Skip This
निम्न वर्गमाथि लघुवित्तको कहर : सात दिन हिँडेर काठमाडौं आएका पीडितले रिङरोडमा गरे प्रदर्शन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Saturday, 27 July, 2024
टेकराज थामी काठमाडाैं
२o८o फाल्गुण ९ बुधबार o८:३२:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निम्न वर्गमाथि लघुवित्तको कहर : सात दिन हिँडेर काठमाडौं आएका पीडितले रिङरोडमा गरे प्रदर्शन

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार o८:३२:oo

लघुवित्तले दिएको मानसिक यातना सहन नसकेपछि गुल्मी दरबार गापा– ४ की शिखा रेस्मी आत्महत्या गर्न घरबाट निस्किइन् । पासो लगाउने क्रममा स्थानीयले देखे । उद्धारपछि बल्ल उनको ज्यान जोगियो । सुरुमा स्थानीय लघुवित्त ऋण दिन भन्दै उनको घरमै आए । अनेक प्रलोभन देखाए । १५ हजार रुपैयाँ ऋण जबर्जस्ती भिराए । ब्याज तिर्न आयस्रोतले पुगेन । ऋण लिन उनी अर्को लघुवित्त पुगिन् । चर्को ब्याजमा पुनः ऋण लिइन् । र, पहिलेको लघुवित्तबाट लिएको ऋण तिर्दै गइन् । दुईवटा लघुवित्तको ऋण उनलाई अझ चर्को बन्यो । ऋण तिर्न उनी फेरि नयाँ लघुवित्तको खोजीमा जुटिन् । 

लघुवित्तबाट ऋण लिने र लघुवित्तमै बुझाउने सिलसिला १२ वर्ष चल्यो । यस क्रममा उनलाई १५ लाख रुपैयाँ ऋण लाग्यो । लघुवित्त चुप बस्ने पक्षमा थिएनन् । उनीहरू शिखाको घरभित्र घुसे । उनीहरूले कहिले शिखाको घरमा ताला ठोके । कहिले गोठको भैँसी उठाउन अघि बढे । चुलोदेखि गोठसम्म लघुवित्तका कर्मचारीले पछ्याउन थालेपछि शिखा आजित भइन् । र, आत्महत्या गर्ने तहसम्म पुगिन् । धन्न स्थानीयको नजर उनीमाथि पर्‍यो र बाँच्न सफल भइन् । 

पाँच दिनको पैदल यात्रापछि काठमाडौं आइपुगेकी उनले भनिन्, ‘लघुवित्तको १५ हजार ऋणले अर्को १५ लाख ऋण बोकायो । तिर्न नसकेपछि लघुवित्तले दिनुसम्म मानसिक यातना दिए । जसले मलाई आत्महत्या गर्ने स्थितिसम्म पुर्‍यायो । धन्न दिन बलियो रहेछ र स्थानीयले बचाए । सोही पीडा लिएर हामी काठमाडौं आइपुगेका छौँ । माग पुरा होला–नहोला हेर्नुछ ।’

गोरखा आरुघाट गापा– ५ की गीता गुरुङ लघुवित्तको ज्यादतीविरुद्धको आन्दोलनमा पाँच दिनअघि मुग्लिनबाट सहभागी भइन् । अन्य पीडितसँगै पैदल हिँडेर उनी दुई दिनअघि काठमाडौं आइपुगिन् । कलंकीबाट सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज, गोंगबु, स्वयम्भू हुँदै पुनः कलंकीको चक्र लगाउन उनलाई दुई दिन लाग्यो । लघुवित्तको ज्यादतीविरुद्धको आन्दोलनमा उनीसँगै १० हजार पीडित सहभागी भए । 

कलंकीस्थित कोणसभामा भेटिएकी उनले भनिन्, ‘गाउँमा लघुवित्तले उठिवास लगायो । पीडा सहन सक्ने अवस्था भएन । त्यसो हुँदा पीडितहरूको आन्दोलनमा सहभागी हुन आउनुपर्‍यो । यसक्रममा हामीले पैदल हिँडेर सात दिन बिताइसकेका छौँ । माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ ।’

अरुघाट– ५ भैलेनीकी उनले स्थानीय लघुवित्तबाट एक लाख ऋण लिएकी थिइन् । १५ प्रतिशत ब्याज कटौती भएर उनले पाउने रकम ८५ हजार रुपैयाँ निर्धारण भयो । त्यसमा पाँच हजार रुपैयाँ सेवाशुल्क बुझाउनुपर्ने भयो । अर्काे १० हजार रुपैयाँ धरौटी राख्नुपर्‍यो । त्यसो हुँदा उनको हातमा पर्‍यो, ७० हजार रुपैयाँ मात्रै । यसबापत उनले प्रतिमहिना बुझाउनुपर्ने किस्ता तोकियो, १० हजार रुपैयाँ । यसरी उनले हात पारेको ७० हजार रुपैयाँ ऋणको वर्ष दिनमा एक लाख ५० हजार रुपैयाँ लघुवित्तमा बुझाउनुपर्ने भयो । किस्ता बुझाउन उनीसँग बलियो आर्थिक स्रोत भएन । किस्ता बुझाउन पुनः अर्को लघुवित्तको शरणमा जानुपर्ने भयो । एकपछि अर्को ‘ट्र्याप’ परेकी उनले भनिन्, ‘लघुवित्तको पासोमा परेर गाउँ छाड्ने मजस्तै धेरै छन् । मेरै टोलमा मात्रै सरला गुरुङ, पुजा गुरुङ, फुलमती गुरुङ र नैने गुरुङले गाउँ छाडे ।’

लघुवित्तमा बचतको हिसाबै छैन
आन्दोलनमा सहभागी गुरुङका अनुसार लघुवित्तमा स्थानीयले ऋण मात्रै लिएका छैनन् । कतिपयले बचत पनि गरेका छन् । तर, लघुवित्त त्यस्ता बचतको कुनै हिसाब देखाउँदैनन् । त्यसो हुँदा धेरै स्थानीयको बचतसमेत लघुवित्तले हरण गर्ने अवस्था सिर्जना भएको छ । उनले भनिन्, ‘लघुवित्तबाट हामीले ऋण मात्रै लिएका छैनौँ । बचत पनि गरेका छौँ । तर, त्यस्ता बचतको लघुवित्त कुनै हिसाब देखाउँदैनन् । त्यसो हुँदा लघुवित्तले धेरै स्थानीयको बचतबापतको रकम हिनामिना गरेको छ ।’

लघुवित्तपीडितको आन्दोलनमा सर्लाही कविलासी नपा– ८ की शान्तिकुमारी महरा पनि सहभागी हुन आइपुगेकी छिन् । उनले स्थानीय लघुवित्तबाट ५० हजार ऋण लिएकी थिइन् । तिर्न नसकेपछि पुनः अर्को लघुवित्तबाट ऋण लिइन् । एकपछि अर्को गर्दै उनी लघुवित्तको पासोमा पर्दै गइन् । सोहीकारण, उनको गाउँबाट उठिवास लाग्यो । आन्दोलनमा सहभागी हुन आइपुगेका गाउँका अन्य पीडितसँग भेटिएकी उनले भनिन्, ‘लघुवित्तले उठिवास लगायो । घरमा बस्ने अवस्था भएन । लुघवित्तका कर्मचारी आउँछन् । कहिले ताला लगाउँछु भन्छन् । कहिले भैँसी लिएर जान्छु भन्छन् । मानसिक यातना भयो । बस्नै नसक्ने भएपछि गाउँ छाड्नुपर्ने अवस्था आयो ।’

२८ लाख पीडित रहेको दाबी
लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालका अनुसार मुलुकभर अहिले लघुवित्तपीडित २८ लाखभन्दा धेरै छन् । जसमध्ये ५० हजार पीडित संघर्षरत छन् । पाँच लाख पीडितले किस्ताबापतको रकम तिर्न अस्वीकार गरेका छन् । लघुवित्तको मानसिक यातनापछि एक हजार पाँच सय पीडितले आत्महत्या गरिसकेको समितिको दाबी छ । लघुवित्तपीडितको अवस्था दयनीय बनेको संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीको भनाइ छ ।

उनले भने, ‘मुलुकभर २८ लाख लघुवित्तपीडित छन् । त्यसमध्ये कतिले मुलुक छाडेर भारत गए । कतिको उठिवास भयो । १५ सयजनाले त आत्महत्या नै गरे । ज्यादती चर्को छ । आत्महत्या गर्ने दर अझ बढ्ने खतरा छ । त्यसो हुँदा हामी आन्दोलनमा उत्रिनुपरेको हो । माग पूरा नभएसम्म संघर्ष जारी रहन्छ ।’ लघुवित्तलाई नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको इजाजत दिएको छ ।

लुघवित्त कम्पनी ऐन ०६३ अनुसार दर्ता हुन्छ । ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशिका ०७८ अनुसार एक ऋणीलाई दुईवटा वित्तीय संस्थाले ऋण लगानी गर्न पाउँदैन । निर्देशिकाअनुसार वित्तीय संस्थाले एउटा ऋणीलाई बढीमा सात लाख रुपैयाँ मात्रै ऋण लगानी गर्न पाउँछ । यसका लागि प्रत्येक वित्तीय संस्थाले नागरिकलाई वित्तीय साक्षरता दिनुपर्छ ।

तर, वित्तीय संस्थाले त्यसो नगरेको संघर्ष समितिका अध्यक्ष ज्ञवालीको भनाइ छ । उनले भने, ‘अहिले वित्तीय संस्था ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशका ०७८ अनुसार चल्दै आएको छ । यसअनुसार वित्तीय संस्थाले एउटा ऋणीलाई बढीमा सात लाख रुपैयाँ मात्रै ऋण लगानी गर्न पाउँछ । यसका लागि प्रत्येक वित्तीय संस्थाले नागरिकलाई वित्तीय साक्षरता दिनुपर्छ । तर, वित्तीय संस्थाले त्यसो गरेका छैनन् । त्यसो हुँदा यस्ता संस्था अविलम्ब बन्द गरिनुपर्छ ।’