Skip This
काठमाडौं महानगरले एक वर्षमा पनि सकेन अव्यवस्थित तार व्यवस्थापन गर्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १८ आइतबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत १८ आइतबार १o:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरले एक वर्षमा पनि सकेन अव्यवस्थित तार व्यवस्थापन गर्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत १८ आइतबार १o:२२:oo

गत वैशाखमा दुई सातामा सक्ने गरी काम सुरु, जनशक्ति अभाव भन्दै ढिलाइ 

काठमाडौं महानगरपालिकाले गत वैशाखमा दुई सातामै महानगरभित्रका पोलमा भएका अव्यवस्थित तार व्यवस्थापन गर्ने भन्दै अभियान नै चलाए पनि अझैसम्म पूरा गर्न सकेको छैन । महानगरले जनशक्ति अभावका कारण यो अभियानले गति लिन नसकेको बताउँदै आएको छ ।

सुरुको दुई साता महानगरले मुख्य सडक क्षेत्र र सम्पदास्थलको तार व्यवस्थापनलाई जोड दिएको थियो । ती स्थान अहिले पनि सफा देखिन्छन् । तर, भित्री सडक र बस्ती क्षेत्रका तार व्यवस्थापन नहुँदा कुरूप एवं जोखिपूर्ण छन् । त्यसवेला महानगरले चारतिरबाट तार व्यवस्थापन सुरु गरे पनि भित्री क्षेत्र (कोर)मा भने प्रवेश नै गरेन । महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘छिटो काम सक्नका लागि छलफल, बैठक गरिरहेका छौँ । तर, जनशक्ति अभाव र सम्बन्धित निकायसँग पनि जनशक्ति अभावका कारण छिटो काम गर्न सकेका छैनौँ ।’

महानगरले त्यसवेला माइतीघरबाट तार काट्न थालेको थियो । माइतीघरबाट सुरु भएको अभियान थापाथली, टेकु–त्रिपुरेश्वर, लैनचौर र न्युरोड गेट–वसन्तपुर गरी चार क्षेत्रसम्म पुगेको थियो । २२ वैशाखमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महानगरका मेयर बालेन्द्र साह (बालेन)ले अव्यवस्थित तारका कारण आगलागीको जोखिम बढेको र सहर कुरूप बनेको भन्दै व्यवस्थापन गर्ने बताएका थिए । फेसबुकमा स्टाटस लेखिसकेपछि महानगरले २४ वैशाखमा छलफल गरेर २५ वैशाखबाटै तार व्यवस्थापन सुरु गरेको थियो । 

महानगरले तार व्यवस्थापन गर्न इन्टरनेट सेवाप्रदायक कम्पनी, नेपाल टेलिकम, विद्युत् प्राधिकरणलगायतसँग सहकार्य गरेको छ । तार व्यवस्थापनको काम सम्पदा र हाइवे क्षेत्रलाई प्राथमिकतामा राखेर सुरु गरेको थियो । काठमाडौंभन्दा अघि ललितपुर महानगरले तार व्यवस्थापन गरेको थियो । महानगरले सम्बन्धित निकायलाई तार व्यवस्थापनका लागि १५ दिन समय दिएर काम सुरु गरेको थियो । 

काटेका तार व्यवस्थापनमा कठिनाइ 
महानगरले तार व्यवस्थापनका क्रममा करिब एक सय ट्रक तार काटेको थियो । तर, उक्त व्यवस्थापन कसरी गर्ने भन्ने अन्योल बढेको छ । तरकारी खेती गर्ने एक किसानलाई एक ट्रक तार पठाए पनि बाँकी अलपत्र अवस्थामा छ । महानगरले कतैबाट तार मागे निःशुल्क उपलब्ध गराउने जनाएको छ । सम्बन्धित क्षेत्रमै आफैँले पुर्‍याउनेसमेत महानगरले जनाएको छ । 

ललितपुरले सात दिनमै गर्‍यो तार व्यवस्थापन
उपत्यकाकै अर्को महानगर ललितपुरले भने सात दिनमै अव्यवस्थित तार व्यवस्थापन गरेको थियो । गत १८ फागुनमा तार व्यवस्थापन सुरु गरेको ललितपुरले २५ फागुनमै सकेको थियो । तार व्यवस्थापनपछि नगर क्षेत्र सुन्दर देखिनुका साथै आगलागीको जोखिम पनि कम भएको ललितपुर महानगरले जनाएको छ । तार व्यवस्थापनअघि १७ फागुनमा ललितपुरले इन्टरनेट सेवाप्रदायक कम्पनी, नेपाल टेलिकम, विद्युत् प्राधिकरणलगायतलाई बोलाएर छलफल गरेको थियो । छलफलका क्रममा मेयर चिरिबाबु महर्जनले १० दिनभित्र सम्पदा क्षेत्रमा भएका तार व्यवस्थित गर्न निर्देशन दिएका थिए । निर्देशनअनुसार महानगरले सात दिनमै अव्यवस्थित तार व्यवस्थापन गरेको थियो । ललितपुरले समयअगावै तार व्यवस्थापन सक्दा काठमाडौंले भने एक वर्ष बित्न लाग्दा पनि व्यवस्थापन गर्न सकेको छैन । प्रवक्ता मानन्धरले भने, ‘हामीले मुख्य ठाउँका तार व्यवस्थापन नै गर्न सकेनौँ । त्यसैले अन्तरनिकाय बैठक बसेर भए पनि यो कामलाई छिट्टै सक्ने गरी अगाडि बढ्छौँ ।’