एकजना दाउरे जंगलबाट दाउरा काटेर घरतिर फर्किंदै थियो । बाटामा एउटा भोको सिंह भेटियो । सिंहले दाउरेसँग भन्यो— दाउरे दाइ, आज मैले बिहानदेखि कुनै सिकार भेटिनँ । म अहिलेसम्म भोकै छु । त्यसैले, अब तिमीलाई खाएर म आफ्नो भोक मेट्न चाहन्छु ।
सिंहको कुरा सुनेर दाउरे आत्तियो । तैपनि, धैर्यपूर्वक उसले भन्यो– सिंह भाइ, मलाई खाएर तिम्रो भोक मेटिन्छ भने मलाई कुनै आपत्ति छैन । तर, तिमीले खानुअघि मलाई एकपटक घर जान दिनुपर्छ । घरमा मेरी बिरामी पत्नी र बालिका छोरी भोकै छन् । म यो दाउरा बजारमा लगेर बेच्छु र त्यसबाट केही खानेकुराको व्यवस्था गरेर उनीहरूको भोक मेटाउँछु । अनि मात्र म तिमीकहाँ आउँछु । त्यतिन्जेल तिमी मलाई पर्खिराख ।
दाउरेका कुरा सुनेपछि हाँस्दै सिंहले भन्यो– तिमीले मलाई मूर्ख ठानेका छौ कि के हो ? यहाँबाट फुत्किसकेपछि फेरि तिमी मेरो आहारा बन्न यहीँ फर्किन्छौ भनेर कसले विश्वास गर्छ ? दाउरेले सिंहलाई विश्वास दिलाउँदै भन्यो– हेर म साँचो बोल्दै छु । यदि तिमीले मलाई अहिले जान दिएनौ भने म त मर्छु नै, साथमा मेरी बिरामी पत्नी र बालिका छोरी पनि मर्छन् । त्यसैले, मलाई अहिले जान देऊ, म अवश्यै फर्किनेछु ।
दाउरेको अनुनय सुनेपछि सिंहलाई दया लाग्यो । उसले दाउरेलाई जान दियो । दाउरे बजार पुग्यो । दाउरा बेच्यो । खानेकुरा किन्यो र घर पुग्यो । उसले बिरामी पत्नी र बालिका छोरीलाई खाना खुवायो । उनीहरूको पेट भरिसकेपछि ऊ चुपचाप घरबाट निस्कियो र सिंह भएको ठाउँमा पुग्यो ।
यसरी दाउरे आफ्नो आहारा बन्न लुरुलुरु आएको देख्दा सिंह छक्क प¥यो । उसलाई दाउरेको इमानदारी देख्दा दया लाग्यो । उसले भन्यो– दाउरे दाइ, तिमी साँच्चै वचनका पक्का रहेछौ । यति इमानदार मान्छेलाई मारेर भोक मेट्नु छैन मलाई । जाऊ तिमीलाई मैले छाडिदिएँ । सिंहको कुरा सुनेपछि दाउरे उसलाई धन्यवाद दिएर घरतिर फर्कियो ।