१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

उत्पादन बढाउन खेतबारीमै कृषि पाठशाला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३o:oo

नरैनापुर गाउँपालिकाले किसानको खेतबारीमै पुगेर खेती गर्ने विधि सिकाउन ‘कृषि पाठशाला’ सञ्चालन गरेको छ । पाठशालामार्फत नयाँ नयाँ विधि सिकेपछि यहाँका किसान तरकारी खेतीतर्फ आकर्षित भएका छन् । 

परम्परागत विधिबाट खेतीपाती गर्दा उब्जनी थोरै भएपछि उनीहरूलाई प्रयोगात्मक अभ्यासमार्फत नयाँ विधि सिकाउने अभियान थालेको पालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले बताए । ‘जुन बाली हो त्यसबारे बुझाउने र खेती गर्ने तरिकाको अभ्यास गराउँछौँ,’ उनले भने, ‘बाली विशेषलाई लिएर सातामा एक दिन खेती गर्ने तरिका, कीटजन्य समस्या, उपचार, मल तथा औषधि छर्किने तरिका सिकाउँछौँ ।’ 

उत्पादित वस्तुको बजार र भण्डारण विधिबारे समेत सिकाउने गरेको उनले बताए । ‘खेतबारीमै गएर बाली लगाउनेदेखि भिœयाउनेसम्म ज्ञान दिइने भएकाले यसलाई कृषक पाठशाला भनिएको हो,’ भण्डारीले भने ।

बाँकेका अन्य गाउँपालिकाको तुलनामा नरैनापुर गाउँपालिकामा कृषिका लागि जमिन धेरै छ । तर, सिँचाइको व्यवस्था नहुँदा यहाँका किसान अकासेपानीमा निर्भर छन् । कृषि जेटी र जेटिए खेतबारीमै भेटिन थालेपछि किसानहरूसमेत खुसी भएका छन् । 

अन्य बालीभन्दा नगदेबालीतर्फ कृषकलाई आकर्षित गर्न कृषक पाठशाला सञ्चालनमा ल्याएको भण्डारीको भनाइ छ । ‘नगदेबालीअन्तर्गत तरकारी खेतीमा आकर्षण गर्न समूह निर्माण गरी कृषक पाठशाला सञ्चालन गरिएको छ,’ उनले भने, ‘यस वर्ष बन्दागोभी खेतीबारे जानकारी दिन ‘कृषक पाठशाला’ सञ्चालन गरेका छौँ । गर्मी सिजनमा अर्को तरकारीबारे सिकाउने योजना बनाएका छौँ ।’

पाठशालाबाट खेतीपाती गर्ने आधुनिक विधि थाहा पाएको हरियाली महिला कृषक समूहकी अग्नि चौधरीले बताइन् । ‘परम्परागत रूपमा खानका लागि मात्र तरकारी रोपिन्थ्यो । रोपेर छाड्थ्यौँ,’ उनले भनिन्, ‘मलजल मिलाएर नहाल्दा थोरै फल्थ्यो । कृषि पाठशाला सञ्चालनपछि किन फलेन भनेर हेर्ने, गोडमेल गर्ने, मलजल गर्ने, आवश्यकताअनुसार विषादी छर्किन्छौँ ।’ 

नरैनापुर गाउँपालिक– ४ हरियाली कृषक महिला समूह दौलतपुरकी अध्यक्ष प्रतिमा भुसालले पनि कृषक पाठशालाले धेरै ज्ञान दिएको बताइन् । ‘पाठशालाले मौसमी, बेमौसमी तरकारी खेती गर्नेलगायत ज्ञान दिएको छ,’ उनले भनिन् । 

यो समूहमा २४ सदस्य छन् । समूहका सबै सदस्य कृषक पाठशालामा गएर जैविक मल बनाउने तरिका, बिउ राख्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, किरा लाग्दा जैविक उपचार गर्नेजस्ता तरिका सिक्दै छन् । 

नरैनापुर गाउँपालिकाले उत्पादित तरकारी बिक्रीका लागि वडा नम्बर ४ मा हाटबजारसमेत सञ्चालन गरेको र संकलन केन्द्रसम्म ल्याउन कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ । 
 

ad
ad