१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जोर्डनविरुद्धको फाइनलमा सावित्रा नखेल्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२२:oo

 स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले वेस्ट एसियन फुटबल महासंघ वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छिन् । साउदी अरेबियामा चलिरहेको प्रतियोगिताको फाइनल खेलमा नेपालले आज राति जोर्डनको सामना गर्दै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्राले फाइनल गुमाउने पुष्टि गरेको हो । ‘फिफा विन्डोअन्तर्गत फाइनल खेल नपर्ने हुँदा क्लबसँगको सम्झौताअनुसार सावित्रा टोलीमा नहुने भएकी हुन्,’ एन्फाले भनेको छ ।

सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एन एभान्ट गेङ्गाम्पमा अनुबन्ध छिन् । क्लबले फिफा विन्डोमा मात्रै उनलाई फुकुवा गरेका कारण फाइनल गुमाउने भएकी हुन् । उनी फाइनल छाडेर फ्रान्स फर्किनेछिन् । ‘हामीले उनलाई टोलीमै राख्न धेरै प्रयास गरेका थियौँ । गेङ्गाम्पको प्रशिक्षकसँग पनि कुरा भयो । प्रशिक्षकले सहमति जनाएका थिए । तर, क्लब मालिकले नछाड्ने आदेश दिएपछि उनी फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन्,’ एन्फाका एक पदाधिकारीले नयाँ पत्रिकासँग भने । 

अपराजित रहँदै फाइनल पुगेको नेपाल आज जोर्डनसँग उपाधिका लागि भिड्दैै, नौ गोल गर्दै उच्च गोलकर्ताको शीर्ष स्थानमा रहेकी सावित्रा भण्डारी भने फाइनलमा नदेखिने

प्रतियोगिताको समूह चरण र सेमिफाइनलका खेलहरू फिफा विन्डोभित्र परे पनि फाइनल भने परेको छैन । त्यसैले सम्झौताअनुसार सावित्रा क्लब फर्केकी हुन् । उनी डेढ वर्षका लागि यसै वर्ष फ्रान्स क्लबसँग अनुबन्ध भएकी हुन् । सावित्रा नेपाली फुटबलमा ५० अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो खेलाडी हुन् । नेपालले सेमिफाइनलमा लेबनानलाई २–१ ले हराउँदै पाँचपटकको जोर्डनसँगको फाइनल भेट पक्का गरेको थियो । मंगलबार राति नेपाल पहिलो हाफमा १–० ले पछि परे पनि दोस्रो हाफमा फर्किएको थियो । सावित्रा र प्रीति राईले गोल गरेपछि नेपाल खेलमा पुनरागमन गर्न सफल भएको हो । 

नौ गोल गरेकी सावित्रा प्रतियोगिताको सर्वाधिक गोलकर्ता हुन् । फाइनलमा उनको अभाव खड्किने कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा बताउँछिन् । ‘सावित्रा भन्नेबित्तिकै विपक्षीको मनोबल नै अर्कै हुन्छ । अब, फाइनलमा उनी नहुने भएपछि अग्रपंक्तिमा पक्कै समस्या हुन्छ,’ एन्जिलाले भनिन्, ‘तर हामी फाइनल जित्न प्रयास गर्छाैं । अन्य खेलाडीलाई प्रमाणित गर्ने अवसर पनि हो ।’ नेपालले समूह चरणमा सिरियालाई ४–१, इराकलाई ५–० र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।

गोलकिपर एन्जिलाको कप्तानीमा नेपाल ऐतिहासिक उपाधि जित्ने योजनामा छ । त्यसका लागि जोर्डनको चुनौती पन्छाउनु पर्नेछ । ‘हाम्रा लागि चुनौती र अवसर उत्तिकै छ । यसपटक आफ्नो शतप्रतिशत दिँदै उपाधि जित्न खेल्नेछौँ,’ एन्जिलाले भनिन् । महिला फुटबलको इतिहासमा नेपाल १० पटक फाइनल खेले पनि उपाधि जित्न सकेको छैन । राजेन्द्र तामाङको प्रशिक्षणमा नेपाललाई उपाधि जित्ने अवसर छ । 

ad
ad