नेपाल सुनचाँदी व्यवसायी महासंघको सुदूरपश्चिम प्रदेश सभापतिमा सन्तोष लामिछाने पुनः चयन भएका छन्। कैलालीको गोदावरीमा सम्पन्न महासंघको प्रदेश अधिवेशनले लामिछानेलाई दोस्रो कार्यकालका लागि पुनः सभापतिमा चयन गरेको हो।
अधिवेशनबाट लामिछानेको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। समितिको उपभापतिमा अर्जुन सुनार गहतराज र दिवसजंग स्नेही, सचिवमा सकुन्तला सोप, सहसचिवमा दिनेश सोप, कोषाध्यक्षमा उमेश सुनुवार र सहकोषाध्यक्षमा दीप पौडेल चयन भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा टीकाराम विश्वकर्मा, सुरेश सुनार, पदम दयाल र चाँदनीकुमारी ठाकुर चयन भएका निर्वाचन समितिले जनाएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक समारोहबीच अधिवेशन उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा मुख्यमन्त्री शाहले सुनचाँदी व्यवसायीका समस्या समाधानका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए। उनले सुनचाँदी व्यवसायलाई मर्यादित र सुरक्षित बनाउनुपर्नेमा जोड दिँदै सुनचाँदी व्यवसायलाई राज्यले सम्मान दिनुपर्ने धारणा राखे।
समारोहमा संविधानसभा सदस्य हरि श्रीपाइली, नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दीपेन्द्र रामुदामु, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका वरिष्ठ उपाध्यक्ष मदन पन्तलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अधिवेशन उद्घाटनमा महासंघले सुनचाँदी व्यवसायीलाई सम्मानसमेत गरेको थियो।