१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
रासस कास्की
२o८१ जेठ ८ मंगलबार १५:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरामा दुई लाखभन्दा बढी बिरुवा रोपिने

Read Time : > 1 मिनेट
रासस, कास्की
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १५:१४:oo

पोखरा महानगरपालिकालाई ‘स्वच्छ सहर : हरित सहर’का रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। वनविज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा. शेषकान्त भण्डारीको संयोजकत्वमा गठन गरिएको कार्यदलले सो कार्य अन्तिम चरणमा पुगेको जनाएको हो।

पोखरा महानगरको सहरी वन कार्यक्रमलाई सुदृढ गर्न र स्वच्छ सहर : हरित सहरको लक्ष्य हासिल गर्न सम्भावित वृक्षरोपणस्थल पहिचान गर्ने, सहरी वन कार्यक्रम प्रवर्द्धन गर्न उपयुक्त वनस्पति प्रजाति पहिचान गर्ने र महानगर क्षेत्रमा वृक्षरोपण सम्भाव्यताको योजना तयार गर्ने उद्देश्यले उपप्राध्यापक डा. भण्डारीसहित उपप्राध्यापक सुमन भट्टराई र उपप्राध्यापक विकास अधिकारी रहेकाे अध्ययन टोली गठन गरेको थियो।

कार्यदलले रैथाने, स्थानीय बासिन्दाको रोजाइ, सौन्दर्य बढाउने, सदाबहार, धार्मिक महत्व बोकेका, पोखरा महानगरभित्र राम्रोसँग हुर्किरहेका र हावाहुरीबाट सजिलै नभाँचिनेलगायतका वर्गमा विभाजन गरी प्रजाति छनोट गरेको छ। अध्ययनअनुसार महानगर क्षेत्रको सात सय किलाेमिटर सडक तथा राजमार्ग, झन्डै ६७ किलाेमिटर नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको एक सय २५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवा लगाउन सकिनेछ।

महानगर क्षेत्रमा पहिचान गरिएको सम्भावित क्षेत्रमा लगाउन सकिने बिरुवामा बर, पीपल, शमी, पैयूँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोका, कल्की फूल, राईखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातोपाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निभारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जंगली केरालगायत छन्।

महानगर क्षेत्रको सम्भावित क्षेत्रमा दुई लाख १८ हजारभन्दा बढी बिरुवा रोप्न सकिने बताइएको छ। जसअन्तर्गत सार्वजनिक खुला क्षेत्रमा ७३ हजार तीन सय ९९ र सडक, नदी तथा खोला किनारमा एक लाख ४४ हजार ६ सय चार वटा बिरुवा रोप्न सकिने सम्भावना रहेको कार्यदलका संयोजक डा. भण्डारीले बताए।

सहरी वन व्यवस्थापनमा पूर्वाधारको अभाव, मानवीय अतिक्रमण, जनचेतनाको कमी, कानुनी जटिलता, जनशक्ति अभाव, प्राविधिक उपकरणको अभाव, अन्तरनिकाय समन्वयको अभाव र मौजुदा व्यवस्था कार्यान्वयनको कमजोर अवस्थालगायत चुनौती रहेको कार्यदलले औँल्याएको छ।

कार्यदलले अध्ययनका क्रममा वृक्षरोपण व्यवस्थापन तथा संरक्षण रणनीतिअन्तर्गत बिरुवा रोप्ने खाडलको आकार, बिरुवाको आकार, माटो, बिरुवा रोप्ने समय, वृक्षरोपण अभियानमा सिर्जनात्मक तरिका तथा प्रोत्साहनजनक कार्य, मल्चिङ, बिरुवाको नामलगायतको विवरण अभिलेखीकरण, ट्रि–गार्ड, सरोकारवालाको निर्क्याेल, सहरी वनलाई सबल बनाउने उपायको अवलम्बन, जनचेतना अभिवृद्धि, दण्ड, जरिवाना र क्षतिपूर्तिलगायतको व्यवस्था गर्न आवश्यक रहेको जनाएको छ।

ad
ad