गौतम बुद्ध भिक्षाटनका क्रममा गाउँगाउँमा पुग्ने क्रममा एकपटक एउटा गरिब किसानले उनलाई आफ्नो गाउँमा आउन आग्रह गरे । ती किसानको आग्रह स्विकारेर बुद्ध गाउँमा पुगे । तब सारा गाउँका मानिस उनलाई हेर्नका लागि ओइरो लागे । बुद्ध एउटा चौतारोमुनि बसेका थिए । उनलाई मानिसले चारैतिरबाट घेरेका थिए ।
सारा गाउँले उपस्थित भएको सो स्थानमा बुद्धलाई निम्त्याउने किसान भने उपस्थित थिएनन् । त्यस दिन बुद्धलाई गाउँमा बोलाउने ती किसानको गोरुको जोडी कतै हरायो । किसान बडो धर्मसंकटमा फसे । आफैँले बोलाएर उनको गाउँमा आइपुगेका महात्मा बुद्धको प्रवचन सुन्न जाऊँ या आफ्नो गोरु खोज्नतिर लागूँ । धेरै सोच विचारपछि उनले आफ्नो गोरु नै खोज्न जाने निर्णय गरे ।
घन्टौँ खोजेपछि उनले गोरु भेट्टाए । गोरु खोज्दा–खोज्दा थाकेका किसान साँझमा घर आइपुगे र खाना खाएर सुते । अर्को दिन उनी अप्ठ्यारो मान्दै गौतम बुद्धलाई भेट्न गए । उनले बुद्धलाई अघिल्लो दिनको आफ्नो समस्या जस्ताको तस्तै सुनाएर आफू उपस्थित हुन नसक्नुको कारण बताए । बुद्धले उनको समस्या बुझे र मुस्कुराउँदै सबैले सुन्ने गरी भने, ‘मेरो दृष्टिमा यी किसान नै मेरा सच्चा अनुयायी हुन् । यिनले उपदेशलाई भन्दा धेरै कर्मलाई महत्व दिए ।
यदि हिजो यी आफ्नो गोरु नखोजी मेरो प्रवचन सुन्न आएका थिए भने यिनले मेरा कुरा बुझ्ने थिएनन् । किनकि यिनको मन अन्तै कतै दगुरिरहेको हुन्थ्यो । यिनले कर्मलाई प्राथमिकता दिएर सराहनीय कार्य गरेका छन् ।’ बुद्धको कुरा सुनेर गाउँलेले पनि ती किसानको प्रशंसा गरे ।