सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। प्रदेश प्रमुख नजिर मियाँलाई मुख्यमन्त्री शाहले केही बेरअघि राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर, विश्वासको मत पाउने अवस्था नभएपछि उनले राजीनामा दिएका हुन्।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो। पछि, मुख्यमन्त्रीको आग्रहमा सभामुखले बैठक बेलुकी पाँच बजेका लागि सारेका थिए।
सत्तासाझेदार नागरिक उन्मुक्तिका सबै सांसदले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीले राजीनामाको विकल्प रोजेका हुन्।
राजीनामापछि पत्रकारसँग कुरा गर्दै उनले आफूले राजीनामा दिए पनि सरकार गठनका लागि कांग्रेसले जुनसुकै दलसँग सहकार्यको ढोका खुला राखेको बताए।
‘नागरिक उन्मुक्ति पार्टीको हामीप्रति विश्वास कायम छ, तर विविध कारणले केही सांसद यहाँ पुग्न नसकेका कारण संसदमा विश्वासको मत लिने वातावरण बन्न सकेन,’ उनले भने, ‘अब नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले कसरी आह्वान गर्नुहुन्छ, त्यहीअनुसार हामी अगाडि बढ्छौँ।’
यसअघि गत वर्ष मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
केन्द्रमा भएको सत्तासमीकरण फेरबदलसँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए।
नागरिक उन्मुक्तिका सातैजना सांसदको समर्थन पाउने उनले अपेक्षा गरेका थिए। उक्त पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठनिकट सांसद कैलाश चौधरी र टीका थापा काठमाडौंबाटै धनगढी आएनन्। उनीहरू केन्द्रको गठबन्धनको पक्षमा छन्।
मुख्यमन्त्री शाहले आफ्नो पार्टी कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमतका लागि आवश्यक २७ सिट पुर्याउने कसरत गरेका थिए।