
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच दुई दिनमा दुई भेटवार्ता भएका छन् । गत २१ फागुनमा कांग्रेससँगको समीकरण भत्किएपछि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीचको पहिलो भेटवार्ता हो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार भएको भेटमा संक्रमणकालीन न्याय, संघीय संसद्लाई सहज रूपमा सञ्चालन गर्नेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले संसद्लाई प्रभावकारी रूपमा सञ्चालनका लागि देउवालाई आग्रह गरेका छन् ।
‘संक्रमणकालीन न्याय, संवैधानिक परिषद्को बैठक, संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो,’ उनले भने, ‘संसद्को हिउँदे अधिवेशनमा विधेयक प्रस्तुत र पारित गर्नुपर्ने भएकाले प्रतिपक्ष दलका नेतासँग छलफल भएको हो । प्रधानमन्त्रीज्यूले सहयोगको आग्रह गर्नुभएको छ ।’
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले टिआरसी विधेयक र संसद् गतिरोध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको बताए । ‘हिजो र आज प्रधानमन्त्री र सभापतिज्यूबीच भेट भएको हो ।
भेटमा मुख्य रूपमा संसद्को गतिरोध अन्त्य कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो,’ उनले भने, ‘त्यसबाहेक समसामयिक विषयमा उहाँहरूबीच कुराकानी भयो । शीर्ष तहको भेटमा सबै विषय छलफल हुने नै भए । छलफल सकारात्मक दिशामा अगाडि बढेको छ ।’ कांग्रेसले गृहमन्त्रीमाथि सहकारी प्रकरणमा संसदीय छानबिनको माग गर्दै आएको छ ।