१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
लाेकराज बराल काठमाडाैं
२०८० फाल्गुण १३ आइतबार ०९:०५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मुख्य दलहरूलाई अस्तित्वरक्षाको हाँक

Read Time : > 4 मिनेट
लाेकराज बराल काठमाडाैं
२०८० फाल्गुण १३ आइतबार ०९:०५:००

सांगठनिक कमजोरी, नेतृत्वको असफलता, गतिशीलताको कमी र आकर्षणको अभावले पुराना दल अस्तित्वरक्षाको चुनौतीमा देखिन्छन्

लाग्छ, अब विस्तारै ठूला भनिएका दलको भविष्य ओझेल पर्नेछ र नयाँ–नयाँ आयाम राजनीतिक दलहरूमा थपिँदै जानेछन् । यसको संकेत गत निर्वाचनमा राट्रिय स्वतन्त्र पार्टी, तराईमा जनमत र पश्चिम क्षेत्रमा उदाएको रेशम चौधरीको राष्ट्रिय उन्मुक्ति पार्टीको चुनावी परिणामले देखाइसकेका छन् । काठमाडौंलगायत अन्य कतिपय नगरपालिकामा पनि नयाँं अनुहारको उदयले अब यथास्थितिमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, मधेशका अन्य पुराना दललगायतलाई झड्का त लाग्ने नै छ । यसका साथसाथै, उनीहरूसामु अस्तित्वरक्षाको हाँक पनि झन्झन् बढ्नेछ । यसका धेरै कारणमध्ये सांगठनिक कमजोरी, नेतृत्वको असफलता, गतिशीलताको कमी, आकर्षणको अभाव र समयअनुसार रूपान्तरण गर्न नसक्ने लक्षण ।

दोस्रो महत्वपूर्ण कारण जनताको खस्किँदो विश्वास र वैकल्पिक शक्तिको खोज पनि दलहरूको अतित्वरक्षाका लागि हाँक हो । जसको लक्षण चुनाव परिणामले पनि दिएका छन् । सरकारमा बसे पनि नबसे पनि जनआकांंक्षाअनुरूप न्यूनतम काम गर्न नसक्दा अब नेताका भाषणमा जनविश्वास हराउन थालेको छ । यसमा अब कोही पनि अपवाद छैनन् । हालका प्रधानमन्त्रीले केही गर्लान् कि भन्ने आस पनि मर्दै गएको आभास जनतामा पाइन थालेको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डमा आफ्ना अप्ठ्यारा ख्यालै नगरी धेरै घोषणा पहिल्यै गर्ने बानी परेकाले उनका बोली पनि ओसिएको बारुदजस्तो भइरहेको छ । भर्खरै मात्र साधारण विश्वविद्यालयको एक उपकुलपति भर्ना गर्नसमेत हम्मेहम्मे परेको जगजाहेर छ । 

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा अर्थविद् डा. स्वर्णिम वाग्लेको एक विचार सार्वजनिक भएको छ । उनका विचारमा उनको पार्टीको एकाएक (मेटेरियोक) उदय तीन कारणले भएको हो र भविष्यमा यिनै आधारमा उनको दल एक नम्बरमा आउने उनले भविष्यवाणी नै गरेका छन् । ती तीन आधार हुन्– जनसंख्या (डेमोग्राफी, डिजिटलाइजेसन (यान्त्रिक उपकरण) र बाहिर रहेका जनसंख्या (डायसफोरा) । एक दलका नेताका भनाइका रूपमा यी आधारलाई तिरस्कार गर्न सकिँदैन, किनभने यी आधारमा उनको र अन्य नयाँ दल वा व्यक्तिले जित्ने बताइएको छ ।

नेपालको जनसंख्याको अधिकांश हिस्सा युवा भएकाले अब परम्परामा आधारित जनाधारले मात्र दलहरूको भविष्य तय गर्न नसकिने भएको छ । यस्ता युवालाई नयाँ अनुहार चाहिएको छ, चाहे सिद्धान्त गौण नै किन नहोस् । सिद्धान्तका दृष्टिले पनि यी नयाँ दल प्रस्ट हुन थालेका छन् । स्वतन्त्र पार्टीले देशमा स्थापित गणतन्त्र र संविधानले तय गरेका अन्य सिद्धान्तप्रति प्रतिबद्ध भएको घोषणा गरेको छ । तर, यस दलको संघीयतामाथि प्रश्न छ । 

अहिलेकै जस्तो नाम मात्रको संघीयता कि यसमा सुधार गरी सच्याई अघि बढ्ने ? यदि यस दलले आफ्नो सिद्धान्तनिष्ठ राजनीति गर्‍यो वा अन्य पुराना दलका कमी–कमजोरीबाट पाठ सिकी स्वच्छ छवि राख्यो भने उसले जनतामा विश्वास जगाउन सक्छ । आर्थिक, सामाजिक रूपान्तरणतिर आक्रामक रूपमा अघि बढे उसले आफ्नो लक्ष्य हासिल गर्ने सम्भावना धेरै छ । उसको प्रगतिको सोझो असर कांग्रेसलाई पर्नेछ किनभने रास्वपा मध्यममार्गी धार र लोकतन्त्रप्रतिको प्रतिबद्धता तथा नयाँपनको अनुभूतिले जनताले उसलाई एक वैकल्पिक दलका रूपमा पाउनेछन् ।

यसको मतलब एमाले र अन्य पुराना भनिएका दलले एकनाश त्यही वर्चस्व कायम गर्न सक्छन् भन्ने होइन । एमाले पनि अब धेरै ओलीमुखी भई यथास्थितिको राजनीतिमा रमाई नेता र दलको आकर्षणको नवीकरण हुन नसकेकाले यसको पनि एकैनासको जनाधार नरहने कुरा प्राकृतिक नियमसँग मेल खाने विषय हो । नेकांजति पनि यसका दोस्रो तहका नेतामा सोच र गतिशीलताको अभावले एमालेको कार्य क्षमता, नेतृत्वको आकर्षण घट्तै गई नयाँ युवापिँढीको खोजमा जनता लाग्नेछन् । युक्रेनका राष्ट्रपति जेलेन्स्की, फ्रान्सका वर्तमान राष्ट्रपति इम्यानुयल म्याक्रोँ, भारतका केजरीवाल, अर्जेन्टिनाका नयाँ राष्ट्रपति, इटलीकी प्रधानमन्त्री र अन्य कतिपय सरकार प्रमुख यस्तै छालबाट आएका हुन् ।

उनीहरूको सफलता असफलता पछि देखिने हो । टिक्न सके लामो समय राज गर्लान्, नसके फालिन्छन् । लोकतन्त्र र राजतन्त्रको भेद नै यही हो । राजतन्त्र वंशवादमा आधारित हुन्छ र योग्य, अयोग्य जे भए पनि राजाको छोरो अर्को राजा हुन्छ । त्यसमा राजाको सन्दर्भ अब हराएको छ, किनभने राजा सक्रिय हुनकै लागि यतिका गतिविधि गरेको भए पनि जनतालाई त्यो अमान्य छ । अब सक्रिय राजा भनेको तनाशाही स्वीकार गर्नु हो, जुन नेपाली जनताले फालिसकेका छन् । आलंकारिक राजा किन चाहियो ? त्यसको भूमिका निर्वाचित राष्ट्रपतिले निर्वाह गरेकै छन् । 

जनता क्षमता, शासनमा स्वच्छता र नेताका दृढ विश्वाससाथ कार्य सम्पादनको क्षमता हेर्न चाहन्छन् । युवा हुनुका साथसाथै चिन्तनशील नेता भए झनै राम्रो । उमेरले मात्रै पनि राजनीतिमा गतिशीलता र अग्रगामी सोचका साथ रुपान्तरणका एजेन्डा अघि बढ्न सक्दैनन् । यदि युवाशक्ति परम्परावादी बढी र रुपान्तरणकारी कम भए भने त्यस्ता नेतालाई जनताले तिरस्कार गर्छन् । तर, आज अमेरिकाजस्तो देशमा पनि जो बाइडेन र डोनाल्ड ट्रम्पजस्ताले राजनीति रंग्याइरहेकै छन् । तर, ब्राजिलका राष्ट्रपति लुला सत्तरीको दशकका भए पनि फुर्तिलै देखिन्छन् । शारीरिक र मानसिक रूपमा ठीक भए पनि सोच भने यथास्थितिवादी भए त्यसको कुनै काम छैन । 

आजको चुनावका तरिकामा ठूलो परिवर्तन आएको छ । जसको सबभन्दा पछिल्लो उदाहरण पाकिस्तानमा भएको चुनाव परिणामले देखाएको छ । इमरान खानले जेलबाटै वाग्लेले भनेझैँ डिजिटलाइजेसनकै माध्यम प्रयोग गरी उनका दलका स्वतन्त्र भएर लडेका उम्मेदवार जिताई पहिलो दल बनाए । उनले जनतासित जेलको कोठाबाटै सोझो सम्पर्क स्थापित गरे । जनताले उनीमाथि अन्याय भएको, सेना र अन्य विरोधी दल मिली हराउने हत्कण्डा प्रयोग गरेको भन्ने धारणाले उनको पक्षमा यतिका मत आएको हो । यसलाई कतिपयले सेनामाथिको अविश्वास पनि भनेका छन् ।

यस्ता साधनको प्रयोगमा अभ्यस्त आजका युवा धेरै पर्छन् र उनीहरूको झुकाव अब पुराना दलका नेता वा उनले टीका लगाएका उम्मेदवारका पक्षमा जाँदैन । उनीहरूको यस्ता नेताले हाँकेका दलबाट केही उपलब्धि हासिल गर्न सकिँदैन भन्ने धारणा बन्दै गइरहेछ । ती दलको अस्तित्वरक्षा नयाँ नेतृत्व र अग्रगामी सोचले मात्र गर्न सक्छ । नेकां, एमाले, माओवादी र अन्य मधेशी दलको एजेन्डा हराउन थालेको छ, किनभने उनीहरूसित दल नवीकरण गर्ने योजना छैन । नेकांका दोस्रो तहका नेतामा केही समय पहिले देखिएको उत्साह र जनआशा सेलाउन थालेको र उनीहरू यथास्थितिवादी नेतृत्वको अक्षमतामा बिटुलिन थालेका छन् भन्ने आमबुझाइ बढिरहेको छ । 

के पनि सत्य हो भने नयाँ पिँढीका युवालाई अब काम र क्षमतामा बढी विश्वास छ, न कि सिद्धान्तमा । यो पनि आजका ठूला भनिएका दलका लागि चुनौती बनेर खडा भएको छ । अब लोकतन्त्रको जनमुखी चरित्र, अग्रगामी सोच, सैद्धान्तिक र कार्यक्षमतामा सक्कली रूप चाहिएको छ । जनताको समर्थन पाउन त्यहीअनुसारको नेताको छवि प्रस्तुत हुन सक्दा मात्र चुनावमा सफलता हासिल हुने परिस्थिति बन्न सक्छ । 

के नयाँ आएका दलबाट राजनीतिक रूपान्तरणको सम्भावना अरूको भन्दा बढी छ ? यस प्रश्नको उत्तर अहिले नै दिन सक्ने अवस्था छैन, किनभने उनीहरू यी तीन–चार वर्षमा आफ्ना मान्यता र क्षमतामा कति खरो उत्रिन सक्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका आजका सांसदको भूमिका हेरिँदा भने केही आस गर्ने ठाउँ रहन्छ । उनीहरूको सबैभन्दा बढी आर्जन भनेको हालसम्म कायम भएको चारित्रिक स्वच्छता, शैली र सिक्ने प्रवृत्ति हो । यस दलका नेता रवि लामिछाने वेलावेला विवादमा पर्ने गरेको र उनको चरित्रमा प्रश्न उठ्ने गरेको पाइए पनि यी सांसद हुनुपहिलेका घटनासित जोडिएका हुन्, जसको निदान भइसकेको छैन । अन्य भ्रष्टाचारका आरोप लागेको छैन ।

उनीबाहेक अरू सहकर्मी यथावत् छन् र तिनको संस्कार जनताले नियालिरहेका छन् । उनीहरूको गणतन्त्रप्रतिको समर्पण, कार्यदिशा, क्षमता, नम्रता आदिसँग उनीहरूको दलको उत्थान र पतन जोडिएको छ । अन्य साना दल, विशेषगरी केही नयाँं क्षेत्रीय पार्टीको अस्तित्व यकिन गर्न सकिँदैन । तर, मधेशका मुद्दा कुनै न कुनै रूपमा उठिरहने आधार धेरै भएकाले यस्ता मुद्दाले उनीहरूको भूमिका यकिन हुने भएको छ । उनीहरूले कसरी आफ्ना मुद्दा जीवित राखी नवीकरण गर्न सक्छन्, त्यो भविष्यले नै बताउला ।  

नयाँं वा पुराना सबै दलको प्रमुख उद्देश्य र कार्यक्रम लोकतान्त्रिक गणतन्त्रलाई कसरी जनमुखी र प्रभावशाली बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ । यस उद्देश्य प्राप्तिका लागि चल्दै आएको औपचारिकता, अकर्मण्यता र भ्रष्टीकरण अन्त्य हुनुपर्छ । यसै परिवेशमा प्रतियोगितात्मक लोकतन्त्रको अभ्यास हुँदा सबैको हित हुन्छ । त्यसैले, नेताको शुद्धीकरण र क्षमता अति आवश्यक पक्ष भएका छन् । अब पुराना र स्थापित भनिएका दलहरूले पुरानो भोटब्यांकले मात्र प्रतिस्पर्धामा उत्रिन गाह्रो पर्छ । तीव्र गतिमा बदलिएको राजीतिक परिवेशमा त्यसैका बलमा मात्र टिक्न सजिलो छैन ।