१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मधेशमा १५ हजार सवारी दुर्घटना हुँदा झन्डै १५ सयको मृत्यु

ट्राफिक प्रहरी राजस्व असुलीमा केन्द्रित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:४८:oo

बारालगायत मधेश प्रदेशका जिल्लाहरूमा सवारी दुर्घटनामा वृृद्धि भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराको पछिल्लो तीन वर्षको तथ्यांकले सवारी दुर्घटनाको अवस्था डरलाग्दो देखाएको छ।

आर्थिक बर्ष ०७८-७९ मा मधेश प्रदेशका आठ जिल्लामा पाँच हजार ७११ सवारी दुर्घटना हुँदा ५८५ जनाको मृत्यु भएको छ। आव ०७९-८० मा ५ हजार ९ सय ८८ सवारी दुर्घटनामा परी ५ सय ४६ जनाले ज्यान गुमाउँदा चालु आव ०८०-८१ को माघसम्म तीन हजार ६१२ सवारी दुर्घटनामा २९० जनाले ज्यान गुमाएका छन्।

यो अवधिमा मधेश प्रदेशमा मात्रै १५ हजार ३११ सवारी दुर्घटना हुँदा एक हजार ४२१ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ। प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना धनुषामा भएको छ। प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा यहाँ २३३ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा चार हजार एक सय ६४ जना घाइते भएका छन्।

सो अवधिमा बारामा २३३ जनाको मृत्यु हुँदा तीन हजार पाँच सय ४८ जना गम्भीर घाइते भएका छन्। सर्लाहीमा १८३, सप्तरीमा १७८, सिराहामा १७१, महोत्तरीमा १६०, रौतहटमा १५२ र पर्सामा १११ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन्।

दुर्घटनाको मुख्य कारण क्षमताभन्दा बढी यात्रु बोक्नु, मादकपदार्थ सेवन तथा तीव्र गति र चालकको लापरवाही रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले जनाएको छ। जनचेतना भए पनि कानुन कार्यान्वयन फितलो हुँदा मनपरी गर्ने प्रवृत्ति बढ्दै गएपछि दुर्घटनाको संख्यामा बृद्धि भएको ट्राफिक प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले बताए।

सवारी दुर्घटनाको संख्यामा बृद्धि भएपछि ट्राफिक कार्यालय पथलैयाले दुर्घटना न्यूनीकरण गर्न आफ्नो मातहतको आठवटै जिल्लामा चेकजाँचलाई निरन्तरता दिन निर्देशन दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए।

सडक दुर्घटना न्यूनीकरणका लागि सिसिटिभीसँगै जडान गरिएको राडर गनको प्रयोगबाट ट्राफिक प्रहरीले यातायातका साधनको गति मापनसमेत गर्ने गरेको छ । यसको प्रयोगले दुर्घटना न्यूनीकरणमा प्रभावकारी हुने ट्राफिक प्रहरी कार्यालय पथलैयाको दाबी छ। तर, गत जेठबाट मधेश प्रदेश सरकारले मधेश प्रदेशको पाँचमध्ये पथलैया र अन्य स्थानमा जडान गरीदिएको सिसिटिभी र राडर गन भने बिग्रिएको छ। यसको मर्मतमा सम्बन्धित निकायको ध्यान गएको छैन।

ट्राफिक प्रहरी राजस्व असुलीमा केन्द्रित
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र मातहतका कार्यालयहरु दुर्घटना न्यूनीकरणभन्दा राजस्व संकलनमा बढी केन्द्रित हुन थालेको देखिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई गत आर्थिक वर्षभन्दा पाँच प्रतिशत वढी राजस्व संकलन गर्न लक्ष्य दिइएको छ। जसका कारणसमेत ट्राफिक प्रहरी राजस्व संकलनमा केन्द्रित भएका हुन्। ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा कार्य र ध्यान दिनुपर्ने कार्यालयलाई राजस्वको लक्ष्य दिँदा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा भन्दा राजस्व संकलनमा बढी केन्द्रित देखिएको हो।

सडकमा खटिएका ट्राफिक प्रहरीलाई चेकिङका नाममा कार्यालयले दिएको लक्ष्यअनुसारको रकम उठाउन हम्मे–हम्मे पर्ने गरेको प्रहरीको भनाइ छ। एक अधिकारीले भने, ‘अफिसले राजस्वको लक्ष्य दिएको हुन्छ, त्यो पूरा नगरी सुख छैन। फेरि हाकिमको गाली छँदै छ, त्यही भएर बाध्य भएर चिट काट्नै पर्छ।’

चालू आवमा मधेश प्रदेशका ट्राफिकलाई २८ करोड २१ लाख २० हजार ८ सय २५ रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ट्राफिक नियम कार्यान्वयनमा जोड दिनुपर्ने भए पनि नियम उल्लंघनका नाममा प्रहरी चिट काट्न व्यस्त रहेको प्रहरी अधिकारी नै स्वीकार गर्छन्। जति धेरै राजस्व संकलन गर्न सक्यो त्यति नै प्रहरी सक्रियता देखिने भन्ने मानसिकताका कारण मधेशमा दुर्घटना बढ्नुका साथै नागरिकले अनावश्यक झन्झट व्यहोर्नुपरेको सर्वसाधारणले गुनासो गरेका छन्।

यस्तो छ राजस्व संकलनको अवस्था
मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराको तथ्यांकले समेत ट्राफिक प्रहरी राजस्व संकलनमा केन्द्रित रहेको देखाउँछ। उक्त कार्यालयले आर्थिक वर्ष २०७८-०७९ मा २२ करोड ४४ लाख ४० हजार ५ सय राजस्व संकलन गरेको थियो।

यस्तै, मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९-०८० मा २६ करोड ८६ लाख ८६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको थियो भने चालू आर्थिक वर्ष २०८०-०८१ को माघसम्ममा १२ करोड ७ लाख ८७ हजार ७ सय २ रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयको तथ्यांकअनुसार आव २०७८-०७९ को तुलनामा आव २०७९-०८० मा चार करोड बढी राजस्व संकलन गर्न सफल भएको कार्यालयका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए। आव २०७८-०७९ मा २ लाख ६४ हजार ३ सय १० वटा सवारीसाधन कारबाहीमा परेका थिए। यस्तै, आव २०७९-२०८० मा ३ लाख ५३ हजार १ सय ८३ वटा र चालू आवको हालसम्म एक लाख ४१ हजार १ सय ३१ वटा सवारीसाधनहरू कारबाहीमा परेकाे कार्यालयको तथ्यांकमा उल्लेख छ।

ad
ad