खाद्य पदार्थका रूपमा लिइने ‘डाइटेरी सप्लिमेन्ट्स’ले मानिसको शरीर र स्वास्थ्यमा गम्भीर ढंगले प्रभाव पार्न सक्छ
अमेरिकीले डाइटेरी सप्लिमेन्ट्स (पोषण परिपूरक) बारे धेरै सकारात्मक धारणा राख्छन् । सन् २०२३ को सर्वेक्षणअनुसार ७४ प्रतिशत वयस्क अमेरिकीले भिटामिन, प्रिबायोटिक्स र अन्य पदार्थ सेवन गर्छन् ।
डाइटेरी सप्लिमेन्ट्सको व्यापार फस्टाइरहेको छ । यसलाई लिएर हुने व्यापक चर्चाले यसको वास्तविकतालाई नै ओझेलमा पारिदिएको छ, अर्थात् यी सप्लिमेन्ट्सले मानिसको शरीर र स्वास्थ्यमा गम्भीर ढंगले प्रभाव पार्न सक्छन् । शरीर र स्वास्थ्यलाई प्रभाव पार्ने भए पनि यी सप्लिमेन्ट्सलाई औषधिलाई झैँ नियमन गरिँदैन । यिनलाई खाद्य पदार्थका रूपमा लिइन्छ । सन् १९९४ मा पारित एक कानुनका कारण खाद्य एवं औषधि प्रशासन (एफडिए) को सप्लिमेन्ट्समाथि प्रभावकारी अधिकार छैन । एफडिएकै अनुसार ऊसँग सप्लिमेन्ट्सको बजारीकरणअघि तिनको अनुमोदन गर्ने अधिकार छैन । कम्पनीले कुनै पनि स्वीकृति प्रक्रियाका माध्यमबाट नगई वा सुरक्षा प्रमाण साझा नगरी पनि सप्लिमेन्ट्स बिक्री गर्न सक्छन् ।
स्नातक चिकित्सा शिक्षामा अनुसन्धान संकाय सदस्यका रूपमा म रेजिडेन्ट चिकित्सकलाई स्वास्थ्य अनुसन्धानलाई कसरी विश्लेषण गर्ने भनेर सिकाउँछु । म स्वास्थ्य, हेरचाह र सप्लिमेन्ट्सबारे पनि लेख्छु । यसले मलाई सप्लिमेन्ट्सका विषयसँग गहिरो रूपमा संलग्न बनाइराख्छ । मानिस किन सप्लिमेन्ट्सले स्वास्थ्यमा सुधार गर्न सक्छ भन्नेमा विश्वास गर्छन् भनेर बुझ्न आवश्यक छ । सप्लिमेन्ट्सको मार्केटिङले यी विश्वास निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ । मेरो अध्ययनले सप्लिमेन्ट्स मार्केटिङमा बारम्बार प्रयोग गरिएका तीनवटा गलत भाष्य प्रवाह भएको पाएको छ ।
१. प्रकृतिप्रतिको भ्रामक आकर्षण : प्रकृतिप्रतिको भ्रामक आकर्षण त्यतिखेर हुन्छ, जब तपाईं केही ‘प्राकृतिक’ छ भने तब यो राम्रो हुनैपर्छ भन्ने मान्नुहुन्छ । सप्लिमेन्ट्स मार्केटिङमा प्राकृतिक शब्दको बारम्बार प्रयोगले औषधि, उपचार र रोकथाम प्रविधिप्रति हाम्रो इच्छालाई आकर्षित गर्छ । उदाहरणका लागि मैले ‘भिटामिन सी’ भनेँ भने तपाईं तुरुन्तै के सोच्नुहुन्छ होला ? सामान्यतया सुन्तला वा अन्य अम्लीय फल र फ्लु रोकथाम सम्झिनुहुन्छ । तर, मैले ‘फ्लु खोप’ भन्दा तपाईंको दिमागमा तुरुन्तै के आउँछ सम्भवतः चिकित्सकको कार्यालय, अलिकति दुखाइ र औषधि कम्पनी सम्झिनुहुन्छ । फ्लु खोपले फ्लुको संक्रमण र व्यथा घटाउँछ भनेर चिकित्सकीय रूपमै प्रमाणित भएको छ । तर, भिटामिन सीले संक्रमण र व्यथा घटाउँछ भनेर प्रचार गरे पनि यसका पछाडि कुनै चिकित्सकीय प्रमाण छैन ।
सप्लिमेन्ट्स उद्योगले प्रायः ‘प्रकृति’ समावेश भएको ब्रान्ड नाम प्रयोग गर्छन्, जसले मानिसलाई प्रकृतिप्रतिको भ्रामक आकर्षणमा पार्छ । वेबसाइट र विज्ञापनले ‘कृत्रिम’ उत्पादनको सट्टा ‘शुद्ध’ र ‘प्राकृतिक’ सप्लिमेन्ट्स छनोट गर्न प्रोत्साहन गर्छन्, जसले यी सप्लिमेन्ट्स स्वास्थ्यका लागि उत्कृष्ट र आवश्यक रहेको संकेत गर्छ । स्पष्टतः ‘प्राकृतिक’ले ‘राम्रो’को अर्थ दिँदैन, तर मार्केटिङले तपाईंले यही सोच्नुहोस् भन्ने चाहन्छ ।
२. राम्रो कुरा धेरै प्रयोग गर्दा सधैँ राम्रो हुन्छ भन्ने विश्वास : प्रकृतिप्रतिको भ्रामक आकर्षणसँग जोडिएको अर्को धारणा भनेको यदि केही प्राकृतिक छ भने त्यो स्वाभाविक रूपमा राम्रो हो र त्यसको उच्च मात्रा सधैँ राम्रो हुन्छ । उदाहरणका लागि यदि भिटामिन सीको सानो मात्रा लाभदायक छ भने बढी मात्रा थप लाभदायक हुनुपर्छ ।
सत्य के हो भने हाम्रो शरीरले हामीले उपभोग गर्ने भिटामिन र खनिजको स्तरलाई कडाइसाथ नियमन गर्छ । यदि तपाईंसँग कुनै भिटामिन र खनिजको कमी छैन भने सप्लिमेन्ट्समार्फत एक विशेष भिटामिन वा खनिजको अधिक उपभोग गर्नाले स्वास्थ्यलाभ हुन जरुरी छैन । यसैले सप्लिमेन्ट्सका आलोचक कहिलेकाहीँ सप्लिमेन्ट्स खरिद गर्नेलाई ‘तपाईं महँगो पिसाबका लागि मात्र पैसा तिर्दै हुनुहुन्छ’ भन्छन् किनभने शरीरले अतिरिक्त भिटामिन र खनिज पिसाबमार्फत उत्सर्जन गर्छ । भिटामिन सी सप्लिमेन्ट्सलाई नै हेरौँ । सामान्यतः सात सय ५० वा एक हजार मिलिग्रामसम्मको मात्रामा मार्केटिङ गरिन्छ, जबकि वयस्कलाई प्रतिदिन ७५ देखि एक सय २० मिलिग्राम मात्र चाहिन्छ । त्यसैगरी भिटामिन डी सप्लिमेन्ट्सले पाँच हजार ‘आइयु’को विज्ञापन गर्छन्, जब कि वयस्कका लागि दैनिक चार हजार आइयुको सिफारिस गरिएको छ । यसले अधिक राम्रो हुन्छ भन्ने मिथकलाई प्रोत्साहन गर्छ र मानिसलाई प्रायः अनावश्यक सप्लिमेन्ट्स सेवन गर्न लगाउँछ ।
३. कार्य पूर्वाग्रह : अन्त्यमा सप्लिमेन्ट्स उद्योगले केही नगर्नुभन्दा केही गर्नु राम्रो हो भन्ने विचारलाई प्रयोग गर्छन् । यसलाई कार्य पूर्वाग्रह भनिन्छ । केही कदम चाल्नाले मानिसलाई उनीहरूसँग परिस्थितिमाथि बढी नियन्त्रण छ भन्ने महसुस गराउँछ र यो भावना स्वास्थ्यको सन्दर्भमा थप शक्तिशाली हुन्छ ।
माथिल्लो खण्डका उदाहरणले कसरी सप्लिमेन्ट्सले सिफारिस गरिएको दैनिक सेवनको तुलनामा धेरै मात्रामा भिटामिन वा खनिज हुन्छ भन्ने देखाउँछ र आममानिस त्यस्ता उच्च खुराक सुरक्षित छ भन्ने मान्छन् । भिटामिन सीको अत्यधिक सेवनले पखाला, वाकवाकी र पेट दुख्न सक्छ । त्यसैगरी धेरै भिटामिन डीले वाकवाकी, बान्ता र मिर्गाैलामा पत्थरी निम्त्याउन सक्छ । सप्लिमेन्ट्सले निर्धारित औषधिसँग पनि अन्तरक्रिया गर्न सक्छन् । उदाहरणका लागि सेन्ट जोन्स वर्ट फुलले गर्भनिरोधक, इम्युनोसप्रेसिभ ड्रग्स, स्टेटिन र केमोथेरापीलाई असर गर्न सक्छ, अर्थात् यी चिकित्सकीय उपचार वा औषधिको प्रभावकारितामा परिवर्तन आउन सक्छ । तसर्थ सप्लिमेन्ट्स लिनु सधैँ राम्रो होइन र यसले जोखिम निम्त्याउन सक्छ ।
सप्लिमेन्ट्सको मार्केटिङ सन्देशलाई लिएर चनाखो हुनुहोस् र कुनै पनि सप्लिमेन्ट्स लिनुअघि सधैँ चिकित्सकसँग परामर्श लिनुहोस् ।
(सुलेटा जर्ज वासिंटन विश्वविद्यालयकी विद्यावारिधिकी अध्येता हुन्)
द कन्भर्सेसनबाट