नयाँ वर्ष अर्थात् २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्यले पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुति दिने भएको छ।
झापाको महत्वपूर्ण केन्द्र मानिने यो सहरमा आगामी चैत ३० गते शुक्रबार बेलुकी ब्यान्डका लोकरक भाकाहरू गुन्जनेछन्।
बढ्दो व्यस्तता र सहरीकरणसँगै यातायात आवागमनको पनि तीव् वृद्धि भएको बिर्तामोडमा यसअघि नेपथ्यले ‘ट्राफिक व्यवस्थापन’मा योगदान दिन कन्सर्ट गरेको थियो। यस भेगमा सवारी दुर्घटनाको मात्रा अत्यधिक वृद्धि भएको वेला सुरक्षित आवागमनको नाराका साथ पाँच वर्षअघि नेपथ्य प्रस्तुत भएको थियो।
त्यसभन्दा पहिले भने द्वन्द्वकालमा शान्तिको आह्वान गर्दै ‘सुन्दर शान्त नेपाल’ अभियानअन्तर्गत नेपथ्यले यसै भूमिमा गीतहरू सुनाएको थियो। अहिलेको यो नवीन नगरपालिका त्यतिवेला भने ‘अनारमनी गाविस’ भनेर चिनिन्थ्यो । यसरी बिर्तामोडको विकासक्रमसँग जोडिँदै आएको नेपथ्यले अब भने यस सहरकै प्रमुख खेलकुद आयोजना ‘झापा गोल्डकप’लाई योगदान दिने उद्देश्यका साथ आफूलाई प्रस्तुत गर्न लागेको छ।
‘यो सिंगो भेगका दर्शक हाम्रा लागि बहुमूल्य निधिका रूपमा रहँदै आएका छन्,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कोभिड महामारीको लामो अन्तराललाई नाघेर ब्यान्ड फेरि जुर्मुराएको विन्दु छेवैको दमक बन्न पुगेको थियो भने केही दिनअघि मात्र पनि हामी अर्को छेउमा रहेको इलाम करफोकमा प्रस्तुत भएका थियौँ।’
नेपथ्य मनपराउने दर्शककाे घेरामा उभिनका लागि आफू सदैव उत्साहित रहने गरेकामा अबको केही दिनमै बिर्तामोडका संगीतप्रेमीहरूमाझ पुग्न व्यग्र भइरहेको पनि गुरुङले बताए।