Skip This
लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न पर्यटनमन्त्री तामाङको निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १० शनिबार
  • Saturday, 27 July, 2024
दीपेश पछाई लुम्बिनी
२o८o चैत १० शनिबार १७:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न पर्यटनमन्त्री तामाङको निर्देशन

Read Time : < 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
नयाँ पत्रिका
२o८o चैत १० शनिबार १७:३४:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी विकास कोषका पछिल्ला गतिविधि र अवस्थाबारे जानकारी लिएका छन्।

मन्त्री नियुक्त भएपछि पहिलोपटक गैरआवासीय र वाणिज्यदूतहरूको लुम्बिनी सम्मेलनका सन्दर्भमा लुम्बिनी आएका तामाङले शनिबार कोषका पछिल्ला गतिविधिबारे जानकारी लिएका हुन्।

सो अवसरमा मन्त्री तामाङले गुरुयोजना कार्यान्वयन नभएकोमा सर्वत्र आलोचना भइरहेको उल्लेख गर्दै यसलाई कार्यान्वयन गर्न निर्देशन दिए। बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रो. केन्जो टांगेले तयार पारेको गुरुयोजनाका बाँकी काम पूरा गर्ने गरी बजेट सुनिश्चितताका लागि आफूले पहल गर्ने उनको आश्वासन थियो।

मन्त्री तामाङले गुरुयोजनाविपरीत संरचना बनेको, युनेस्कोको असहमति रहेकाजस्ता विषयहरू आइरहेकाले यसबारेमा आफ्नो ध्यानाकर्षण भएको बताए। लुम्बिनी विकास क्षेत्रको विकासका लागि उपाध्यक्षसहितको टिमसँग मिलेर काम गर्न तयार रहेको उनले बताए। टिमवर्कले मात्रै नतिजा निकाल्न सकिने भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरे।

कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले गुरुयोजनाबारे ब्रिफिङ गर्दै लुम्बिनीमा आफू आएपछि केही सुधारका कामहरू भइरहेको बताए। गुरुयोजनाका बाँकी काम पूरा गर्न पर्याप्त बजेट आवश्यक भएकाले त्यसका लागि पहल गर्नुपर्ने उनको भनाइ थियो।

लुम्बिनीमा लामो समयसम्म कार्यरत कर्मचारीहरूको कमजोरीका कारण कोषका पदाधिकारीहरूले दोष पाउने गरेको भन्दै उपाध्यक्ष लामाले गुनासो गरे। स्थानीयको गुनासोलाई कोषले बेवास्ता गर्दा कोष र स्थानीयबीचको दूरी बढेकोतर्फ पनि उनले ध्यानाकर्षण गराए।

मन्त्रीसँगको छलफलमा कोषका सदस्यसचिव सानुराजा शाक्यले कोषका हालसम्मका गतिविधि र यसको कार्यक्षेत्रलगायतका विषयमा जानकारी दिएका थिए।