१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इरानकाे इस्फहानमा विस्फोट, इजरायलले जवाफी आक्रमण गरेकाे दाबी 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:५४:oo

इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ। अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजरायलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ। 

सरकारी सञ्चारमाध्यमका अनुसार धेरै इरानी सहरमा हवाई रक्षा प्रणालीलाई सक्रिय तुल्याइएको छ। मुलुकको आधिकारिक प्रसारकले इस्फहान सहरनजिक विस्फोटको आवाज सुनिएको बताएको छ। 

सप्तहान्तमा इरानले इजरायलमाथि सयौँ मिसाइल र ड्रोन प्रहार गरेपछि इजरायलले जवाफी आक्रमण गर्ने चेतावनी दिएको थियो। इरानका अधिकांश ड्रोन तथा मिसाइल आक्रमणलाई रोकिएको थियो। 

इरानको फार्स समाचार समितिले कहजाबरेस्तान, इस्फहान विमानस्थल र सेखरी सेनाको विमानस्थलनजिक ‘तीनवटा विस्फोट’ सुनिएको बताएको छ। इरानको अन्तरिक्ष एजेन्सीका प्रवक्ता होसेन डेलिरियनले भने, ‘धेरै’ ड्रोनलाई ‘सफलतापूर्वक खसालिएको’ बताए। ‘मिसाइल आक्रमणको कुनै रिपोर्ट गरिएको छैन,’ उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्। 

आधिकारिक आइआरएनए समाचार समितिले भनेको छ, ‘कुनै पनि हवाई खतराको प्रभावले कुनै ठूलो क्षति वा ठूलो विस्फोट नभएको रिपोर्टहरूले संकेत गरेका छन्।’ इरानको तस्निम समाचार समितिले इस्फहानमा आणविक केन्द्रहरू ‘पूर्ण रूपमा सुरक्षित रहेको’ रिपोर्ट गरिएको बताएको छ। 

एबिसी र सिबिएस न्युजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इजरायलले आक्रमण गरेको बताएका छन्। ह्वाइट हाउस वा पेन्टागनका तर्फबाट तत्काल कुनै टिप्पणी आएको छैन। सिएनएनले एक अधिकारीलाई उद्धृत गर्दै इजरायली आक्रमणको लक्ष्य आणविक नभएको बताएको छ। इजरायली सेनाले एएफपीलाई भनेको छ, ‘हामीसँग अहिले कुनै टिप्पणी छैन।’

सप्ताहान्तमा इरानले क्षेत्रीय शत्रु इजरायलमाथि आफ्नो पहिलो प्रत्यक्ष आक्रमण गरेको थियो। इजरायलले आफ्ना सहयोगीहरूको सहयोगमा इरानले प्रहार गरेका तीन सय मिसाइल र ड्रोनमध्ये अधिकांशलाई रोकेको र कसैको मृत्यु नभएको बताएको छ। 

इरानले सिरियाली राजधानी दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा अप्रिल १ मा भएको आक्रमणको प्रतिशोधमा इजरायलमाथि आक्रमण गरेको हो। वाणिज्य दूतावासमा भएको आक्रमणका लागि इरानले इजरायललाई दोषी मानेको थियो। उक्त आक्रमणमा इरानको रिभोल्युसनरी गार्डका दुई जनरलसहित सातजना मारिएका थिए। 

सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि इरान समर्थित समूहहरूले राष्ट्रपति बसर अल–असदको सेनालाई बलियो बनाएका छन्। इरान प्यालेस्टिनी लडाकु समूह हमास र लेबनानको हिजबुल्लाहको पनि मुख्य समर्थक हो। 

इजरायलमाथि इरानको आक्रमणपछि गाजा युद्धबाट ठूलो क्षेत्रीय प्रभावको आशंका बढेको छ। अक्टोबर ७ मा आक्रमण गरेर युद्ध सुरु गर्ने हमासलाई निमिट्यान्न पार्ने वाचा गरेका इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले इजरायलले इरानविरुद्ध ‘आफ्नो सुरक्षा गर्ने अधिकार सुरक्षित राखेको’ बताए। 

इजरायलको प्रमुख सहयोगी तथा सैन्य आपूर्तिकर्ता अमेरिकाले इरानमाथि प्रतिशोधात्मक आक्रमणमा सहभागी नहुने स्पष्ट गरेको छ। यद्यपि उसले इरानी आक्रमणमा परिचालन गरिएका ड्रोनको उत्पादनमा संलग्न मानिस र संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाउने घोषणा गरेको छ। 

युरोपेली संघ (इयू)ले इरानको ड्रोन कार्यक्रमलाई प्रतिबन्ध लगाउने बताएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको घोषणा गर्दै भने, ‘हामी इरानलाई जवाफदेही बनाउँदैछौँ।’

इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानले चेतावनी दिँदै इरानमाथि कुनै पनि आक्रमणका लागि इजरायलले ‘पश्चात्ताप’ गर्ने बताए। इरानमा यी विस्फोट सर्वोच्च नेता आयातुल्लाह अली खमेनीको ८५औँ जन्मदिनका अवसरमा भएको छ। 

शुक्रबार इरानका धेरै क्षेत्रमा उडानहरू निलम्बित गरिएको छ। युएईस्थित फ्लाई दुबई एयरलाइन्सले इरानका लागि उडानहरू रद्द गरेको छ। 

आइआरएनएले भनेको छ, ‘इरानको हवाई रक्षालाई मुलुकका धेरै प्रान्तको आकाशमा सक्रिय बनाइएको छ।’ मेहर समाचार समितिले भनेको छ, ‘तेहरान, इस्फहान र सिराजका लागि उडानहरू र पश्चिम, उत्तरपश्चिम तथा दक्षिणपश्चिममा विमानस्थलहरू निलम्बन गरिएको छ।’ 

फ्लाइट–ट्र्याकिङ सफ्टवेयरले व्यावसायिक उडानहरूलाई इस्फहानसहित पश्चिमी इरानबाट जोगिँदै उत्तर तथा पूर्वतिर तेहरान पार गर्दै गरेको देखाएको छ। 

एक स्थानीय कार्यकर्ता समूहका अनुसार दक्षिणी सिरियामा पनि विस्फोटको सूचना प्राप्त भएको छ। दक्षिणको स्वेडा प्रान्तबाट समाचार कभर गर्ने सरकारविरोधी वेबसाइट सुवेदा२४ का रेयान मारौफले भने, ‘सिरियाली सेनाको राडार स्थानमा आक्रमणहरू भएका थिए।’

बिहीबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले मध्यपूर्वको अवस्थाको कालो चित्र प्रस्तुत गर्दै गाजामा युद्ध र इजरायलमाथि इरानको आत्रमणले बढ्दो तनाव ‘पूर्णस्तरको क्षेत्रीय द्वन्द्व’ मा परिवर्तन हुन सक्ने चेतावनी दिएका थिए। 

‘मध्यपूर्व संकटमा छ, हालका दिनमा शब्द र कार्यहरूमा खतरनाक वृद्धि देखिएको छ,’ उनले सुरक्षा परिषद्लाई भने। सबै पक्षलाई ‘अतिकतम संयमता’ अपनाउन आह्वान गर्दै उनले भने, ‘एउटा गलत आकलन, एउटा गलत सञ्चार, एउटा गल्ती, अकल्पनीय! एउटा पूर्णस्तरमा क्षेत्रीय द्वन्द्वलाई जन्म दिन सक्छ र यो यसमा संलग्न सबै मानिसका लागि विनाशकारी हुनेछ।’

इरानमा भएको विस्फोटपछि शुक्रबार सुरुवाती एसियाली व्यापारमा तेलको मूल्य तीन प्रतिशतभन्दा धेरैले बढेको छ।

यसैबीच, वासिंटनबाट प्राप्त समाचारअनुसार अमेरिकालाई इरानमाथि इजरायलको कथित आक्रमणबारे अग्रिम सूचना प्राप्त भएको अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले बताएका छन्। यद्यपि अमेरिकाले उक्त अप्रेसनको समर्थन नगरेको वा कार्यान्वयनमा कुनै भूमिका निर्वाह नगरेको एनबिसी र सिएनएनले बताएका छन्। 

एनबिसी र सिएनएनले मामिलासँग परिचित स्रोतहरू र एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इजरायलले वासिंटनलाई आक्रमणको पूर्वसूचना प्रदान गरेको बताएका छन्। 

इरानभित्र आक्रमण भएको विभिन्न नेटवर्कले अधिकारीहरूलाई उद्धृत गर्दै पुष्टि गरेका छन्। सिएनएनले एक अधिकारीलाई उद्धृत गर्दै आक्रमणको लक्ष्य कुनै आणविक केन्द्रमा नभएको बताएको छ। 

इजरायलले बिहीबार अमेरिकासँग आगामी दिनहरूमा इरानविरुद्ध जवाफी कारबाही गर्ने बताएको एक वरिष्ठ अमेरिकी अधिकारीले सिएनएनलाई बताएका थिए। 

ad
ad