१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ३ शनिबार १४:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभामा कांग्रेसलाई समेटेर राष्ट्रिय सहमति, कमला पन्तविरुद्ध गठबन्धनले दिएन उम्मेदवारी

सरोकार समितिमा एमालेका शेर्पा र दिगो विकास समितिमा पन्तको उम्मेदवारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ३ शनिबार १४:०७:००

शेर्पालाई कांग्रेसको समर्थन, पन्तको समर्थकमा एमाले सांसद 


देशमा राजनीतिक ध्रुवीकरण बढिरहेका वेला माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू राष्ट्रिय सहमतिका साथ अगाडि बढेका छन्।

२१ फागुनमा कांग्रेससँगको सहकार्य तोडेर माओवादी केन्द्रले एमालेसहितको गठबन्धन बनाएपछि ध्रुवीकरण बढेको छ। प्रमुख प्रतिपक्षी कांग्रेसले तल्लो सदन प्रतिनिधिसभा अवरुद्ध गरेको छ। तल्लो सदन, राजनीतिक क्षेत्र तथा विभिन्न निकायमा समीकरण फेरबदलले परिस्थिति परिवर्तन भएका वेला माथिल्लो सदनमा भने दलहरूको सहमतिले निरन्तरता पाएको हो।

सहमतिलाई अगाडि बढाउँदै दलहरूले राष्ट्रिय सभामा रिक्त रहेका संसदीय समितिको सभापतिमा प्रतिस्पर्धा नहुने गरी भागबन्डा गरेर उम्मेदवारी दिएका छन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा एमालेका सोनामगेल्जेन शेर्पाको उम्मेदवारी परेको छ भने विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कांग्रेसकी कमला पन्तको उम्मेदवारी परेको छ।

शेर्पालाई माओवादीका गोपीबहादुर सार्की आछामी, एमालेकी इन्दिरादेवी गौतम र कांग्रेसकी दुर्गाकुमारी गुरुङले समर्थन गरेका छन्। पन्तलाई कांग्रेसका नारायणदत्त भट्ट र एमालेकी शारदादेवी भट्टले समर्थन गरेका छन्।

राष्ट्रिय सभामा एमाले दलका नेता देवेन्द्र दाहालले सभामा राष्ट्रिय सहमति कायम रहेको बताए। ‘माथिल्लो सभामा दलहरू एकमत छन्, राष्ट्रिय सहमति छ,’ उनले भने, ‘आजको उम्मेदवारीले यसलाई निरन्तरता दिएको छ। सहमतिबाट सभाको गरिमा बढाउने हाम्रो प्रयास हो।’

विकास तथा सुशासन समिति सभापति उम्मेदवार पन्तले पनि पहिलेको सहमतिलाई निरन्तरता दिएर अगाडि बढेको बताइन्। ‘राष्ट्रिय सभाका चारवटा समिति चार ठूला दलले बाँडेर लिने सहमति हो। फागुन २० मा एमाले र कांग्रेसले प्रतिनिधित्व गरेको समितिको सभापति पद रिक्त भयो। रिक्त पदमा सहमतिअनुसार एमाले र कांग्रेसबाट उम्मेदवारी परेको हो। राष्ट्रिय सभा विशिष्ट सभा भएकाले सहमतिबाट चलाउनुपर्छ भन्ने हामी सबैको स्पिरिट हो,’ उनले भनिन्।

यसअघि सरोकार समितिमा एमालेकी दिलकुमारी रावल र दिगो विकास समितिमा कांग्रेसका प्रकाश पन्थ सभापति थिए। दुवैको कार्यकाल २० फागुनमा सकिएपछि आइतबार निर्वाचन हुँदै छ। दुवै पदमा सहमतिका आधारमा उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनेछन्।

यसअघि समीकरण फेरिँदा राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा भने सत्तागठबन्धन र कांग्रेस भिडेका थिए। गठबन्धनबाट नारायणप्रसाद दाहाल र कांग्रेसबाट युवराज शर्मा भिड्दा दाहाल अध्यक्ष निर्वाचित भएका थिए। कांग्रेसले अध्यक्षको निर्वाचनका सन्दर्भमा आफूहरूसँग छलफल नगरेको गुनासो गरेको थियो। छलफल गरेर वर्तमान उपाध्यक्ष उर्मिला अर्याललाई अध्यक्षमा अघि सारेको भए कांग्रेसले उम्मेदवारी नदिएर सघाउने अवस्था रहेको जानकारी कांग्रेसले सभामा गराएको थियो।