Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
अजित अधिकारी काठमाडाैं
२०८० फाल्गुण १४ सोमबार ०७:३९:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

जापानमा श्रमिक पठाउने ढोका खुल्यो

वार्षिक २० हजार दक्ष नेपाली कामदार जापानले लिने, मासिक औसतमा तीन लाख पारिश्रमिक

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडाैं
२०८० फाल्गुण १४ सोमबार ०७:३९:००

नेपालबाट सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमानिश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, ०८०’ आइतबारबाट लागू गरेसँगै वैदेशिक रोजगारीका लागि नयाँ र आकर्षक गन्तव्य सुनिश्चित भएको हो ।

जापानमा दक्ष सीप भएका कामदार पठाउन सन् २०१९ मा नै दुई देशबीच समझदारी भएको थियो । तर, उक्त समझदारी भएको करिब पाँच वर्षपछि मात्रै कार्याविधि बनेको छ । कार्यविधिकै अभावमा जापनिज भाषा परीक्षा उत्तीर्ण गरी विभिन्न क्षेत्रको तालिम लिएर बसेका युवाहरू जापान जानबाट रोकिएका छन् ।

श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले केही ढिला भए पनि जापानको रोजगारी सुनिश्चित गर्न कार्यविधि तयार गरिएको जानकारी दिए । ‘हामीले कार्यविधि तयार गरेका छौँ । अहिले यो कार्यविधि जापान पक्षलाई पठाएका छौँ,’ उनले भने, ‘उताबाट पास भएर आएपछि तोकिएको क्षेत्रमा दख्खल भएका र भाषा परीक्षा उत्तीर्ण भएका नेपालीलाई जापान पठाउन सुरु गर्नेछौँ ।’

सचिव भण्डारीका अनुसार जापानस्थित राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीले नेपालबाट कामदार लैजाने सबै सर्त पूरा गरिसकेका छन् । ‘जापानका रोजगारदाताहरू नेपालबाट कामदार लैजान तयार भएर बसेका छन्,’ उनले भने, ‘हामीले कार्यविधि पारित नगर्दा मात्रै रोकिएको थियो ।’ उनका अनुसार जापानिज कम्पनीहरूले वार्षिक २० हजारभन्दा बढी दक्ष नेपाली कामदारको माग गर्ने आकलन छ ।

‘जापान जान नेपाली युवाहरू धेरै लालायित छन् । जापानका रोजगारदाताले पनि नेपाली रुचाएको अवस्था छ । त्यसैले तोकिएका सबै प्रक्रिया पूरा गरेको खण्डमा यहाँबाट धेरै युवाहरू काम गर्न जापान जाने स्थिति छ,’ उनले भने, ‘तलब–सुविधा पनि आकर्षक छ ।’

जापानका रोजगारदाता कम्पनीले औसतमा तीन लाख रुपैयाँ तलब दिने प्रक्षेपण गरिएको छ । जापानका कुन रोजगारदाताले कति कामदार नेपालबाट माग गर्ने भनेर सूची नै तयार गरेर पर्खेर बसिरहेको नेपाली अधिकारीहरू बताउँछन् । 

सन् २०१९ को एक सर्वेक्षणले जापानमा सन् २०३० सम्ममा ६४ लाखभन्दा बढी कामदारको अभाव हुने प्रक्षेपण गरिएको थियो । सोही अभावलाई पूर्ति गर्न जापानले विशेष सीप भएका कामदार नेपालसहित चीन, थाइल्यान्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया, म्यानमार, कम्बोडिया, मंगोलियालगायत देशबाट आपूर्ति गर्ने नीति लिएको छ । जापानले सन् २०१९ को अप्रिलदेखि विशेष सीप भएका कामदार लिने नीति कार्यान्वयन गरेको हो ।कार्यविधि अभावमा नेपालबाट कामदार पठाउन ढिला भएपछि श्रम मन्त्रालयले अन्य देशको कार्यविधिअनुसार जापान पठाउने गरी नीतिगत व्यवस्था गरेको हो । 

म्यानपावरबाटै जापानमा कामदार 
सरकारीस्तरमा पहल भए पनि जापानमा रोजगारीका लागि नेपालस्थित म्यानपावर कम्पनीले पठाउने व्यवस्था गरिएको छ । यद्यपि, खाडी मुलुकमा कामदार पठाएको शैलीमा म्यानपावरले काम गर्न भने पाउनेछैनन् । अहिले भाषा र सीप परीक्षणमा काम गरिरहेको जापान फाउन्डेसनसँग श्रम मन्त्रालयले विभिन्न तहमा उत्तीर्ण गरेको दक्ष म्यानपावरले समन्वय गरेर नेपाली कामदारलाई जापान पठाउन पाउनेछन् ।

जापान जान लाग्ने सबै शुल्क त्यहाँस्थित रोजगारदाता कम्पनीले नै व्यहोर्ने हुँदा नेपाली कामदारले सामान्य शुल्क मात्रै तिर्नुपर्नेछ । नेपालका म्यानपावर कम्पनीले जापानिज रोजगारदाता कम्पनीबाटै सेवा शुल्कबापतका रकम पाउनेछन् । भाषा र सीप परीक्षणका मापदण्डलगायत विषय जापान सरकारले तोकेबमोजिम हुनेछ ।

जापानको विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख भएअनुसार थप अध्ययन, तालिमको आवश्यकताविना तत्काल दक्ष श्रमशक्तिका रूपमा काम गर्न सक्ने क्षमता र जापानी भाषामा दख्खल भएका १८ वर्षमाथिका नेपाली कामदार जापानमा रोजगारीका लागि योग्य हुन्छ । सीप र जापानी भाषाको दक्षता जापानी पक्षद्वारा आयोजना गरिने परीक्षामार्फत निर्धारण हुने गर्छ । कामदारले परिवारका सदस्य जापान लैजान पाउँदैनन् । एकपटक जापान गएको व्यक्ति पाँच वर्षसम्म काम गर्न पाउँछ, तर चार महिना वा ६ महिना वा एक वर्षमा भिसा नवीकरण गर्नुपर्ने व्यवस्था छ । कति समयमा भिसा नवीकरण गर्ने भन्ने विषय टुंगो लागिसकेको छैन ।

‘दैनिक जीवन र काम गर्ने ठाउँमा प्रयोग गरिने जापानी भाषामा निपुण हुनुपर्नेछ । भाषिक दख्खलता परीक्षाद्वारा पुष्टि भएको हुनुपर्छ,’ जापानको विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख छ ।

जापान सबैभन्दा आकर्षक गन्तव्य
नेपालले वैदेशिक रोजगारीका लागि श्रम सम्झौता गरेका मुलुकमध्ये जापान सबैभन्दा आकर्षक गन्तव्यका रूपमा परिचित छ । त्यसैले जापान जानका लागि युवाहरू लालायित हुँदै आएका छन् । वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले श्रम स्वीकृति लिएर विदेश गएका कामदारमध्ये जापानबाट खासै गुनासो नआउने गरेकाले उत्कृष्ट र नेपालीले रुचाएको श्रम गन्तव्य भएको बताए । ‘विदेशमा काम गर्दा विभिन्न समस्या भोगेकोबारे गुनासो र उजुरी आइरहन्छ । तर, जापान गएका नेपालीबाट खासै गुनासो सुन्नुपरेको छैन,’ उप्रेतीले भने । 

पाँच वर्षअघि जापानको श्रम बजारमा नेपाली लैजाने विषयमा समझदारी भएपछि धेरै नेपाली युवाले तालिम र भाषा परीक्षा सिकेर बसेका छन् । विभागको तथ्यांकअनुसार करिब २५ हजार नेपाली पाँच वर्षयता श्रम स्वीकृति लिएर जापान गइसकेका छन् । यसमध्ये सबैभन्दा धेरै रेस्टुरेन्ट व्यवसायमा कामदारका रूपमा कार्यरत रहेका छन् ।

 नेपाली कामदार लिन जापानका रोजगारदाता तयार छन्
केवलप्रसाद भण्डारी, सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

जापानमा नेपालबाट दक्ष कामदार पठाउने विषयमा पाँच वर्षअघि नै समझदारी भए पनि बल्ल कार्यान्वयनको सुरुवात भएको छ । जापानमा कामदार पठाउनेसम्बन्धी कार्यविधि पारित भएसँगै आकर्षक तलब सुविधा र राम्रो काम गर्ने वातावरणमा दक्षता हासिल भएका नेपाली युवाले काम गर्ने वातावरण तयार भएको छ । नेपाली कामदार लिन जापानस्थित रोजगारदाता पर्खेर बसेका छन् । अब तोकिएको क्षेत्रमा सीपयुक्त र जापानिज भाषा उत्तीर्ण गरेका युवालाई अवसर सिर्जना भएको छ ।

 यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्

  • नर्सिङ स्याहारसुसार
  • भवन सरसफाइ व्यवस्थापन
  • मेसिनका पार्टपुर्जा र औजार उद्योग
  • औद्योगिक मेसिनहरू उत्पादन गर्ने उद्योग
  • इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि
  • निर्माण
  • पानीजहाज निर्माण र पानीजहाज मेसिनरी
  • अटोमोबाइल मर्मत–सम्भार
  • उड्डयन क्षेत्र (हवाईजहाज)
  • आतिथ्य सत्कार (होटेल)
  • कृषि
  • माछापालन तथा अकुवाकल्चर
  • खाद्य र पेय पदार्थ उद्योग
  • खानपान व्यवसाय (रेस्टुरेन्ट)