१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आयुष र एरिक अटाएनन् राष्ट्रिय टोलीमा

गत चैतमा बहराइनमा छनोट खेलेका खेलाडीलाई मात्र इंग्ल्यान्ड भ्रमणमा लगिने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:३९:oo

अखिल नेपाल फुटबल संघ एन्फाले प्रभावशाली मिडफिल्डर आयुष घलानसहित चार खेलाडीलाई बाहिर राख्दै आइतबार इंग्ल्यान्डको सी टोलीसँग खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ । आयुषसँगै एरिक विष्ट, सुरजजिउ ठकुरी र गोलरक्षक दीप कार्की पनि बाहिरिएका छन् । अस्ट्रेलियाबाट तीन महिनादेखि मोफसलमा आयोजना भइरहेको गोल्डकप फुटबल प्रतियोगितामा व्यस्त रहेका स्ट्राइकर विमल घर्तीमगरले पनि इंग्ल्यान्ड जाने प्रारम्भिक टोलीमा स्थान बनाउन सकेनन् । विमल मच्छिन्द्र फुटबल क्लबमा आबद्ध छन् । मच्छिन्द्रले मोफसलमा तीनवटा गोल्डकप उपाधि जितेको छ । 

पछिल्लो समय मच्छिन्द्रलाई उपाधि दिलाउन उनले उत्कृष्ट योगदान दिएका छन् । एन्फाले दुई ०८० को चैतमा बहराइनमा फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा छानिएका खेलाडी मात्र इंग्ल्यान्ड भ्रमणमा हुने र त्यसबाहेक अन्य खेलाडीलाई समावेश नगरेको टोली व्यवस्थापक भण्डारीले नयाँ पत्रिकालाई जानकारी दिएका छन् । ‘एन्फाले बहराइनमा प्रतिस्पर्धा गरेको टोलीलाई नै निरन्तरता दिने निर्णय गरेको छ । सोहीअनुसार केही खेलाडी मात्रै थपेर अभ्यासमा बोलाएका हौँ,’ भण्डारीले भने । 

विश्वकपको दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग पहिलो खेलमा ५–० र दोस्रो खेलमा ३–० ले पराजित भएको थियो । एन्फाले इंग्ल्यान्ड जाने २३ सदस्यीय टोलीलाई ११ वैशाखबाट प्रशिक्षण दिनेछ । त्यसअघि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २८ सदस्यीय प्रारम्भिक टोलीलाई अभ्यास गराउनेछन् । नेपालले इंग्ल्यान्डको छैटौँ डिभिजनको क्लब एल्डरसट टाउन एफसीसँग २६ वैशाखमा खेल्नेछ । ‘११ वैशाखबाट अभ्यास भए पनि सबै खेलाडी मोफसलमा व्यस्त छन् । त्यसैले समयमै उपलब्ध हुन जानकारी गराएका हौँ,’ व्यवस्थापक भण्डारीले भने । 

आयुष व्यक्तिगत कारण बहराइन गएनन्
आयुषले व्यक्तिगत कारण बहराइनविरुद्धको टोलीमा आफू समावेश नभएको नयाँ पत्रिकालाई बताएका छन् । ‘बहराइनसँग खेल्न जाँदा पारिवारिक कारण टोलीसँगै जान पाइनँ, एन्फाबाट अहिले केही खबर आएको छैन,’ आयुषले भने, ‘किन इंग्ल्यान्ड जाने टोलीमा बोलाइएन थाहा भएन, यसबारे अनभिज्ञ छु ।’ आयुषले दुई वर्षअघि अस्ट्रेलियाविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले उनलाई डेब्यु गरायता २२ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

 पछिल्लो समय प्रशिक्षक एनेससँग सम्बन्ध राम्रो नभएका कारण उनलाई टोलीमा नराखिएको एन्फा स्रोतले बतायो । ‘बहराइनविरुद्ध टोलीमा नरहेका रोहित चन्दलाई किन इंग्ल्यान्ड जाने लिस्टमा राखियो,’ ती सदस्यले भने । एरिक भारतीय आईलिगमा आबद्ध छन् । उनीलाई समेत एन्फाले जानकारी नै गराएको छैन ।

नेपाली टोली 
गोलरक्षक ः किरणकुमार लिम्बू, अभिषेक बराल, विशाल सुनार, सन्तोष महत 
रक्षक : अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), अजय चौधरी, योगेश
मिडफिल्डर : भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की 
स्ट्राइकर : अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, हिशुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट, राजेश परियार  

 मनोहरा र झम्सीखेलको जित
 सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत आइतबार भएको खेलमा मनोहरा युनाइटेड युथ र झम्सीखेल युथ क्लबले जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा मनोहराले स्पोर्टस् एकेडेमी साँगालाई ३–२ ले हरायो । मनोहराको यो पहिलो जित हो । जितसँगै मनोहराले दुई खेलमा ३ अंक जोडेको छ । साँगाको पनि समान खेलबाट ३ अंक छ । मनोहरालाई जित दिलाउन उत्तम शाही, विशान्त मगर र आविष्कार खड्काले गोल गरे । साँगाका लागि स्यामुएल सुनार र विकास परियारले गोल फर्काए । 

खेलको पाँचौँ मिनेटमा उत्तमले मनोहरालाई १–० को अग्रता दिलाए । खेलको १५औँ मिनेटमा विशान्तले २–० को लागि गोल गरे । साँगाका सामुयलले ३९औँ मिनेटमा २–१ को गोलअन्तरमा खेल पुर्‍याए । खेलको ७०औँ मिनेटमा आविष्कारले पेनाल्टीमा गोल गर्दा मनोहरा ३–१ ले अघि रह्यो । इन्जुरी समयमा विकासले साँगालाई ३–२ को स्थितिमा राखे । 

झम्सीखेलको चार गोल 
दोस्रो खेलमा झम्सीखेलले गोलबजार स्पोर्टस् क्लबलाई ४–० ले पराजित गर्‍यो । झम्सीखेलको जितमा ओम धामी, सञ्जय रमटेल, अजय वाइबा र बिकी महर्जनले समान एक गोल गरे । झम्सीखेलले मोफसलको टोलीविरुद्ध पहिलो हाफमै तीन गोल गरेको थियो । खेलको ३२औँ मिनेटमा ओमले पहिलो गोल गरे । खेलको ३६औँ मिनेटमा सञ्जयले पेनाल्टीमा गोल गर्दै झम्सीखेललाई २–० को स्थितिमा राखे । अजयले ४३औँ मिनेटमा गोल गर्दा झम्सीखेल पहिलो हाफमै ३–० ले अगाडि रह्यो । खेलको अन्तिम इन्जुरी समयमा बिकीले झम्सीखेललाई ४–० को जित दिलाए ।

ad
ad