दुधकोशी जलविद्युत् आयोजना प्रभावितलाई मुआब्जा दिलाउन पहल गर्छु : सांसद खतिवडा

शनिबार, २४ चैत, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले दुधकोशी जलविद्युत् आयोजनाबाट प्रभावित परिवारलाई मुआब्जा दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

दुधकोशी जलविद्युत् कम्पनी लिमिटेडले हलेसी तुवाचुङ नगरपालिकामा शनिबार आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले केही नक्कली व्यक्तिहरू खडा गरेर मुआब्जा वितरणलाई विवादित बनाउन खोजिएको र यसले निर्माण कार्यमा असर परिरहेको भन्दै वास्तविक पीडितले मुआब्जा पाउने बताए।

‘यो आयोजना बिगार्ने मनसायले समेत यहाँ मान्छेहरू छिरेका हुन्छन्,’ उनले भने, ‘वास्तविक पीडितहरूलाई पहिचान गरेर दरो रूपमा राज्य लाग्नुपर्छ।’ खतिवडाले स्थानीय जनप्रतिनिधि, सम्बधित सरोकारवालाहरूसँग बसेर वास्तविक पीडितलाई पहिचान गर्न र छिटोभन्दा छिटो निर्णयमा पुग्न ओखलढुंगा र खोटाङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिए।

देशकै लागि गौरवको दुधकोशी आयोजना सफल बनाउन जनप्रतिनिधिका रूपमा आफू निरन्तर लागिरहेको भन्दै खतिवडाले काठमाडौं फर्केर प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीसँग आयोजना पर्ने जिल्लाका जनप्रतिनिधिसहित मुआब्जाको लागि भेटेर अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता जनाए।

दुधकोशी आयोजनाको मुख्य बाँध खोटाङ र ओखलढुंगाको सीमाना पर्ने रबुवा बजारभन्दा १ किमि दक्षिणमा निर्माण हुनेछ। आयोजना ६०० मेगावाटको मुख्य विद्युत् गृह खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका– ८ मा रहनेछ।

सुझावित समाचार