ १७ करोड ३३ लाख ३४ हजार बजेट रहेको छ । 

गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बजेट पेस गर्दै संघीय सरकार विशेष अनुदानतर्फ एक करोड १० लाख, सरकार समपूरकतर्फ ९५ लाख, प्रदेश सरकार ससर्ततर्फ ९० लाख २० हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ आठ करोड ७८ लाख रुपैयाँकाे बजेट ल्याएको छ ।

सिरीजंघा गाउँपालिका

सिरीजंघा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ५३ करोड ७७ लाख २९ हजारको बजेट ल्याएको छ ।