१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:३५:oo

राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षका विषयमा जानकारी दिने उद्देश्यले  रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको नवौँ संस्करण सम्पन्न भएको छ।

गत ३० फागुनबाट सुरु भएको सिरियल नम्बर ९ को तालिम शुक्रबार सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा सम्पन्न भएको हो। रक्षामन्त्री हरिप्रसाद उप्रेतीको आतिथ्यमा तालिम सम्पन्न भएको हो।

समापन कार्यक्रममा बोल्दै मन्त्री उप्रेतीले सुरक्षा बहुआयामिक, अन्तरसम्बन्धित र बहुनिकायसँग सरोकार राख्ने विषय भएकाले सुदृढ राष्ट्रिय सुरक्षाका लागि राज्यका सम्बन्धित निकायहरूबीच सुरक्षासम्बन्धी विषयमा साझा बुझाइ र साझा धारणाको विकास गर्न यस्तो तालिमले महत्वपूर्ण योगदान दिने बताए। निरन्तर संवाद, समन्वय र सहकार्य हुन आवश्यक रहेको र सबैको सक्रिय प्रयासबाट राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन भई मुलुकमा आन्तरिक तथा बाह्य सुरक्षा सुदृढ हुने उनको भनाइ छ।

राष्ट्रिय सुरक्षाका लागि राष्ट्रिय शक्तिको मुख्य तत्वहरू अर्थतन्त्र, कूटनीति, सूचना र सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधनस्राेतले सम्पन्न गराउँदै समुचित रूपमा राष्ट्रिय हितमा प्रयोग गरी विद्यमान राष्ट्रिय सुरक्षा चुनौतीहरूको डटेर सामना गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले रणनीतिक तहमा रहेका नेतृत्व वर्गहरूमा सामरिक सोचलाई थप परिष्कृत गर्दै लैजान सकिएमा राष्ट्रिय शक्तिका प्रमुख तत्वहरूको सामञ्जस्यताले भयरहित सुरक्षा वातावरण सिर्जना भई राष्ट्रिय हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने कार्यलाई थप प्रभावकारी बनाउन सकिने बताए। सामरिक सोच र संस्कृतिको विकास गरी रणनीतिक तहको नेतृत्व उत्पादन गर्ने उद्देश्यले नेपालमै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागिएकोसमेत उनले जानकारी गराए।

भूमण्डलीकरण र सूचना प्रविधिको विकाससँगै आएको परिवर्तनले राष्ट्रिय सुरक्षाको दायरा थप फराकिलो बन्दै गएको र परम्परागत सुरक्षा खतराहरूको साथै, जलवायु परिवर्तन, महामारी, साइबर थ्रेट, आतंकवादका परिष्कृत प्रवृत्तिजस्ता नयाँ प्रकृतिका अपरम्परागत चुनौतीहरूसमेत क्रमिक रूपमा थपिने प्रधानसेनापति शर्माको भनाइ छ।

कलेजका शिक्षाध्यक्ष उपरथी बाबुराम श्रेष्ठले  तालिमको दौरान विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षाका आयाम र त्यसमा पनि नेपालको सुरक्षा चासो, चुनौती, अवसर तथा भविष्यमा चाल्नुपर्ने कदमका विषयमा रचनात्मक तवरबाट छलफल र विश्लेषण गरिएको जानकारी गराए। तालिमले भोलिका दिनमा नीति निर्माणमा पनि सहयोग पुग्ने उनको विश्वास छ। 

तालिममा विभिन्न मन्त्रालय, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा  गैरसरकारी संस्थाका २९ प्रतिनिधिको सहभागिता थियो।

ad
ad