नेप्से र कारोबार रकम दुवै घट्यो

२०७६ बैशाख २६ बिहीबार ०९:०८:००

बुधबार नेप्से परिसूचक शून्य दशमलव २८ प्रतिशत घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन करिब ७३ करोडबराबरको कारोबार भएको बजारमा यस दिन करिब ५१ करोडको मात्र सेयर कारोबार भएको छ । अघिल्लो दिन १ हजार ३ सय बिन्दुभन्दा माथि बजार बन्द भएको थियो । लगानीकर्ताहरूले सो बिन्दुलाई मनोवैज्ञानिक बिन्दुको संज्ञा दिएका छन् । मंगलबार सो बिन्दुभन्दा माथि बजार बन्द भएका कारण लगानीकर्ताहरूले यस दिन बजार बढ्ने अपेक्षा गरेका थिए । तर, बजारमा नाफा सुरक्षित गर्ने अल्पकालीन लगानीकर्ताहरू हाबी भएपछि बजारमा करेक्सन भएको हो ।

यस दिन प्रकाशित भएको वित्तीय विवरणले बजारलाई प्रभावित पारेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिसम्ममा उल्लेख्य नाफा वृद्धि गर्न सफल कम्पनीहरूतर्फ यस दिन लगानीकर्ताहरू आकर्षित भएका छन् । बजार खुलेको केही समयपछि ओरालो लागेको नेप्से मध्याह्नपछिको समयमा उकालो लागेको थियो । तर, सो गतिलाई निरन्तरता दिन नसकेपछि अन्तिम समयमा नेप्से पुनः ओरालो लागेर बन्द भएको हो । 

बजार सारांशः यस दिन नेप्से परिसूचक ३ दशमलव ६८ अंक घटेर १ हजार २ सय ९७ दशमलव ६० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव १७ अंक घटेर २ सय ७८ दशमलव शून्य ७ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ४ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४४ अंक घटेको छ । यस दिन १ सय ७५ कम्पनीको ६ हजार ७ सय ६५ पटकको कारोबारमा ५० करोड ७९ लाख ३४ हजार ९ सय १९ रुपैयाँबराबरको १९ लाख ७ हजार ७ सय ८३ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ७० दशमलव ३८ स्केलमा पुगेको छ । ओभरबट जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद चाप बढी रहेको संकेत गर्छ । 

एडी रेसियोः यस दिन नेप्सेको एडी रेसियो शून्य दशमलव ५४ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । कारोबारमा आएका १ सय ७५ कम्पनीमध्ये यस दिन ५३ कम्पनीको सेयरमूल्य बढेको छ भने ९८ कम्पनीहरूको सेयरमूल्य घटेको छ । बाँकी २४ कम्पनीहरूको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिन नेप्सेको पिभट बिन्दु १ हजार २ सय ९९ दशमलव शून्य ३ रहेको छ । बिहीबार नेप्से ओरालो लागे १ हजार २ सय ९३ दशमलव ६८ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने सो बिन्दुभन्दा तल ओर्लिए १ हजार २ सय ८९ दशमलव ७६ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, आगामी दिनका लागि पहिलो प्रतिरोध बिन्दु १ हजार ३ सय २ दशमलव ९५ रहेको छ भने दोस्रो प्रतिरोध बिन्दु १ हजार ३ सय ८ दशमलव ३० रहेको छ । 

 हिमालयनको सेयरमूल्यमा सर्किट

कारोबारमा आएको हिमालयन डिस्टिलरीको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । मंगलबार पनि यस कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । नबिल इक्विटी फन्ड र सिभिल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ । मल्टीपर्पोज फाइनान्स कम्पनीको सेयरमूल्य यस दिन ९ दशमलव ५५ प्रतिशत घटेको छ । त्यसैगरी, तारागाउँ रिजेन्सी होटेल, पाँचथर पावर कम्पनी र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।  

 सिभिल र मेगामा लगानीकर्ता आकर्षित

यस दिन लगानीकर्ताहरू सिभिल र मेगा बैंकतर्फ आकर्षित भएका छन् । कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन सिभिल बैंक लिमिटेड अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा मेगा बैंक अगाडि रहेको छ । यस दिन सिभिल बैंकको ४ सय ३४ पटकको कारोबारमा ५ करोड ५३ लाख २० हजार रुपैयाँबराबरको ३ लाख ६६ हजार ६ सय ५० कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, तेस्रो त्रैमाससम्ममा उल्लेख्य नाफा आर्जन गर्न सफल वित्तीय विवरण प्रकाशित गरेको मेगा बैंकको यस दिन ७ सय ५ पटकको कारोबारमा ४ करोड ९६ लाख ६४ हजार रुपैयाँबराबरको २ लाख ५४ हजार २ सय ८४ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

८ समूहको परिसूचक घट्यो

यस दिन कारोबारमा आएका ११ समूहमध्ये ८ समूहको परिसूचक घटेको छ भने ३ समूहको परिसूचक बढेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन सर्वाधिक ३ दशमलव शून्य ४ प्रतिशत बढेको छ । हिमालयन डिस्टिलरीको सेयरमूल्य बढेपछि यस समूहको परिसूचक बढ्न टेवा पुगेको हो । व्यापार समूहको परिसूचक यस दिन १ दशमलव शून्य ६ प्रतिशत र अन्य समूहको शून्य दशमलव ४९ प्रतिशत बढेको छ । 

होटेल समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ६१ प्रतिशत घटेको छ । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक १ दशमलव ४५ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ५ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ४७ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ३२ प्रतिशत, वित्त समूहको शून्य दशमलव २९ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव २५ प्रतिशत घटेको छ । जीवन बिमा समूहको परिसूचक भने यस दिन शून्य दशमलव १८ अंक घटेको छ ।