१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
सुवास भट्ट काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:१५:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भ्रष्टाचारको फेरिएको शैली : ठेकेदारलाई आयोजना दिलाउँदा घुसबापत जग्गा

अर्बौँका ठेक्का एउटै ठेकेदारलाई दिएर जग्गा कमिसन

Read Time : > 4 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:१५:oo

अख्तियारको आरोपपत्र : जग्गा विक्रेताले समेत ती जग्गा बिक्री गरेको देखिँदा सरोज भट्टराईले कोषमा ठेक्कापट्टाको काम गर्ने निर्माण सेवाका प्रोपाइटरसँग घुस/रिसवतस्वरूप माग गरेको ८० लाख रुपैयाँ रकम निज भट्टराईले आफैँले प्रत्यक्ष रूपमा नलिई आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गर्दा उक्त रिसवत रकम प्रयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको देखिन्छ ।

भ्रष्टाचारको दायरा विस्तार हुँदै जाँदा घुस खाने प्रवृत्ति पनि फेरिँदै गएको छ । सीधै रकममा आफू र आफ्नो खातामा घुस लिनुको सट्टा जग्गा किनाउने, घर बनाउने तथा विदेशमै भुक्तानी गर्नेजस्ता प्रवृत्ति मौलाउँदै गएको पाइन्छ । 

यस्तै, घटनामा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराई र उनकी आमा जनकनन्दनी भट्टराईविरुद्ध अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो । ठेकेदारलाई आयोजना दिएर त्यसको कमिसनबापत आमाको नाममा जग्गा खरिद गरेको भेटिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छ । 

घुसबापत इन्जिनियर भट्टराईले आमा जनकनन्दनीको नाममा भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ स्थित कित्ता नं. १३७४ र १३७५ को क्रमशः दुई रोपनी नौ आना र दुई आना क्षेत्रफलको जग्गा खरिद गरेका हुन् । सीधै घुस नलिएर आफ्नी आमाको नाममा जग्गा बेच्नेलाई ठेकेदारमार्फत भुक्तानी गरेर उनले जग्गा खरिद गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । 

कोषमा कार्यरत भट्टराईले ती कित्ताका जग्गा खरिद गर्न लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने बाबुल निर्माण सेवाका प्रोपाइटर सफिक अहमदसँग घुस/रिसवत माग गरेका थिए । प्रोपाइटरकै बैंक खाताबाट जग्गा बिक्रेताको खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको बैंक खातामा अर्को ४० लाख गरी कुल ८० लाख रुपैयाँ रकम जम्मा गराइदिएको खुलेको अख्तियारले जनाएको छ । कोषका इन्जिनियर भट्टराईले भनेअनुसार जग्गा खोजिदिने व्यक्तिले प्राप्त गरेको ४० लाखमध्ये ३८ लाख सात हजार दुई सय रुपैयाँसमेत जग्गा बिक्रेताकै बैंक खातामा जम्मा गराएको भेटिएको छ । बाँकी रकम उनले कमिसनका रूपमा लिएको देखिन्छ । 

‘जग्गा बिक्रेताले समेत ती जग्गा बिक्री गरेको देखिँदा भट्टराईले कोषमा ठेक्कापट्टाको काम गर्ने निर्माण सेवाका प्रोपाइटरसँग घुस/रिसवतस्वरूप माग गरेको ८० लाख रुपैयाँ रकम निज सरोज भट्टराईले आफैँले प्रत्यक्ष रूपमा नलिई आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गर्दा उक्त रिसवत रकम प्रयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको देखिन्छ,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम रिसवत लिएको कसुरमा ८० लाख रुपैयाँ बिगो कायम गरी अख्तियारले भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ । त्यसै उपदफाको देहाय (ज) बमोजिम कैदसजाय गरी बिगोबमोजिम जरिवाना सजायसमेतको मागदाबी गरिएको छ । देहाय (ज) को व्यवस्थाअनुसार उनलाई ६ देखि आठ वर्ष कैद सजाय हुन्छ ।  त्यस्तै, ऐनको दफा ३ को उपदफा १ र दफा ४७ बमोजिम आमा जनकनन्दनीको नाममा रहेको जग्गा भ्रष्टाचारजन्य कसुरबाट आर्जन गरेको देखिएको भन्दै उक्त जग्गा जफतको मागदाबी पनि अख्तियारले गरेको छ । 

कोषमा योजना प्रमुख भई काम गर्ने क्रममा योजना ठेक्का प्राप्त गरेका निर्माण कम्पनीहरूबाट जग्गा बिक्रेताको खातामा रकमान्तर गरी जग्गाको रकम भुक्तानी गरी भ्रष्टाचार गरेको उजुरी ०७८ साउनमा अख्तियारमा दर्ता भएको थियो । त्यसपछि अख्तियारले उनीबारे अनुसन्धान अघि बढाएको थियो । भट्टराई २१ वर्षदेखि कोषमा कार्यरत कर्मचारी हुन् । भट्टराईविरुद्ध अख्तियारले अरू उजुरीमाथि पनि छानबिन गरिरहेको छ । छानबिनका क्रममा यो तथ्य भेटिएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।  

यसरी जम्मा भयो विक्रेताको खातामा रकम 
अनुसन्धानका क्रममा अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरसँग जग्गा खरिद–बिक्रीसम्बन्धी जानकारी माग गरेको थियो । मालपोतले आइते तामाङको नाममा दर्ता कायम गरेको जग्गा जनकनन्दनीले २७ वैशाख ०७९ मा ३८ लाख सात हजार दुई सय रुपैयाँमा खरिद गरेको जवाफ दिएको थियो । भट्टराईले खरिद गरेको जग्गाको आधा भुक्तानी नानीकाजी थापाले बिक्रेता तामाङको कृषि विकास बैंकको खातामा चारपटक गरेर रकम जम्मा गरेको भेटिएको छ । 

अख्तियारले कृषि विकास बैंकलाई पनि जग्गा खरिद–बिक्री गर्दा रकम खातामा जम्मा भएकोबारे विवरण दिन पत्राचार गरेको थियो । बैंकले केही समयअघि अख्तियारलाई दिएको विवरणअनुसार तामाङको उही खातामा २६ वैशाख ०७९ मा ४० लाख रुपैयाँ रकम बाबुल निर्माण सेवाले जम्मा गरेको नगद भौचरसहितको विवरण पठाएको थियो । बाबुल निर्माण सेवा र नानीकाजी थापाले गरेर कुल ७८ लाख सात हजार दुई सय रुपैयाँ रकम बिक्रेता तामाङको खातामा जम्मा गरेको अख्तियारले यकिन गरेको छ । 

नानीकाजीको खातामा पनि बाबुल निर्माण सेवाको प्रोपाइटर सफिक अहमदको कृषि विकास बैंकको खाताबाट दुईपटक गरेर १० लाखका दरले २० लाख र अर्घाखाँची बाबुल जेभीको खाताबाट ३० लाख रुपैयाँ जम्मा भएको देखिएको छ । पछि नानीकाजीको खाताबाट नौ लाख नौ सय ९९ रुपैयाँ झिकिएकोसमेत देखिन्छ । आफ्नो खातामा जम्मा भएकै रकमबाट नानीकाजीले तामाङलाई नौ लाख ९९ हजार ९९९ का दरले तीनपटक गरेर २९ लाख ९९ हजार ९९७ रुपैयाँ रकमान्तर गरेको बैंक विवरणबाट फेला परेको छ । आठ लाख सात हजार २०३ रुपैयाँ पनि उनले तामाङको खातामा जम्मा गरिदिएका थिए । यो दुवै गरेर ३८ लाख सात हजार दुई सय रुपैयाँ नानीकाजीले तामाङको खातामा हालिदिएका थिए । 

अख्तियारसँगको बयानमा नानीकाजीले आफ्नी छोरी लुम्बिनी विकास कोषको काम गर्ने निर्माण कम्पनीमा कार्यरत भएकाले त्यसैमार्फत भट्टराईसँग चिनजान भएको र आफ्नो खातामार्फत कारोबार भएको बताएका छन् । बिक्रेता आफ्नो नाता पर्ने भएकाले आफू दुवै पक्षसँग कारोबारमा जोडिएको पनि बयान दिएका छन् । यसबाट उनी जग्गा कारोबारी रहेको देखिन्छ । 

अर्बौँका ठेक्का एउटै ठेकेदारलाई दिएर जग्गा कमिसन 
अख्तियारले लुम्बिनी विकास कोषसँग पनि विवरण माग गरेको थियो । जसअनुसार कोषले आर्थिक वर्ष ०७५/७६ देखि हालसम्म निर्माण कार्यका लागि पाँच करोड वा सोभन्दा बढी रकमको चारवटा ठेक्का आह्वान भएको छ । ती सबै ठेक्काको सम्झौता रकम भ्याटसहित एक अर्ब ३७ करोड २५ लाख ९७ हजार रुपैयाँ छ । यी सबै ठेक्का लुम्बिनी/अर्घाखाँची/बाबुल जेभीले पाएको देखिन्छ ।

यी ठेक्का लुम्बिनी गुरुयोजनाअन्तर्गत विभिन्न सडकको सौन्दर्य, गौतमबुद्ध फलफूल बाटिकाको तयारीका लागि निर्माण कार्य, गुरुयोजनाअन्तर्गत अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलन तथा ध्यान हलको दोस्रो चरण र लुम्बिनी सांस्कृतिक केन्द्रको निर्माण तथा गुरुयोजनाको बाह्य विद्युतीकरणका हुन् । ठेक्का सम्झौताबमोजिम विभिन्न समयमा कोषबाट जेभीका नाममा एक अर्ब २२ करोड ५२ लाख ७६ हजार रुपैयाँ भुक्तानी भएको देखिएको छ ।

कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले नै यी सबै ठेक्का लगाएका थिए । यसबाट भट्टराईले ठेक्का जारी गरेको, मिलेमतोमा निश्चित ठेकेदारलाई ठेक्का दिलाएको र त्यहीबाट जग्गा खरिदबापत भुक्तानी भएको देखिन्छ । भट्टराईले आव ०७५/७६ अघि पनि अर्बौँका ठेक्का सोही जेभीलाई नै दिएको देखिन्छ । 

ठेकेदारको बयान : चलनचल्तीमा रहेको अनौपचारिक रूपमा इन्जिनियरले माग गर्ने र लिने रकम उपलब्ध गराएको हो
अख्तियारले बाबुल निर्माण सेवा र अर्घाखाँची जेभीका आधिकारिक व्यक्ति असिफ अहमदसँग पनि बयान गरेको थियो । उनले ८० लाख रुपैयाँ तामाङ र थापाको खातामा जम्मा गरेको बयान दिएका छन् । उनले अख्तियारसँग गरेको बयानले भने निर्माण क्षेत्रमा कर्मचारी र ठेकेदारबीच कस्तो सौदाबाजी र घुस लेनदेन हुन्छ भन्ने स्पष्ट पार्छ । उनले बयानमा भनेका छन्: 

उक्त खाता विवरण सरोज भट्टराई सरले उपलब्ध गराई रकम जम्मा गरिदिनु भनेअनुसार नै यो पैसा हालिदिएको हो । ८० लाख रुपैयाँ रकम मैले लुम्बिनी विकास कोषमा निर्माणको काम गरेको हुँदा लुम्बिनी विकास कोषमा योजना प्रमुखको रूपमा कार्यरत ई. सरोज भट्टराईले भनेअनुसार आइते तामाङ र नानीकाजी थापाको खातामा हालिदिएको हो । उक्त रकम के कुन प्रयोजनका लागि निजहरूको खातामा हाल्न लगाएको हो, उक्त कुरा सरोज भट्टराईलाई नै थाहा होला । सरोज भट्टराईकी आमाको नाममा जग्गा खरिद गर्ने कुरा मलाई जानकारी थिएन, मैले ८० लाख रकम निज सरोज भट्टराईकी आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गर्न दिएको पैसा होइन । मैले लुम्बिनी विकास कोषको ठेक्काको काम गरेको र सो काम गरेबापत योजना प्रमुख ई. सरोज भट्टराईलाई चलनचल्तीमा रहेको अनौपचारिक रूपमा इन्जिनियरले माग गर्ने र लिने रकम उपलब्ध गराएको हो । सरोज भट्टराई सरले भनेअनुसार आइते तामाङ र नानीकाजी थापाको खातामा पठाइदिएको हो । 

यद्यपि, इन्जिनियर भट्टराईले भने पिताको लुम्बिनीमा रहेको जग्गा निर्माण व्यवसायी सफिक अहमदले लिने र सोबापत उपत्यकामा जग्गा दिने भन्ने छलफल भएको आफूले सुनेको र आफूले उक्त काम गर्दा हुन्छ भनिदिएकोजस्तो लागेको दाबी गरेका छन् । पछि निर्माण व्यवसायी सफिक अहमदले उपत्यकामा जग्गा लिन नसकेपश्चात् आमाले उनीसँग लिएको रकम फिर्ता दिएको सुनेको पनि बताएका छन् । निर्माण व्यवसायीसँग चिनजान रहे पनि आर्थिक कारोबार आफू स्वयंले नगरेको र आइते तामाङको जग्गा खरिद गरेको बुझिएको बयानमा उनले बताएका छन् । 

ad
ad