नवविवाहिता लिली र उनकी सासूबीच बिहेको केही दिनपछि नै खटपट सुरु भयो । अवस्था मारपिटसम्म पुग्यो । लिली सासूबाट छुट्कारा पाउन माइतीगाउँकै एक चिनेजानेका वैद्यकहाँ पुगिन् । उनले वैद्यसँग आफ्नो समस्या बताउँदै सासूबाट छुटकारा पाउन चाहेको बताइन् । वैद्यले भने– छोरी, म तिम्रो मद्दत अवश्यै गर्नेछु । तर, म जे–जे भन्छु । तिमीले त्यो पालना गर्नुपर्छ, अन्यथा तिमी झमेलामा फस्नेछ्यौ । वैद्यले जडीबुटीले भरिएको एउटा बट्टा लिलीलाई दिँदै भने– तिम्री सासूलाई मार्न कडा विष प्रयोग गर्दा तिमीमाथि शंका हुन्छ । त्यसैले, यी जडीबुटीले तिम्री सासूको शरीरमा भित्रैदेखि विष पैदा गर्छन् र सात–आठ महिनामा उनको मृत्यु हुन्छ । तिमीले हरेक दिन मिष्ठान्न तयार गरेर सासूलाई यीमध्ये एउटा जडीबुटी हालेर खुवाउनू । उनको राम्रो हेरचाह गर्नू । भुलेर पनि उनीसित झगडा नगर्नू । यति गर्यौ भने उनको मृत्युमा तिमीमाथि शंका हुनेछैन ।
लिली वैद्यलाई धन्यवाद दिएर जडीबुटी लिएर फर्किइन् । उनले सासूका हरेक कुरा ध्यानपूर्वक सुन्न थालिन् । मिठा–मिठा खानेकुरा तयार गरेर खुवाउन थालिन् । रिस उठे पनि शान्त रहिन् । बिस्तारै घरको माहोल फेरिँदै गयो । बुहारीलाई देख्नै नसक्ने सासू सबैसित बुहारीको प्रशंसा गर्न थालिन् । लिलीले पनि सासूमा आफ्नै आमा देख्न थालिन् ।
बिस्तारै लिलीलाई सासूको मृत्युको भयले सताउन थाल्यो । उनी माइत जाने बहानामा वैद्यकहाँ पुगिन् र भनिन्– वैद्यबा, म अब मेरी सासूलाई मार्न चाहन्नँ । उहाँ एकदमै बदलिनुभएको छ । मलाई धेरै माया गर्न थाल्नुभएको छ । म पनि उहाँलाई त्यति नै माया गर्न थालेकी छु । त्यसैले, तपाईंले दिएको विषको असर काट्ने अर्को औषधि दिनुपर्यो । मुस्कुराउँदै वैद्यले भने– तिमी चिन्ता नलेऊ छोरी । मैले तिमीलाई विष दिएकै थिइनँ । बट्टामा स्वास्थ्यवर्धक जडीबुटी थिए । विष त तिम्रो दिमाग र सोचमा थियो । तर, अहिले तिमीभित्रको विष अमृतमा परिणत भइसकेको छ । अब घर जाऊ र बाँकी जीवन खुसीसाथ बिताऊ ।