मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ३ सोमबार
  • Monday, 15 April, 2024
२०८० फाल्गुण ९ बुधबार ०९:३३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पोखरा विश्वविद्यालयको १९औँ दीक्षान्त समारोह : सात हजार ६ सय ५१ जना विद्यार्थी दीक्षित  

Read Time : > 2 मिनेट
२०८० फाल्गुण ९ बुधबार ०९:३३:००

पोखरा विश्वविद्यालयको १९औँ दीक्षान्त समारोह मंगलबार सम्पन्न भएको छ । पोखरा ३० लेखनाथको खुदीस्थित विश्वविद्यालयपरिसरमा सम्पन्न भएको समारोहमा विभिन्न तह उत्तीर्ण गरेका सात हजार ६ सय ५१ जना विद्यार्थी दीक्षित भएका छन् । 

दीक्षित विद्यार्थीमध्ये पिएचडीका दुई, एमफिलका ५३, डिन लिस्टमा पर्न सफल ६ सय ४७ सहित सात हजार ६ सय ५१ जना छन् । विश्वविद्यालयको स्नातक तहमा सिजिपिए ३.७ वा सोभन्दा बढी र स्नातकोत्तर तहमा सिजिपिए ३.८ वा सोभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीलाई डिन लिस्ट उपाधि प्रदान गरिने व्यवस्था रहेको छ । 

२७ वर्षअघि स्थापना भएको विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह माघ ०५८ मा भएको थियो । १८औँ दीक्षान्त समारोहसँगै हालसम्म विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीको संख्या ५५ हजार नाै सय सातजना पुगेको छ ।

यी भए उत्कृष्ट

कार्यक्रममा विज्ञान तथा प्रविधि संकायको स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने आस्था श्रेष्ठले ओसिम स्वर्ण पदक हात पारिन् । यसैगरी विद्यावारिधितर्फ व्यवस्थापन संकायका विनिता मानन्धर र पोष्टराज पोख्रेलले कुलपति पदक हात पारे । 

स्नातक तहमा सबैभन्दा धेरै अंक ल्याउने विज्ञान तथा प्रविधि संकायका क्रमश हेमन्त लामिछाने, विवेकबाबु लामिछाने, रोमहर्ष वलीसँगै व्यवस्थापन संकायका गंगा गिरी, गरिमा श्रेष्ठ, कामना कटुवाल, मन्जु पाण्डेय, समिर सुवेदी, सृष्टि भुर्तेल, सुवास बुढाथोकी, आकृति थापा, सम्झना काप्री र विनिता आचार्यले कुलपति पदक हात पारे । 

यसैगरी, स्नातक तहमा सबैभन्दा धेरै उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गरिने उपकुलपति पदक व्यवस्थापन संकायकी अञ्जली झवँर र मानविकी तथा सामाजिकशास्त्र संकायका सागर सुनुवारले प्राप्त गरे । 

चार संकाय, चार आंगिकसहित ५८ सम्बन्धनप्राप्त महाविद्यालय सञ्चालनमा

व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिकशास्त्र संकायमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको विश्वविद्यालयमा हाल चार आंगिक, तीन संयुक्त आंगिक र ५८ वटा सम्बन्धनप्राप्त महाविद्यालय सञ्चालनमा छन् । आंगिक महाविद्यालयहरूमा स्नातक तहका १७, स्नातकोत्तर तहमा १६, एमफिल तहमा एक र विद्यावारिधि तहमा चार गरी कुल ३८ वटा कार्यक्रम सञ्चालन भइरहेका छन् । 

यसैगरी आंगिक, संयुक्त आंगिक तथा सम्बन्धनप्राप्त महाविद्यालहरूमा ६४ वटा कार्यक्रम सञ्चालित छन् । यी कार्यक्रमअन्तर्गत कुल ३५ हजार  दुई सय ४० जना विद्यार्थी अध्य्यनरत छन् । 

विश्वविद्यालयले नेपालका केही शैक्षिक संस्था सँगै अस्ट्रेलिया, बंगलादेश, चीन, भारत, इटाली, इन्डाेनेसिया, जापान, कोरिया, मलेसिया, नर्वे, पाकिस्तान, पोल्यान्ड, फिलिपिन्स, थाइल्यान्ड, बेलायत, अमेरिकालगायत विश्वका २० देशका ४७ वटा विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । 

शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रियस्तरमा मापन हुने किसिमले प्रतिस्पर्धी बनाउँदै उच्चस्तरीय जनशक्ति उत्पादनका लागि अध्ययन, अध्यापन, अनुसन्धान र अन्वेषणलाई एक–आपसमा आदान–प्रदान गर्ने नीतिअनुरूप स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूसँग सम्बन्ध विस्तार गर्दै आएको उपकुलपति प्राडा प्रेमनारायण अर्यालले जानकारी दिए । 

आपसी शैक्षिक गतिविधि एवं बौद्धिक प्रयासमा सहयोग गर्ने उद्देश्यले चार, आपसी आदान प्रदान कार्यक्रम–भ्रमणहरु सञ्चालन गर्न पाँच र संयुक्त आर्थिक एवं शैक्षिक कार्यक्रमका लागि सातवटा अन्तर्राष्ट्रिय परियोजनामा विश्वविद्यालय सहभागी हुँदै आएको अर्यालले जानकारी दिए। 

कार्यक्रमका प्रमुख अतिथि प्राडा भगवान कोइरालाले अनावश्यक राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालयको गुणस्तर खस्किँदै गएको भन्दै चिन्ता जाहेर गरेका थिए ।विश्वविद्यालयहरूले देशसँगै समाजलाई नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै यसका लागि प्रदान गरिने शिक्षाको गुणस्तर बढाउन उनको सुझाव थियो । 

हासिल गरेको शिक्षापछि आवश्यक रोजगारीका अवसर नपाउँदा विद्यार्थी पलायन हुने संख्या बढेकाले विश्वविद्यालयहरूसमेत गम्भीर अवस्थामा पुगेको र राज्यले गरेको ठूलो लगानीसमेत खेर जाने अवस्था आइपरेको भन्दै उनले चिन्ता व्यक्त गरे । 

कार्यक्रममा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षालाई जीवन र उत्पादनसँग जोड्ने काममा लाग्न दीक्षित विद्यार्थीलाई आग्रह गरे ।

विश्वविद्यालयहरूलाई प्रतिस्पर्धी, प्रभावकारी र नमुना बनाउनका लागि प्राज्ञिक जनशक्तिलाई नै सञ्चालनको जिम्मा दिइनुपर्नेमा उनको जोड थियो । देशमा रोजगारी सिर्जना गर्न रोजगार नपाएकाहरूलाई रोजगारमा जोड्न शैक्षिक नीतिमा परिवर्तन गर्ने सोचमा सरकार रहेको उनको भनाइ थियो।