मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ३ सोमबार
  • Monday, 15 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत २० मंगलबार ११:५९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

किशोरावस्थामा चाहिन्छ अभिभावकको यस्ता मार्गदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत २० मंगलबार ११:५९:००

सानो छँदा बालबालिकाले आमाबुबाले भनेका हरेक कुरालाई मान्छन् । तर, टिनएजमा उनीहरू आफैँ जिम्मेवारी लिन, सही र गलत विश्लेषण गर्न खोज्ने भइसकेका हुन्छन् । यद्यपि, उनीहरूमा परिपक्वताको कमी हुन्छ । साथै, किशोरावस्थामा पुगेपछि उनीहरूले अभिभावकलाई खतराका रूपमा लिन सक्छन् र दूरी राख्न चाहन्छन् । त्यो मनोविज्ञानलाई बुझेर अभिभावक तथा शिक्षकहरूले विशेष सल्लाह तथा मार्गदर्शन दिन जरुरी हुन्छ ।

मस्तिष्क विकास 
जसरी शरीरका अंगहरू विकास गर्न पौष्टिक तत्वहरूको आवश्यक पर्छ, त्यस्तै मस्तिष्क विकासका लागि विभिन्न तत्व चाहिन्छ । टिनएजमा मनोसामाजिक विकासको प्रभाव पर्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, सामाजिक सञ्जालमा कस्ता कुरा आउँछन् र घरपरिवारमा कस्ता गफगाफ हुन्छन्, छिमेकमा कस्ता क्रियाकलाप हुन्छन्, यस्ता कुराले टिनएजरलाई प्रभाव पारिरहेको हुन्छ । त्यसैले उनीहरू कस्तो कुरामा रमाउँछन्, कस्तो खेल्छन्, कतिखेर सुत्छन्, अभिभावकको व्यवहार कस्तो छ भन्नेले विशेष अर्थ राख्छ । यस्ता कुरालाई अभिभावकले बुझ्नुपर्ने हुन्छ । बच्चालाई निर्देशन दिने मात्रै नभएर उनीहरूका कुरा पनि गम्भीरतापूर्वक सुन्ने गर्नुपर्छ । 

किशोरावस्थाका व्यक्तिहरू आफ्नै ढंगले जीवन जिउन चाहन्छन् । त्यहीकारण, उनीहरू बाबु–आमासँग दूरी पनि बनाउँछन् । तपाईंले यो विश्वास दिलाउन जरुरी छ कि आफ्नो बच्चाले सबै विचारहरू निसंकोच आमा–बुबासँग प्रकट गर्न सक्छ । उनीहरूलाई निडर र उत्साही बनाउनु तपाईंको कर्तव्य हो । 

पछिल्लो समय टिनएजरमा जिद्दीपन पनि देखिन्छ । जे कुरा चाहेको हो, त्यो नपाउँदा निराश हुन सक्छ । सामाजिक सञ्जालको प्रभावले गर्दा पनि यस्तो हुन्छ । जस्तो फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता डिजिटल दुनियाँले उनीहरूलाई बाहिरी संसार देखाइरहेको हुन्छ । यो उमेरमा त्यस्तो कुरा महसुस हुनु स्वाभाविक हो । तर, उनीहरूलाई गलत वा सही थाहा हुँदैन । त्यस्ता कुरामा परिवार सचेत हुनुपर्छ । 

संघर्ष सिकाउनुस् 
जो चाँडै भाइरल हुन्छ, जसले चर्चाका लागि काम गर्छ, चाँडै पैसा कमाउँछ, ती कुरा नै उनीहरूको आइडल भइदिन पनि सक्छ । यस विषयमा परिवार सजग रहनुपर्छ र उनीहरूलाई सही मार्गदर्शन दिनुपर्छ । टिनएजरलाई सफलता प्राप्त गर्नका लागि संघर्ष गर्न पनि सिकाउनुपर्छ । जीवनको कुनै पनि हारलाई एप्रिसिएट गर्न हाम्रो शिक्षाले सिकाएको छैन । जीवनमा विजय हुन मात्रै तयार हुनुपर्छ भन्ने मनोविज्ञानको विकास हाम्रो समाजले गरिरहेको हुन्छ । टिनएजरलाई पनि त्यसले प्रभाव पारेको हुन्छ । स्कुल तथा कलेजमा पढ्दा पनि जहिल्यै प्रथम हुनुपर्छ भन्ने दबाबले उनीहरू थिचिएका हुन्छन् । उनीहरूलाई हार पनि जीवनको एउटा पक्ष हो र यसमा अभ्यस्त हुन सक्नुपर्छ भनेर सिकाउनुपर्छ । कतिपयले सानो असफलताबाटै कुलतमा लाग्ने, हात काट्ने, डिप्रेसन हुने, आत्महत्या गर्नेजस्ता व्यवहार पनि देखाइरहेका हुन्छन् । त्यसैले पनि हामीले असफलतामा खुसी हुने र विचलित नहुने उपाय टिनएजरलाई सिकाउन जरुरी छ । 

भावना बुझ्नुस् 
रिसलाई कसरी प्रकट गर्ने, खुसीलाई कसरी व्यक्त गर्ने, इष्र्या लाग्दा के गर्ने, आफ्ना मनोभावलाई कसरी नियन्त्रण गर्ने, कसरी सिर्जनशील बन्ने भन्ने विषय पनि अभिभावकले सिकाउनुपर्छ । यसका लागि अभिभावकले पहिले बालबच्चाका भावनालाई ध्यानपूर्वक सुन्नुपर्छ । उनीहरूलाई बेवास्ता गर्नुहुँदैन । अभिभावकले बच्चालाई पढ्न, खेल्न उत्प्रेरित गर्नुपर्छ । उनीहरूले पढ्ने पुस्तक, हेर्ने सिनेमाजस्ता कुरामा अभिभावकले पनि अभिरुचि देखाउनुपर्छ । 

उनीहरूसँग हलसम्म जाने, उनीहरूले पढेका पुस्तकका विषयमा छलफल गर्नेलगायत गर्नुपर्छ । यस्तो हुँदा उनीहरूले पनि सम्मान महसुस गर्छन् । 

कतिपयलाई स्वतन्त्रता दिँदा बच्चा बिग्रन्छ भन्ने पनि लागिरहेको हुन्छ । तर, टिनएजमा स्वाभाविक रूपमा बच्चाहरूले आमा–बुबाबाट केही स्वतन्त्रताको अपेक्षा गरेका हुन्छन् । आफैँलाई बुझ्न, खोज्न र जिम्मेवार बन्नका लािग यो जरुरी पनि छ । बाबु–आमाले बच्चालाई अनावश्यक हस्तक्षेप वा कडाइ गर्ने होइन, अनुशासित र जिम्मेवार बन्न प्रेरित गर्नुपर्छ ।