Skip This
बागमतीमा बजेट कार्यान्वयनमा कुरा मिलेन, सर्वदलीय बैठक पुन: निष्कर्षविहीन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १५ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण १५ मंगलबार १२:५९:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीमा बजेट कार्यान्वयनमा कुरा मिलेन, सर्वदलीय बैठक पुन: निष्कर्षविहीन

२ बजेसम्म सहमति कार्यान्वयनको प्रतिबद्धता नभए सदन चल्न नदिने विपक्षीको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १५ मंगलबार १२:५९:oo

बजेट कार्यान्वयनमा सरकार र विपक्षी दलहरूबीच भएको सहमति कार्यान्वयनका लागि भन्दै बागमती प्रदेश सभा सचिवालयमा मंगलबार बिहान बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ।

यसअघि आइतबार पनि सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकमा संसदीय समितिको सभापति चयनका विषयमा सहमति जुटे पनि बजेट कार्यान्वयन र आज ३ बजेबाट सुरु हुने हिउँदे अधिवेशनलाई नियमित गर्ने विषयमा सहमति जुट्न सकेको थिए।

सरकार र प्रतिपक्ष दलबीचको विवाद समाधान गर्न आज बिहान दुई घण्टा बसेको सर्वदलीय बैठकले पनि ठोस निष्कर्ष दिन नसकेको हो। बैठकमा सरकार र प्रतिपक्ष दलहरूबीच सहमति कार्यान्वयनका लागि विकल्पसहित छलफल भएको थियो। बैठकमा विपक्षी दलहरूले दिएको योजनाहरूमा सोझै बजेट दिने वा पूरक बजेट ल्याउने भन्ने विषयमा छलफल भएको थियो।

आजको छलफल सकारात्मक भए पनि ठोस निचोड निस्कन नसकेको बैठकमा सहभागी एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए। उनले सरकार र प्रतिपक्ष दलबीच बजेट पारित गर्दाको समयमा भएको तीनबुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न विपक्षी दलहरूले माग गरेको बताए।

सरकारले भने सो सहमति कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्दै फरक ढंगबाट अघि बढ्न विपक्षी दलहरूलाई आग्रह गरेको नेता खनालको भनाइ छ।

सहमति कार्यान्वयन गर्न विपक्षीको २ बजेसम्मको अल्टिमेटम
यसैबीच विपक्षी दलहरुरूले सरकारलाई आफूहरूसँग गरेको सहमति कार्यान्वयन गर्न दबाब दिएका छन्। उनीहरूले आज २ बजे हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघिसम्म सहमति कार्यान्वयनको प्रतिबद्धता नआए सदन चल्न नदिने चेतावनी दिएका छन्।

प्रदेश सभा बैठक सञ्चालन हुनुअघि पूर्वसहमतिअनुसारको प्रक्रिया अघि बढाउने गरी सरकारले तयारी गर्नुपर्ने विपक्षी दलहरूको भनाइ छ। विपक्षी दल राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारले विपक्षी दलहरूलाई पेलेर जाने नीति लिए आफूहरू पनि त्यसको प्रतिकार गर्न तयार रहेको बताए।

सरकारले कर्मचारी, अख्तियार र सर्वोच्च अदालतलाई देखाएर विपक्षी दलहरूसँगको सहमति कार्यान्वयन गर्न आलटाल गरेको उनको आरोप छ।
बागमती प्रदेश सभा बैठक मंगलबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको छ। सरकार र प्रतिपक्ष दलहरूबीच सहमति नभए बैठक चल्न सक्ने अवस्था छैन।

मंगलबारको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरू, शोक प्रस्ताव र दलका नेताहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ।