१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Thursday, 30 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ जेठ १७ बिहीबार o६:३१:oo
Read Time : > 5 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मिर्गौला फेल हुनेमध्ये ३० प्रतिशत वैदेशिक रोजगारबाट फर्केका

Read Time : > 5 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार o६:३१:oo

- अस्पतालको तथ्यांकअनुसार पछिल्ला एक हजार प्रत्यारोपणमा ७५१ बिरामीले यसबारे जवाफ दिएकामा २१७ जनाले वैदेशिक रोजगारमा रहँदा मिर्गौला फेल भएको बताएका छन् 

- खाडी मुलुकमा काम गरेर फर्किएका अधिकांशमा मिर्गौलाको कार्यक्षमतामै कमी

प्रतिनिधि उदाहरण, जसको वैदेशिक रोजगारीमै मिर्गौला फेल भए

आठ वर्ष साउदी अरेबियामा काम गरेका पाल्पाका ३९ वर्षीय मुक्तबहादुर विक हाल भक्तपुरको राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराइरहेका छन् । साउदीमै होटेलमा काम गर्दागर्दै मिर्गौला फेल भएर उनी नौ वर्षअघि नेपाल फर्किएका थिए । साउदीमा उनी अन्य कामदारका लागि खाना बनाउने होटेलमा तरकारी काट्थे, जहाँ एसीको सुविधा थिएन । खाना पाकेपछि बाहिर काम गरिरहेकाहरूलाई लगेर बाँड्ने काम पनि गर्नुपर्थ्यो ।

साउदी गएको केही समयलगत्तै उच्च रक्तचापको समस्या देखिएपछि उनले पाँच वर्ष त्यहीँ रक्तचाप नियन्त्रणका लागि औषधि सेवन गरे । तर, नाक र मुखबाट लगातार रगत बग्न थालेपछि उनलाई सामान्य उपचार गराएर घर फर्काइयो । नेपालमा औषधि सेवन गर्दागर्दै भारतको बम्बई गए । त्यहाँ स्वास्थ्य जाँच गराउँदा दुवै मिर्गौला फेल फएको पत्ता लाग्यो । त्यसपछि उनले नेपाल फर्किएर नियमित डायलाइसिस गराउन थालेका हुन् । मिर्गौला दान दिने व्यक्ति नपाएका उनी हप्ताको तीनपटक डायलाइसिस गराउँदै छन् । 

‘विदेशमा कमाएको पैसा उपचारमै सकियो । कहिल्यै निको नहुने रोग लागेपछि आफन्तले पनि सहयोग गर्दैनन् । उपचारका लागि सरकारले निःशुल्क सेवा दिएको छ, तर कोठाभाडा, खानाको व्यवस्था कसरी गर्ने ?’ उनले भने । 

                                                             ०००

मुक्तबहादुरसँगै मिर्गौलाको डायलाइसिस गराइरहेका सिन्धुलीका ३० वर्षीय सोमकुमार विश्वकर्मा पनि वैदेशिक रोजगारीकै क्रममा मिर्गौला फेल भएर फर्किएका हुन् । कामदार भिसामा तीन वर्षका लागि मलेसिया गएका उनी मिर्गौला फेल भएपछि दुई वर्षमै स्वदेश फर्किएका थिए । सोमकुमारले सुपरमार्केटमा माछा काट्ने, माछा भण्डारणका लागि आइस बनाउने र माछा स्टोर गर्ने काम गर्थे । उनको अधिकांश समय अत्यधिक चिसोमा बित्थ्यो । नियमित स्वास्थ्य परीक्षणका क्रममा मिर्गौला फेल भएको पत्ता लागेपछि दुईपटक मलेसियामै डायलाइसिस गराएर कम्पनीले उनलाई नेपाल पठाइदियो । हप्तामा तीनपटक डायलाइसिस गराइरहेका उनी प्रत्यारोपणका लागि अंगदाता कुरिरहेका छन् । 

                                                             ०००

त्यस्तै, गत मंसिरमा मिर्गौला प्रत्यारोपण गरेर हाल नियमित फलोअपमा रहेका काठमाडौं बालाजुका दिनेश खत्रीको पनि विदेशमै मिर्गौला फेल भएको थियो । दुबईमा सेफको काम गर्दैगर्दा मिर्गौलामा पत्थरी भएको पुष्टि भएपछि स्वदेश फर्किएका थिए । शल्यक्रिया गरेर पत्थरी निकालेलगत्तै मिर्गौला पनि फेल भएपछि केही समयको डायलाइसिसपछि मिर्गौला प्रत्यारोपण गराएका हुन् । हाल नियमित चिकित्सकको फलोअपमा रहेका उनले भने, ‘नेपाली कामदारको खानपानको बानीले मिर्गौलामा समस्या देखिइरहेको हो । मसँगै काम गर्ने समूहमध्येका हामी आठजनामा एकैपटक मिर्गौलामा पत्थरी देखिएको थियो । पानीको सट्टा इनर्जी ड्रिंक्स पिउने, चिल्लो माछा, मासु र अल्कोहल खाने बानीका कारण धेरैमा यस्तो समस्या देखिन थालेको छ ।’ 

नेपालमा हाल मिर्गौला फेल भएर डायलाइसिस गराइरहेका र प्रत्यारोपण गराइरहेकामध्ये ३० प्रतिशत वैदेशिक रोजगारबाट फर्किएकाहरू छन् । सरकारसँग नै मिर्गौलारोगीको यकिन तथ्यांक नभए पनि मिर्गौला प्रत्यारोपणको ठूलो हिस्सा ओगट्ने केही अस्पतालको तथ्यांक तथा अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटी, ला इस्ला नेटवर्क र नेपाल डेभलपमेन्ट सोसाइटीका अन्वेषकहरूले सार्वजनिक गरेको एक शोधपत्रले मिर्गौला फेल हुनेमध्ये ३० प्रतिशत वैदेशिक रोजगारबाट फर्किएकाहरू रहेको देखाएको हो । 

सबैभन्दा धेरै मिर्गौला प्रत्यारोपण र डायलाइसिस सेवा दिँदै आएको सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा प्रत्यारोपण गराउनेमध्ये २९ प्रतिशत बिरामी वैदेशिक रोजगारीबाट फर्किएकाहरू छन् । अस्पतालको तथ्यांकअनुसार पछिल्ला एक हजार प्रत्यारोपणमा सात सय ५१ बिरामीले यसबारे जवाफ दिएकामा दुई सय १७ जनाले वैदेशिक रोजगारमा रहँदा मिर्गौला फेल भएको बताएका छन् जुन २८.९ प्रतिशत हो । 

त्यस्तै, काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको उपचारका लागि पुग्नेहरूमध्ये करिब ३० प्रतिशत वैदेशिक रोजगारबाट फर्किएकाहरू रहेको त्यहाँ कार्यरत डा. पवन चालिसे बताउँछन् । त्यसैगरी, अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटी, ला इस्ला नेटवर्क र नेपाल डेभलपमेन्ट सोसाइटीका अन्वेषकहरूले गत जुनमा सार्वजनिक गरेको शोधपत्रले नेपालमा दुईवटा मिर्गौला डायलाइसिस केन्द्रमा उपचार गराइरहेका ३१ प्रतिशत बिरामी खाडी र मलेसियाबाट फर्केका आप्रवासी कामदार रहेको देखाएको थियो । तीमध्ये पनि आधाभन्दा धेरै ४० वर्ष उमेर नकटेका रहेको जनाएको थियो । 

राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा गएकामध्ये पनि धेरैजसो खाडी मुलुक र मलेसियामा काम गर्नेहरू मिर्गौला रोगबाट प्रभावित छन् । कुल प्रभावित अंकको २५.३ प्रतिशत कतार, २१ प्रतिशत दुबई, ११.५ प्रतिशत मलेसिया र बाँकी अन्य देशमा कामको दौरानमा मिर्गौला फेल भएकाहरू छन् । खासगरी मजदुरी र सर्भिसमा काम गर्न गएकाहरू मिर्गौलामा पत्थरी र मिर्गौला फेल भएर फर्किने गरेका छन् । आवश्यकताअनुसार पानी र खानाविना नै दैनिक १० देखि १२ घण्टासम्म काम गर्ने कामदारको मिर्गौलामा छोटो समयमै गम्भीर समस्या देखिने गरेको चिकित्सकले बताउँदै आएका छन् । केन्द्रको तथ्यांकअनुसार वैदेशिक रोजगारबाट मिर्गाैलामा समस्या लिएर फर्किनेमध्ये ४० वर्षमुनिका ४१.५ प्रतिशत छन् भने ४० देखि ५० वर्षभित्रका २५.३ प्रतिशत छन् । 

वैदेशिक रोजगारको क्रममा मिर्गौलामा समस्या देखिएकाहरूलाई वैदेशिक रोजगार बोर्डले समेत उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । यसका लागि दैनिक दुई–तीनजना बिरामी बोर्डमा आउने गरेको बोर्ड प्रवक्ता टीकाराम ढकालले बताए । उनका अनुसार हालसम्म मिर्गौला रोगको उपचारका लागि एक सय ९३ जनाले बोर्डबाट सहयोग लिएका छन् । 

किन भइरहेको छ मिर्गौला फेल ?

उच्च वा अति न्यून तापक्रम, समयमा पानी खान नपाउने र पिसाब गर्न नपाउने, अत्यधिक चिल्लो र अल्कोहलको उच्च प्रयोग, अनिद्राजस्ता कारणले वैदेशिक रोजगार मिर्गौलामा समस्या निम्तिने कारण बन्न थालेको छ । अत्यधिक गर्मी वा अत्यधिक चिसोमा बस्दा शरीरमा पानीको कमी हुने र त्यतिवेला पानीको सट्टा इनर्जी ड्रिंक्सहरूको बढी प्रयोग गर्नेमा मिर्गौलामा समस्या देखिने गरेको चिकित्सक बताउँछन् । 

डा. पुकारचन्द्र श्रेष्ठ, मिर्गौला रोग विशेषज्ञ

उपचारका लागि अस्पताल पुग्नेहरूमध्ये अत्यधिक गर्मीमा काम गर्ने, तर पानी पिउन नपाउने, एसीमा लामो समय बस्नुपर्ने, खानामा ध्यान नदिनु नै मुख्य कारण देखिएको डा. पुकार श्रेष्ठले बताए । ‘४० देखि ५० डिग्री सेल्सियस तापक्रम रहेको स्थानमा काम गर्नुपर्ने, शरीरलाई चाहिने पानी खान नपाउने र समयमा पिसाबसमेत गर्न नपाउँदा मिर्गौला फेल हुने जोखिम उच्च हुने नै भयो,’ उनले भने । डा. श्रेष्ठका अनुसार वैदेशिक रोजगारबाट फर्किनेहरूमा मिर्गौलासम्बन्धी समस्या अत्यधिक देखिन थालेको छ । जसले उपचारमा राज्यको ठूलो खर्च भइरहेको छ भने काम गर्ने उमेरका युवाहरू डायलाइसिस गरेर बाँच्न बाध्य भइरहेका छन् । एक बिरामीको मिर्गौला प्रत्यारोपणमा सरकारले साढे पाँच लाख र एक वर्षको डायलाइसिसका लागि दुई लाख ५६ हजार रुपैयाँ खर्च गर्दै आएको छ । 

‘मिर्गौलाले शरीरमा भएको विषाक्त पदार्थ फिल्टर गरेर फाल्ने काम गर्छ, तर शरीरमा पानीको मात्रा कम हुँदा मिर्गौलाले काम गर्न सक्दैन र फेल हुने समस्या निम्तिन्छ,’ डा. श्रेष्ठले भने, ‘प्रसस्त पानी पिउनुपर्ने अवस्थामा कोल्ड ड्रिंक्स पिउँदा पत्थरीको सम्भावना हुन्छ र मिर्गौला फेल हुने जोखिम हुन्छ ।’ 

मानव अधिकार समूह फेयरस्क्वायरले खाडी मुलुकमा काम गर्नेहरूमा विभिन्न स्वास्थ्य समस्याको जोखिम बढ्दै गएको देखाएको छ । अध्ययनका अनुसार विश्वव्यापी तापमान पूर्व–औद्योगिकस्तरभन्दा १.५ डिग्री सेल्सियस माथि पुगेको र अधिकतम दैनिक तापमान ४० डिग्री फरेनहाइट पुग्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । अत्यधिक गर्मी हुने स्थानमा कतिपय देशले आउटडोर काम गर्न निषेधसमेत गर्दै आएका छन् । कतारले सेप्टेम्बरको मध्यतिर बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म आउटडोर काम गर्न बन्देज नै लगाएको थियो । 

खाडी मुलुकमा काम गरेर फर्किएका अधिकांशमा मिर्गौलाको कार्यक्षमतामै कमी 
खासगरी खाडी मुलुकमा काम गरेर फर्किएका अधिकांशमा मिर्गौलाको काम गर्ने क्षमतामै कमी आएको अध्ययनले देखाएको छ । गत असोजमा बेलायतको बर्नमथ विश्वविद्यालय र ग्रिनतारा नेपाल नामक संस्थाले वैदेशिक रोजगारबाट फर्किएकामा गरेको एक अध्ययनले मिर्गौलामा कुनै न कुनै समस्या लिएर फर्किने संख्या डरलाग्दो देखिएको बताएको थियो । 

उक्त अध्ययनमा धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका र छिरेश्वरनाथ गाउँपालिकाका विगत एक वर्षभित्र खाडीका ६ मुलुक (कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन) र मलेसियामा काम गरी फर्किएका सात सय १८ पुरुष र स्वदेशमै रहेका स्थानीय सात सय २० (तीन सय ७९ पुरुष र तीन सय ४१ महिला)बीच तुलना गरिएको थियो । अध्ययनले वैदेशिक रोजगारबाट फर्केकाहरूमा रगतमा पाइने क्रियटिनिन तत्वको मात्राका आधारमा मिर्गौलाले एक मिनेटमा कति रगत छान्छ भनेर हेरेका थिए । जसमा अधिकांशमा मिर्गौलाको कार्यक्षमतामा कमी आएको देखाएको थियो । त्यस्तै, नेपालमा बसेर काम गरिरहेकाहरूको तुलनामा विदेशबाट फर्केकाहरूमा उच्च रक्तचाप, मधुमेह, मोटोपनलगायत समस्या पनि बढी देखिएको थियो । 

कसरी हुन्छ मिर्गौला फेल ?
टिचिङ अस्पताल महाराजगन्जका चिकित्सक डा. पवन चालिसेका अनुसार मिर्गौला रोगमा पाँच चरणहरूमध्ये रोग कुन चरणमा छ भनेर ग्लोमेरुलर फिल्टरेसन रेट (जिएफआर)ले निर्धारण गर्छ । जिएफआर घट्दै जाँदा मिर्गौलाको काम पनि घट्दै जान्छ । 

मिर्गौला फेल तब हुन्छ, जब त्यसको कार्य १५ प्रतिशतभन्दा कम हुन्छ । त्यतिवेला मिर्गौला प्रत्यारोपण वा डायलाइसिस गरेर मात्र जीवन सम्भव हुन्छ । कृत्रिम तरिकाबाट रगतको शुद्धीकरण गर्नुलाई डायलाइसिस भनिन्छ । डायलाइसिसमा हिमोडायलाइसिस र पेरिटोनियल डायलाइसिस पर्छ । हिमोडायलाइसिसमा फिस्टुला, ग्राफ्ट वा क्याथेटरको माध्यमबाट मेसिनको सहायताले रगतबाट फोहोर र अतिरिक्त तरल पदार्थ फिल्टर गरिन्छ भने पेरिटोनियल डायलाइसिसमा पेटभित्र आन्द्राको बाहिरपट्टि राखिएको पातलो ट्युबले पेरिटोनियल क्याभिटीबाट डायलाइसेटको सहायताले विकारयुक्त पदार्थ हटाउने गरिन्छ । हिमोडायलाइसिस हप्तामा दुईदेखि तीनपटकसम्म गर्नुपर्ने हुन्छ भने पेरिटोनियल डायलाइसिस दिनहुँ गर्नुपर्छ । 
 

ad
ad
ad
ad