सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौँ संस्करणअन्तर्गत पाँचौँ दिन सम्पन्न दुईवटा खेलमा सनराइज एघार तिलाठी कोइलाडी र तिरहुट टाइगर्स विजयी भएका छन्।
मंगलबार भएको पहिलो खेलमा सनराइज एघार तिलाठी कोइलाडीले बलान बिहुल सुपर किंग्सलाई १० विकेटले पराजित गर्यो। बलान बिहुलले दिएको ५१ रनको लक्ष्य सनराइज एघारले ३ ओभरमै भेटायो। वर्षाको कारण ढिला सुरु हुँदा खेल ५ ओभरमा घटाइएको थियो।
लक्ष्य पछ्याउने क्रममा सनराइज तिलाठी कोइलाडीका ओपनर तृतराज दासले आक्रामक ब्याटिङ गर्दै मात्र १४ बलमा ४२ रन बनाए। प्लेयर अफ द म्याच घोषित दासले १ चौका र ६ छक्का प्रहार गरे। विनोद भण्डारीले ४ बलमा १ छक्काको मद्दतले ८ रन बनाए।
टस जितेर ब्याटिङ गरेको बलान बिहुलले ५ ओभरमा ४ विकेट गुमाएर ५० रन बनायो। उसको लागि ओपनिङ गरेका कप्तान विवेक यादवले ३२ रनको योगदान दिए। १२ बलमा यादवले ४ छक्का प्रहार गरे। तुलबहादुर थापाले १० तथा सन्तोष कार्कीले ५ रन बनाए। तिलाठी कोइलाडीको बलिङमा तृतराज दासले २ तथा अभिषेक तिवारीले १ विकेट लिए।
आजको दोस्रो खेलमा तिरहुट टाइगर्सले राजविराज राजदेवी एघारलाई ७७ रनले पराजित गर्यो। तिरहुट टाइगर्सले दिएको १८० रनको लक्ष्य पछ्याएको राजविराज राजदेवीले १३.५ ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो।
टाइगर्सको जितमा देब्रे हाते स्पिनर दीपेश कँडेलले ह्याट्रिकसहित ५ विकेटमा आफ्नो नाम गरे। कँडेलले ४ ओभरमा १६ रन खर्चिए। प्लेयर अफ द म्याच घोषित कँडेलले इनिङको नवौँ ओभरको पहिलो, दोस्रो, तेस्रो तथा चौथो बलमा लगातार विकेट लिए। यस्तै, अर्का देब्रे हाते स्पिनर बसिर अहमदले ३ तथा रूपेश सिंह र अनिल यादवले १-१ विकेट लिए।
राजविराज राजदेवीको ब्याटिङमा श्रवण यादवले सर्वाधिक ३७ तथा हिमांशु दत्तले १८ रन बनाए। यसअघि टस हारेर ब्याटिङ गरेको तिरहुट टाइगर्सले निर्धारित १८ ओभरमा ६ विकेट गुमाएर १७९ रन बनायो।
तिरहुटको लागि दुई ब्याटरले अर्धशतकीय योगदान दिए। ओपनर अमित यादवले ६३ रन बनाए। उनले ४१ बलमा १ चौका र ८ छक्का प्रहार गरे। यस्तै, छैठौँ नम्बरमा ब्याटिङ गरेका अभिषेक कार्कीले २७ बलमा २ चौका र ७ छक्काको मद्दतले ६१ रन बनाए। रूपेश सिंहले १९ तथा अनिल यादवले १३ रन बनाए।
राजविराज राजदेवी एघारको बलिङमा रिजन ढकाल, रंजित कुमार र श्रवण यादवले समान २ विकेट लिए।
प्रतियोगिताको अंकतालिकामा छिन्नमस्ता लायन्स, तिरहुट टाइगर्स र कन्चनरूप राइनोजको समान ४ अंक छ। नेट रन रेटको आधारमा यी टिम क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। २/२ अंकसहित राजविराज राजदेवी एघार र सनराइज एघार तिलाठी कोइलाडी चौथो र पाँचौँ तथा जितविहीन बलान बिहुल सुपर किंग्स पुछारमा छ।