Skip This
राष्ट्रिय सभा अध्यक्षमा दाबी नछाड्न माओवादी नेताहरूको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १६ बुधबार o६:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभा अध्यक्षमा दाबी नछाड्न माओवादी नेताहरूको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार o६:५o:oo

माओवादीका स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभा अध्यक्ष पद आफ्नै पार्टीले पाउनुपर्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकमा सहमागी अधिकांश नेताले अध्यक्ष पद छाड्न नहुने बताएका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको पदावधि यही २० फागुनमा सकिँदै छ । तिमल्सिनासहित २० सांसद बिदा हुँदै छन् । यसअघि मन्त्रिपरिषद्बाट मनोनीतबाहेक १९ सदस्य निर्वाचित भइसकेका छन् । २० फागुनपछि राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी पहिलो, १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो, आठ सांसदसहित एकीकृत समाजवादी चौथो, तीन सांसदसहित जसपा पाचौँ दल हुनेछन् । लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एकजना छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम स्वतन्त्र सांसदको हैसियतमा छन् । राष्ट्रपतिबाट एक सिट मनोनीत हुन बाँकी छ । गठबन्धनबीच उक्त सिट जनमोर्चालाई दिने सहमति छ ।

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले नेताहरूले बैठकमा राष्ट्रिय सभा अध्यक्ष पद छाड्न नहुने धारणा राखेको बताए । ‘राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका बारेमा छलफल भयो । र, त्यस सम्बन्धमा अन्तिम निर्णय भोलि (बुधबार) हुन्छ ।’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बैठकलाई सम्बोधन गरेर समापन गर्ने तयारी छ ।

प्रदेश इन्चार्जमा नयाँ नेता पठाउने प्रस्ताव
बैठकमा पार्टी नेताहरूको कार्यविभाजन, भावी योजनालगायतका विषयमा पनि छलफल भएको छ । प्रदेश इन्चार्जमा नयाँ नेतालाई पठाउने प्रस्ताव बैठकमा पेस भएको छ । कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम प्रस्ताव भएको छ । बुधबार बस्ने बैठकले प्रस्ताव पारित गर्नेछ । 

अभियान सञ्चालनबारेमा पनि छलफल भएको छ । माओवादीले मधेश जागरण र उत्तर–दक्षिण अभियान सञ्चालन गर्दै छ । चैत र वैशाखमा १५–१५ दिन दुई अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ । १ देखि १५ चैतमा हुने तराई–मधेश जनजागरण र १ देखि १५ वैशाखमा हुने उत्तर–दक्षिण अभियान सञ्चालन हुनेछ । मधेश जागरण अभियान हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि पश्चिमसम्म हुनेछ । अभियानमा केन्द्रीय नेताका साथै सांस्कृतिक टिम पनि सहभागी गराउने तयारी छ । उत्तर–दक्षिण अभियानअन्तर्गत हिमाल–पहाड–तराई जोडेर राष्ट्रिय अभियान सञ्चालन हुनेछ । ‘यसअघि सम्पन्न माओवादी विशेष रुपान्तरण अभियानमा कार्यकर्ता तहमा फोकस भयौँ । अब जनतामा जाने गरी अभियान चलाउँदै छौँ । उक्त अभियानको ठोस कार्यक्रम तय गर्नेछौँ,’ सापकोटाले भने ।