
प्रदेश १ को नाम पुनः परिवर्तन गरी राख्नुपर्ने भन्दै नामांकन संयुक्त संघर्ष समितिले आन्दोलन गर्ने भएको छ । आगामी मंसिर २ गतेदेखि निर्णायक आन्दोलन गर्ने जनाएको छ । यसअघि पनि कोशी खारेजीको नाममा आन्दोलन हुँदै आएका छन्। आन्दोलन समितिलाई तयारी गर्ने साथै बीचमा विभिन्न चाडपर्वहरू हुने भएकाले मंसिर २ गतेदेखि निर्णायक आन्दोलन गर्ने तयारी रहेको बताइएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङलिङमा असार १ र २ गते बसेको बैठकले किराँत याक्थुङ, नेपाल आदिवासी, पहिचानसहितको प्रदेश नम्बर १, किराँत राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचान पक्षधर राजनीतिक दलका केन्द्रीय नेताहरूको उपस्थितिमा आन्दोलन गर्ने निर्णय गरिएको हो ।
पहिचानको आन्दोलनलाई तुहाउने तरिकाले प्रदेश सरकार र सभाले ध्यान नदिएको र अब कोशी नाम खारेजी आन्दोलनलाई मजबुत तयारीका साथ मंसिर २ गते विराटनगरमा विशाल जनप्रदर्शनसहित नयाँ शिराबाट चरणबद्ध रूपमा निर्णायक आन्दोलन गर्नेसमेत बैठकमा निर्णय भएको किराँत याक्थुङका अध्यक्ष प्रेम येक्तेनले जानकारी दिए । ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा रणनीतिक योजनाअनुसार स्थानीय तहबाटै समानान्तर सत्ता अभ्यासको विकास गर्ने पनि जनाइएको छ । यसको आवश्यक अध्ययन र ठोस तयारी गर्ने पनि अध्यक्ष येक्तेनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बैठकको ११ बुँदे निर्णय सार्वजनिक गर्दै किराँत राई यायोक्खाका केन्द्रीय महासचिव अर्जुन जन्मेली राईले कोशी नाममा भोट दिने ४२ प्रदेश सांसद र आन्दोलनरत संस्था तथा नेतृत्वलाई साम्प्रदायिक गाली दिने एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले सचिव एवं सांसद योगेश भट्टराई र एमाले नेता महेश बस्नेतलाई दबाब दिन उनीहरूको परिवार तथा नातागोताहरूलाई अनुरोध गर्ने निर्णय गरिएको बताए ।