१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
ड्यान सब्बागे
२o८१ बैशाख २१ शुक्रबार o८:५७:oo
Read Time : > 4 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

इरानी ड्रोनले बदल्दै छ युद्धको प्रकृति

इरानले बनाएको साहिद ड्रोन मध्यपूर्वका मिलिसियादेखि युक्रेन युद्धमा रुसले समेत प्रयोग गरिरहेको छ

Read Time : > 4 मिनेट
ड्यान सब्बागे
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५७:oo

अक्टोबर ७ मा गाजा युद्ध भड्किएपछि मध्यपूर्वमा अवस्थित अमेरिकी सैनिक आधारमा झन्डै १६५ आक्रमण भए । त्यति धेरै आक्रमणमध्ये केहीले निसानामा पुग्नु अपरिहार्य थियो । नभन्दै जनवरी २८ मा सिरियाको सिमानानजिक जोर्डनको एक अमेरिकी आधार ‘टावर २२’ मा गरिएको ड्रोन आक्रमणबाट कम्तीमा तीन अमेरिकी सैनिक मारिए भने ८० भन्दा बढी घाइते भए । पेन्टागनले उक्त आक्रमणमा इराकमा सक्रिय इरान समर्थित मिलिसिया समूह ‘काताइब हिजबुल्लाह’को हात भएको आरोप लगायो । अमेरिकी राष्ट्रपति जो बाइडेनले समूहलाई तेहरानले हतियार आपूर्ति गरिरहेकाले आक्रमणमा ऊ पनि जिम्मेवार रहेको ठहर गर्न गलत नहुने बताए । 

इरानले पछिल्लो समय तुलनात्मक रूपमा सस्ता ड्रोनहरूको आपूर्ति व्यापक गरेसँगै मध्यपूर्व र अन्य क्षेत्रका युद्धको प्रकृति नै परिवर्तन भएको छ । ‘सन् १९९० को दशकमा कताइब हिजबुल्लाहजस्ता मिलिसिया समूहले घरेलु रकेटमार्फत त्यस भेगका अमेरिकी आधारलाई लक्षित बनाउने गर्थे । प्रायः सबै निस्तेज बनाइन्थे । अहिले साना ड्रोनमार्फत तिनको पहुँच धेरै विस्तार भएको छ । सानाभन्दा साना ड्रोनको समेत धेरै फराकिलो पहुँच हुने भएकाले तिनले क्षति पुर्‍याउन सक्ने सम्भावना रहन्छ,’ इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्याटेजी स्टडिजसँग आबद्ध मध्यपूर्वका हतियारविज्ञ फाबियन हिन्जले भने । 

‘टावर २२’ को अमेरिकी सैन्य आवास क्षेत्रमा खसालिएको ड्रोनको मोडलको यकिन जानकारी नभए पनि अमेरिकी अधिकारीले सो ड्रोन ‘साहिद मोडेलको एउटा प्रकार’ भएको जानकारी दिएका थिए । यदि यो जानकारी सही हो भने त्यो कताइब हिजबुल्लाहको साथमा रहेको विश्वास गरिएको सानो आकारको ‘साहिद १०१’ अथवा ‘साहिद १३१’ हुन सक्छ । हिन्जका अनुसार यी ड्रोनको अनुमानित दायरा कम्तीमा ७०० किलोमिटर छ र यसको मूल्य करिब २० हजार डलर वा केही बढी पर्न आउँछ । यी ड्रोनको डिजाइन तथा सम्भवतः निर्माण ‘साहिद एभिएसन इन्डस्ट्रिज रिसर्च सेन्टर’ले गरेको मानिन्छ । अमेरिकी गुप्तचर सूचनाअनुसार यस कम्पनी इरानको शक्तिशाली सैन्य समूह ‘इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स’को अधीनमा छ । इरानले मध्यपूर्वी क्षेत्रमा एकपछि अर्को युद्धको शृंखलामा उसको भूमिका बढेपछि उसको विदेश नीति विस्तार गर्ने महत्वाकांक्षाबाट प्रेरित भएर विगत पाँच वर्षदेखि यी ड्रोन निर्माणको अनुसन्धान बढाएको मानिन्छ । र, उसको सैन्य प्रविधि वृद्धि गर्नुपर्ने आवश्यकता र तिनमाथिको विशाल लगानीले यस नवप्रवर्तनलाई सघाएको पश्चिमी विश्लेषण छ । 

इरानसँग हतियार परीक्षण र तैनाथीको लामो इतिहास र अनुभव छ । सन् १९८० को दशकको सुरुदेखि झन्डै आठ वर्ष छिमेकी इराकसँग भएको भीषण युद्धमा इरानसँग उन्नत सैन्य प्रविधि नहुँदा उसले सुरुमा नराम्रो क्षति व्यहोर्नुपरेको थियो । एक वर्षअघि भएको इस्लामिक क्रान्तिपछि पश्चिमी राष्ट्रसँग सम्बन्ध तोडेसँगै इरानले पश्चिमी हतियारमाथिको पहुँच गुमाएको थियो । यसले पश्चिमी हतियार खरिद होइन, त्यसबाट सिकेर नयाँ प्रविधि विकास गर्ने र परिष्कृत गर्ने अवसरसमेत गुम्यो । त्यसपछि नै उसले आफ्नै घरेलु हतियार प्रविधि विकासमा जोड दियो । यस लामो प्रयासको प्रतिफलस्वरुप सन् २०१९ सेप्टेम्बरसम्म आइपुग्दा उसका ड्रोन साउदी अरबका दुई तेल संयन्त्र अब्काइक र खुरैसका असाधारण क्षति पुर्‍याउन सक्षम भइसकेका थिए । इरानसमर्थित हुथीहरूले जिम्मा लिएको सो आक्रमणले केही समय विश्वको तेल आपूर्तिको पाँच प्रतिशत अवरुद्ध भएको थियो । 

इरानले पछिल्लो समय तुलनात्मक रूपमा सस्ता ड्रोनको आपूर्ति गरेसँगै मध्यपूर्व र अन्य क्षेत्रका युद्धको प्रकृति नै परिवर्तन भएको छ

त्यतिवेला, साउदी अरेबिया यमनको गृहयुद्धको एक पक्षराष्ट्र थियो । उसले यमनको राजधानी कब्जा गरेको इरानसमर्थित हुथी विद्रोहीविरुद्ध बमबारी तीव्र बनाएको थियो । त्यस्तो समयमा भएको ड्रोन आक्रमणको जिम्मा हुथी समूहले लिँदा पनि साउदी अबरले त्यसलाई स्विकारेन । उसले सो समयसम्म अज्ञात रहेको ‘डेल्टा विंग प्रकृति’का ड्रोनहरू दक्षिणको यमनबाट नभई उत्तर( इरान रहेको दिशा)बाट आएको बताउँदै आक्रमणका लागि इरानलाई दोष दियो । पछि साउदी अरबका तेल प्रतिष्ठानको आक्रमण प्रयास गरिएका ड्रोन साहिद १३१ भएको पहिचान गरियो । सोही डेल्टा विंग ड्रोन पुनः सन् २०२१ जुलाईमा इजरायली स्वामित्वको तेल ट्यांकरको आक्रमणमा देखा पर्‍यो । ‘मर्सर स्ट्रिट’नामक तेल ट्याकरमाथि आक्रमण हुँदा एक बेलायती र एक रोमानियन नागरिक मारिएका थिए । बेलायतका तत्कालीन विदेशमन्त्री डोमिनिक रावले आक्रमणमा इरानको हात हुन सक्ने बताएका थिए । 

इरानले ऊसँग आफैँले विकास गरेको ड्रोन रहेको कुरा सन् २०२१ डिसेम्बर मात्र औपचारिक रूपमा स्विकार गर्‍यो, जब उसले आफूसँग साहिद–१३१ ड्रोन रहेको बतायो । उसले त्यो समय साहिद १३१ को उन्नत संस्करण साहिद–१३६ मा काम भइरहेको पनि सार्वजनिक गरेको थियो । त्यसको केही महिनापछि रुसले युक्रेनमा आक्रमण सुरु गर्‍यो । शीघ्र जितको प्रारम्भिक प्रयास असफल भएपछि रुसले नयाँ हतियारको खोजी गर्न थाल्यो । मस्कोलाई हतियार बेच्न इच्छुक देशमा इरान र उत्तर कोरियाजस्ता थोरै देश मात्र अघि सरे । दुई देशबीच साहिद १३६ ड्रोन आपूर्ति गर्ने सम्झौता भयो । ती ड्रोन पहिलोपटक सन् २०२२ का शरदमा युद्ध मैदानमा देखिए । एक युक्रेनी कमान्डरले त्यति वेला इरानी ड्रोनले खार्किभको प्रत्याक्रमणका क्रममा एम ७७७ हाउविट्सर नष्ट गरिदिएको बताउँदै भनेका थिए, ‘१०० वटा तोपका गोलाको प्रहारभन्दा एउटा ड्रोनको सटिक प्रहार सस्तो र प्रभावकारी देखिन्छ ।’ केही हप्तापछि, युक्रेनमा साहिद ड्रोनहरू व्यापक प्रयोग गरिन थालिए । 

युक्रेनमा व्यापक प्रयोगपछि यी ड्रोनका आकार र तिनको इन्जिनको पानी तान्ने मोटरको जस्तो चर्को आवाज अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बन्यो । त्यो वर्ष अक्टोबर १७ मा यिनै ड्रोन प्रयोग गरेर केन्द्रीय किभमा भएको चार व्यक्तिको मृत्युले पनि अन्तर्राष्ट्रिय ध्यान तान्यो । त्यस आक्रमणमा केही युक्रेनीले यी ड्रोनका चर्को आवाज पछ्याउँदै जमिनबाट गोली हानेर झार्ने प्रयाससमेत गरेका थिए । 

हल्का कार्बन फाइबरले बनेका साहिद १३६ ड्रोनको २४०० किमिभन्दा बढीको रेन्ज छ । यति ठूलो विस्तारमा आक्रमण गर्न सघाउने भएकाले रुसले उत्तरमा बेलारुस र दक्षिणका अतिक्रमित युक्रेनी भूमिबाट युक्रेनका सबै प्रमुख सहरलाई निसाना बनाउन सक्षम बनाएको छ ।

 रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका उड्डयन विश्लेषक जस्टिन ब्रोंकका अनुसार साहिद १३६ मोडलका ड्रोनले २० देखि ४० केजीसम्म विस्फोटक पदार्थ बोकेर उड्न सक्छन् । यो अघिल्लो साहिद १३१ मोडेलेको भन्दा करिब दोब्बर हो । बोंकका अनुसार यो ड्रोन धेरै महँगो पर्ने (गाइडेड )निर्देशित क्रुज मिसाइलहरूको सस्तो विकल्पको रूपमा आएको छ । यो हल्का र रणनीतिक संरचनाविरुद्ध अत्यन्त उपयोगी देखिएको छ । यसको उडान मार्ग सामान्यतया उडानअघि पूर्वनिर्धारित गरिन्छ । त्यसपछि यसले प्रायः अमेरिकी, रुसी र चिनियाँ भूउपकरणीय प्रणालीको परिष्कृत संयोजन प्रयोग पूर्वनिर्धारित मार्ग पहिल्याएर निसानामा पुग्छ । धेरै प्रणालीको संयोजना गर्ने भएकाले यसको मार्गलाई जाम गर्न कठिन रहेको बोंक बताउँछन् । 

युक्रेनमा प्रयोग सुरु भएको करिब डेढ वर्षपछि पनि साहिद ड्रोनको आक्रमण चलिरहेको छ । सन् २०२३ नोभेम्बरमा सबैभन्दा धेरै ७५ साहिद ड्रोनले किभका विभिन्न स्थान निसाना बनायो । तथापि तिनको प्रविधिबारे बढ्दो जानकारी र तिनको सुस्त गतिले तिनलाई निस्तेज बनाउन सजिलो भएको छ । यही कारण नोभेम्बरमा पठाइएका ७५ ड्रोनमध्ये ७१ वटालाई गोली हानी झारिएको युक्रेनी अधिकारीले बताए । तर, इरानले प्रविधिको विकासलाई निरन्तरता दिएको छ । इरानले गत नोभेम्बरमा साहिद १३६ भन्दा दोब्बर गतिमा उडान भर्न सक्ने इन्जिनयुक्त साहिद २३८ विकास गरेको छ । साहिद २३८ गत जनवरीमा युक्रेनमा प्रयोग हुन थालिसकेको मानिन्छ । 

साहिद ड्रोन तेहरानलाई उसका क्षेत्रीय सहयोगीहरू हुथी वा इराक वा सिरियाका अन्य मिलिसियालाई आपूर्ति गर्ने आकारका भएकाले उसलाई थप रणनीतिक फाइदा भइरहेको छ । रुसले यी ड्रोनहरू खुला रूपमा प्रयोग गरिरहेको भए पनि साउदी अरबका तेल प्रतिष्ठान र पछिल्लो समय टावर २२ मा जस्तो आक्रमणमा यिनको प्रयोगको जिम्मेवारी नलिन सजिलो पनि छ । यमनले यी ड्रोनका पार्टपुर्जा लगेर रिएसेम्बल गर्दै डिजाइनमा कहिलेकाहीँ परिष्कार पनि गर्छ । हुथीले अक्टोबर ७ देखि दक्षिणी लालसागर र एडेन खाडी क्षेत्रमा जहाज र पश्चिमी युद्धपोतलाई लक्षित गर्न यी ड्रोन बारम्बार प्रयोग गर्दै आएको छ । जहाजलाई क्षति पुर्‍याउन सके पनि पश्चिमी शक्तिराष्ट्रका युद्धपोतमाथिका हुथी आक्रमण प्रायः असफल भएका छन् । 

तर, पश्चिमले यी आक्रमण निस्तेज पार्न ठूलो रकम गुमाइरहेको छ । जस्तो, आफ्ना युद्धपोतमा भएका १८ मध्ये सात हुथी ड्रोनलाई निस्तेज पार्न बेलायतले सस्ता फायर र सी भाइपरदेखि एस्टर मिसाइल प्रयोग गर्नुपर्‍यो, जसको प्रत्येकको मूल्य १० लाखदेखि २० लाख पाउन्ड पर्छ । केही हजार डलरको ड्रोनबाट आफूलाई रक्षा गर्न ठूलो लागत थोपर्छ भन्ने यो एक सरल दृष्टान्त हो । यस्तै हिसाब युक्रेन र अन्य ठाउँमा लागू हुन्छन् । ‘इरानले शत्रुमाथि दबाब सिर्जना गर्न अपेक्षाकृत बलियो र उन्नत सैन्य क्षमता हुनु आवश्यक नरहेको देखाएको छ । र, शत्रुमाथि दबाब सिर्जना गर्ने तिनका सस्ता ड्रोन कुनै पनि सैन्य बलले किन्न सक्ने खालका छन्,’ अमेरिकी सेन्टर फर नेभल एनालाइसिसका ड्रोन विशेषज्ञ स्यामुएल बेन्डेटले भने । र, यो प्रविधि थप उन्नत हुने र फैलिने सम्भावना मात्र छ । ‘केहीले महँगो युद्ध प्रविधिमा लगानी गर्नुको सट्टा सस्तो ड्रोनमा खर्च गर्न थालेका छन् । तिनले या त शत्रुका निसानामा क्षति पुर्‍याउँछन्,’ बेन्डेटले भने । 

लेखक द गार्जियनका रक्षा र सुरक्षा सम्पादक हुन्

ad
ad