१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ असार ३ सोमबार o६:२७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

लिच्छविकालीन मौलिकता खोज्दै हाँडीगाउँ

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार o६:२७:oo

लिच्छविकालभन्दा पुरानो इतिहास बोकेको हाँडीगाउँको मौलिकता जोगाउन स्थानीयको पहल, हरेक शनिबार करिब डेढ किमि सडकमा दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सवारीसाधन निषेध गर्दै खाना महोत्सव, बुढापाकाले बालबालिकालाई सडकमै सिकाउँछन् उहिलेका खेलगुरुयोजना बनाएर ‘लिच्छविकालीन हाँडीगाउँको पुनर्विकास गर्ने तथा विश्वसम्पदा क्षेत्रमा सूचीकृत गर्न प्रस्ताव गर्ने’ काठमाडौं महानगरको नीति तथा कार्यक्रम

न सवारीसाधनको होहल्ला न त धुवाँधुलोको पिर । मानिसहरू सडकमा आ–आफ्नै तालमा रमाइरहेका छन् । कोही मौलिक परिकार पकाइरहेका छन्, कोही खानमा व्यस्त । कोही परम्परागत पहिरनसहित धिमेबाजामा नाच्दै छन्, त कोही सडक किनारमा गफिइरहेका छन् । केटाकेटीदेखि वृद्धवृद्धासम्म सबै आ–आफ्नो धुनमा मस्त छन् । 

काठमाडौंको ऐतिहासिक एवं पुरानो बस्ती हाँडीगाउँमा हिजोआज देखिने दृश्य हो यो । कंक्रिट सहरको घेराबन्दीमा परेर पनि केही समययता हाँडीगाउँ सांस्कृतिक गतिविधिले गुञ्जयमान बनिरहेको छ । हरेक शनिबारलाई हाँडीगाउँले अचेल यसरी नै मनाइरहेको छ । शनिबार हाँडीगाउँको कृष्णमन्दिरदेखि कोटालटोलसम्म सवारी प्रवेश निषेध हुन्छ । करिब डेढ किलोमिटरको यो सडक दिउँसो २ बजेदेखि राति ८ बजेसम्म खाना महोत्सव, बालबालिकाका लागि खेल मैदान बन्छ ।

बालबालिका केही नाचगान गरिरहेका हुन्छन् भने केही लेखपढ । परम्परागत (नेवारी) पहिरनमा सजिएका महिला र किशोरीहरू सडक किनारमा योमरी, सेलरोटी, मःम, बारालगायत मौलिक परिकार पकाइरहेका हुन्छन् । साताको ६ दिन घरायसी काममा व्यस्त हुने हाँडीगाउँकी गंगा प्रजापतिले अचेल एक दिन ( शनिबार ) हाँडीगाउँ आउने पाहुनाको सत्कारमा बिताउन थालेकी छिन् । यहाँ आउने पाहुनालाई नेवारी परिकार चखाउन उनी व्यस्त हुन्छिन् । ‘सडकमै आगो बालेर नेवारी परिकार पकाउँछौँ, पाहुनालाई सहुलियत मूल्य लिएर परिकार चखाउँछौँ, हाम्रा छोराछोरीहरू पनि हामीसँगै रमाइरहेका हुन्छन्,’ उनले सुनाइन्, ‘यसो गर्दा स्थानीय मौलिक परिकारको प्रचारप्रसार भएको छ, काम र दाम पनि पाएका छौँ ।’ उनका अनुसार विभिन्न टोल सुधार समिति, महिला समूहलगायतले शनिबार सडक महोत्सवलाई सघाइरहेका छन् । कतिपयले बाजागाजा बजाउँछन्, कतिपयले मौलिक परिकार पकाउँछन् भने रैथाने सीप–कला देखाउने पनि सडकमै भेटिन्छन् ।

हाँडीगाउँले कार फ्री डे सुरु गरेसँगै कोठा तथा गल्लीमा अल्झिरहेका बालबालिकाले खुलेआम दौडन र खेल्न पाएका छन् । हाँडीगाउँका ११ वर्षीय गगन प्रजापति एक दिन मात्रै भए पनि सडकमा सवारीसाधन नचल्दा खुसी लागेको बताउँछन् । ‘खेल्ने ठाउँ नै थिएन, अहिले सडकमै खेल्छौँ,’ सडकमा सुकुल बिछ्याएर चित्र कोर्दै गरेका उनले सुनाए, ‘यहीँ बसेर चित्र कोर्छु, होमवर्क पनि गर्छु ।’

काठमाडौं महानगरपालिकाले नरदेव जीवन्त हाँडीगाउँको ऐतिहासिक मौलिकता दिन आगामी वर्षको नीति तथा कार्यक्रममा पनि समेटेको छ । ‘हाँडीगाउँ गुरुयोजना तयार गरी लिच्छविकालीन हाँडीगाउँको पुनर्विकास गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘हाँडीगाउँलाई विश्वसम्पदा क्षेत्रका रूपमा सूचीकृत गर्न प्रस्ताव गरिनेछ ।’

हाँडीगाउँलाई लिच्छविकालीन इतिहासको झल्को दिने बनाउने हाम्रो लक्ष्य हो 
बालेन्द्र साह, मेयर, काठमाडौं महानगर

हाँडीगाउँको लिच्छविकालीन इतिहासलाई झल्को दिनु गुरुयोजनाको लक्ष्य हो । कार फ्री डे र सडक महोत्सव यसको पहिलो प्रयास हो । यो कार्यक्रमलाई निरन्तर चलाउने हाम्रो योजना छ । यस्ता ऐतिहासिक स्थान जोगाउन सबैको हातेमालो आवश्यक छ । पुनर्विकासको गुरुयोजना बनाइसकेका छौँ । यसका विविध पक्षबारे सरोकारवालासँग छलफल गरेका छौँ । सुधारका लागि बनाएको योजना पाँच वर्षको मात्र होइन, मध्यकालीन र दीर्घकालीन योजना पनि बनाएका छौँ ।

बालबालिकालाई सिकाइन्छ पुराना मौलिक खेल
कार फ्री डे र सडक महोत्सवका दिन स्थानीय बुढापाकाहरूले आफ्नो बाल्यकालको पुनर्ताजगी गर्दै त्यतिवेला खेलेका खेल अहिलेका बालबालिकालाई सिकाउँछन् । पासा, बाघचाल, बुद्धिचाल, वाक्रा, डन्डिबियो, पांग्रा गुडाउने, डोरी खेल्ने, गुच्चा, गट्टा, चिमुसी चीलगायत खेलहरूमा बालबालिका रमाउँछन् । सिकाइको यो प्रक्रियाबाट सहरी क्षेत्रमा लोप हुन लागेका पुराना खेलहरूको जगेर्ना पनि हुन्छ । नयाँ पुस्ताले पुरानो खेल संस्कृति बुझ्ने र ती खेलहरू हस्तान्तरण भएर जाने नरदेव जीवन्त हाँडीगाउँका अध्यक्ष गोपाल डंगोलले बताए । 

‘इन्द्रजात्राको वेला पनि हामी बालबालिकालाई यसरी पुराना खेल सिकाउँछौँ, यहाँ पनि शनिबार सडक बन्द भएपछि ती खेल सिकाउँछौँ, उनीहरूले जानेको भन्दा फरक र मौलिक खेल सिकाउँदा निकै रमाइलो पनि मान्छन्,’ डंगोलले भने, ‘बालबालिकालाई पुराना दुर्लभ चित्रहरू कोर्न पनि सिकाइन्छ । आवश्यक कागज, रङ वडाले उपलब्ध गराएको छ भने बुढापाकाले पुुराना पेन्टिङ तथा चित्र कोर्न सिकाउने गरेका छन् । यहाँ नौवटा फरक मौलिक बाजा पनि छन्, तिनको पनि संरक्षण गरिरहेका छौँ । हाँडीगाउँको महत्व नै संकटमा परेपछि त्यसलाई फर्काउने कोसिस गरिरहेका छौँ । यसमा महानगरले पनि सहयोग गरेको छ ।’

लिच्छविकालभन्दा पनि अघिको हाँडीगाउँ
हाँडीगाउँ लिच्छविकालभन्दा अघिदेखि चर्चामा रहेको विभिन्न अभिलेखमा उल्लेख छ । कुनै समय त यो काठमाडौं जिल्लाको सदरमुकामसमेत रहेको थियो । घना नेवारी बस्ती रहेको पुरातात्विक र सांस्कृतिक रूपमा ऐतिहासिक  यो ठाउँ बिस्तारै आधुनिकताका कारण संकटमा पर्दै गएको स्थानीय नरदेव जीवन्त हाँडीगाउँका अध्यक्ष गोपाल डंगोलले बताए । हाँडीगाउँको मौलिकता र इतिहासको झल्को फर्काउन अहिले स्थानीयवासी फेरि एकजुट भएका छन् । उनीहरूको यो प्रयासलाई महानगरले समेत साथ दिएको छ । 

महानगरपालिकाका मेयर बालेन साहले सहरी क्षेत्रमा सहरी वातावरण सुधारका लागि करिब एक वर्षदेखि प्रत्येक शनिबार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइँदै आएको बताए । ‘हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्णमन्दिर, डबली चोक हुँदै कोटालटोल भवरकुँसम्म सवारी प्रवेश निषेध गरिएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘यस क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।’ मेयर साहका अनुसार हाँडीगाउँलाई पूर्वलिच्छवि, बर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाका लागि सर्वाधिक प्राचीन स्थानका रूपमा लिइन्छ । यहाँ भएका सत्यनारायणपरिसरमा प्राचीन बस्ती र पूर्वलिच्छविकालका मन्दिर भएको प्रमाण पाइन्छ । ईशापूर्व दोस्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनको जग यसै क्षेत्रमा मात्र छन् । 

यसबाहेक हाँडीगाउँको बीचभागको सडकमा महानगरले मौलिक शैलीमा ढुंगा बिछ्याउने योजना अघि सारेको छ । हाँडीगाउँमा करिब चार सय घरधुरी छन् । यी घरलाई महानगरले मौलिक शैलीमा कायम गर्ने योजना पनि अघि सारेको छ । पुराना घरलाई मौलिकता दिन १० जना इन्जिनियर पठाएर सर्भे गरिरहेको छ । मौलिक झ्यालढोका, इँटा, ढुंगा, काठलगायत प्रयोग गर्न निर्देशन दिएको छ । मौलिक शैलीको घर बनाउनेलाई नक्सापासमा ९० प्रतिशत छुट र आर्थिक सहायता दिने भएको छ ।

काठमाडौं महानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले महानगरका ३२ वडामध्ये यस वडाको महत्व फरक भएकाले यसलाई पूर्ण जीवन्तता दिन खोजिरहेको बताए । ‘हाँडीगाउँको विशेष पहिचान भएकाले यसलाई विशेष किसिमले संरक्षण गर्न आवश्यक छ,’ उनले भने, ‘यही कारण हरेक शनिबार नेवारी खाजा खाने स्टल राखेका छौँ ।’

 

 

ad
ad
ad
ad