मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ३ सोमबार
  • Monday, 15 April, 2024
रमेश सुवेदी काठमाडाैं
२०८० फाल्गुण ५ शनिबार ०९:२९:००
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारतीय जुरीको पक्षपातले ग्वान्झाउ एसियाडमा कांस्यमै रोकिएँ 

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०८० फाल्गुण ५ शनिबार ०९:२९:००

नेपालले सन् २०१० ग्वान्झाउमा भएको १६औँ एसियाली खेलकुदमा एउटै मात्र पदक कांस्य बक्सिङले जितेको थियो । मुक्केबाज दीपक महर्जनले ८१ केजीको लाइट हेभिवेट समूहमा कांस्य जितेका थिए । थाइल्यान्डका खेलाडी क्रिइङकाई सुखुमलाई क्वार्टरफाइनलमा हराएपछि उनको कांस्य पदक पक्का भएको थियो । त्यसवेला नेपालबाट सहभागी अन्य खेलबाट पदकको आशा गरिएको थियो । तर, ती खेलबाट पदक नआउँदा नेपाल लगभग चीनबाट खाली हात फर्कने निश्चित भइसकेको थियो । दीपकले कसैले आशा नगरेको पदक दिलाए । उनी अहिले बक्सिङको एआइबिए थ्री स्टार कोच हुन् । एसियाडमा नेपालका लागि एक मात्र पदक दिलाउँदाको क्षण उनले नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई यसरी सुनाए :

थाइल्यान्डको प्रशिक्षणपछि कोटा पक्का भयो
चीनमा आयोजना हुने १६औँ एसियाडमा हामीले ५–६ महिनादेखि नै तयारी गरेका थियौँ । ग्वान्झाउमा जानुअघि हामीले थाइल्यान्डमा विशेष प्रशिक्षणको अवसर पायौँ । त्यहाँ दुई महिनाको तयारी भयो । बक्सिङको तयारी र प्रशिक्षणका निमित्त थाइल्यान्डको बैंकक असाध्यै राम्रो मानिन्छ । बैंककमा त्यसैवेला एउटा अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता भएको थियो । एक प्रकारले यो हामी मुक्केबाजका लागि मिनी ओलम्पिकजस्तै हो । त्यहाँ विकसित राष्ट्रका प्रोफेसनल बक्सरहरू खेल्न आएका थिए । यहाँ लामो तयारीपछि मैले एसियाडको कोटा पक्का गरेको थिएँ । मिनी ओलम्पिकमा मैले कांस्य हात पारेँ । थाइल्यान्डका घरेलु खेलाडीलाई नकआउट गरेपछि एसियाडमा मेरो  नाम राखिएको थियो । त्यसपछि मात्रै म प्रशिक्षकको नजरमा पर्न थालेँ । बैंककमा रमाइलो पक्ष भनेको विभिन्न राष्ट्रका कम्तीमा ४० देखि ४५ खेलाडी एकै रिङमा अभ्यास गर्ने गर्थे । बैंककको प्रशिक्षण सम्झना पीडासँगै खुसी पनि लाग्छ । त्यहाँ एसियाली र अन्य देशका नाम चलेका मुक्केबाजहरूसँग अभ्यास गरेका थियौँ । उनीहरूको रामधुलाइ खाएपछि बल्ल हामीले पनि बक्सिङमा केही सिक्ने अवसर पायौँ । त्यसपछि मात्र बक्सिङ रिङमा विपक्षी जतिसुकै बलिया भए पनि हामी डराएनौँ । उनीहरूविरुद्ध त्यही स्तरमा प्रतिस्पर्धा गर्न हिम्मत आयो । 

थाइल्यान्ड सधैँ मामाघर जस्तो लाग्छ
थाइल्यान्डमा दुई–तीन महिना अभ्यास भयो । मेरो नजरमा थाइल्यान्ड मामाघरजस्तै हो । नेपाललाई बक्सिङलगायत अन्य खेलमा सधैँ र माया गर्ने देश नै थाइल्यान्ड हो । उनीहरूकै सबै खर्चमा हामीले थाइल्यान्डमा अभ्यासदेखि प्रतियोगिता खेल्ने अवसर पाइरहेका छौँ । अहिले पनि यो निरन्तर छ । सन् २०१० मा एसियाडको तयारीमा रहेका मलगायत अन्य पाँचजना खेलाडी बैंककको अभ्यासपछि चीन पुगेका थियौँ । त्यहाँको अभ्यास स्तरीय नहुँदा ग्वान्झाउमा कांस्य पदकको सम्भावना हुने थिएन । थाइल्यान्डमा गरिएको अभ्यासले नै हामी बलिया भयौँ । जहाँसम्म लाग्छ, बुद्ध धर्मको सम्बन्धले पनि होला । त्यहाँ पनि बुद्ध धर्म निकै मान्छन् । नेपालमा पनि पनि उस्तै छ । त्यसले दुई देशबीचको सम्बन्ध प्रगाढ बनेको हुनुपर्छ । नेपाली प्रशिक्षकले बेवास्ता गरे पनि थाइल्यान्डका प्रशिक्षकले मलाई राम्रो अभ्यास गराएका थिए । थाइल्यान्डमा सुवान कोच हुनुहुन्थ्यो । उहाँले मलाई सधैँ केन्द्रमा राख्नुभएको थियो । नेपाली प्रशिक्षकबीचको विवादले मेरो तयारी त्यति राम्रो हुन सकेको थिएन ।

काठमाडौंमा फर्किँदा भव्य स्वागत

प्रशिक्षकहरूको आपसी विवाद खेलाडीसम्म गाँसिन पुग्यो । आफूअनुकूलका खेलाडीलाई मात्रै अन्तर्राष्ट्रिय रिङमा उतार्ने प्रचलन थियो, जुन अहिले पनि यसले निरन्तरता पाइरहेको छ । केही व्यक्ति तत्कालीन मेरो पछाडि परेका थिए । प्रशिक्षकहरूको लडाइँमा खेलाडी ‘बलिको बोका’ हुँदा मजस्ता धेरै खेलाडीले अवसर पाएनन् । तर, मैले एकै अवसरमा आफ्नो प्रभाव देखाएँ । जसको कारण नेपालले ग्वान्झाउमा पदक जित्न सफल भयो । नेपाल बक्सिङ संघ तत्काल निकै विवाद थियो । यसै दबाबबीच मेरो नाम समावेश भयो । तर, नेपाली प्रशिक्षकबीचको विवादका कारण हाम्रो प्रशिक्षण राम्रो भएन ।

थाई खेलाडीलाई मनको बाघले खायो 
थाइल्यान्डमा विशेष प्रशिक्षणपछि हामी नेपाली बक्सिङ टोली चीन पुग्यौँ । त्यहाँ सबै खेलाडीको तौल नापियो । सबै देशका खेलाडीलाई एकै होटेलमा राखिएको थियो । बिहानदेखि बेलुकासम्म हामी सबै एकै हलमा बसेर खाना खान्थ्यौँ । यसकारण सबै खेलाडीबीच एक–आपसमा नजिकबाट नियाल्ने अवसर मिलेको थियो । त्यो अवसरलाई म भाग्यमानी ठान्छु । मैले प्रिक्वार्टरफाइनलमा बाई पाएँ । सीधै क्वार्टरफाइनल खेल भएको थियो । क्वार्टरफाइनलमा मेरो प्रतिद्वन्द्वी घरेलु खेलाडी थाई थिए । मैले उनलाई ४–० ले हराएँ । 

क्वार्टरफाइनल खेल्न रिङमा जानुअघि हामी दुईबीच भेट भएको थियो । उनले थाइल्यान्डमा भएको घटना सम्झेका थिए । मैले थाइल्यान्डमा अभ्यासका क्रममा त्यही थाई खेलाडीलाई एक मुक्कामा सुताएको थिएँ । ती थाई खेलाडी एक साता ओछ्यानमै सुतेको भन्ने सुनेको थिएँ । थाइल्यान्डमै मेरो मुक्काले सुतेका ती थाई खेलाडीलाई चीनमा मनको बाघले खायो । रिङमा मलाई सहज भएको थियो । मसँग रिङमा निकै डराएर उनले खेले । यसको फाइदा मैले खुबै लिएँ । थाई खेलाडीले एक अंक पनि लिन सकेनन् । यदि नडराएको भए पक्कै अंक गुम्ने थियो । थाइल्यान्डलाई हराएपछि कांस्य पक्का भएको थियो । 

भारतीय जुरी भएकै कारण कांस्यमै सीमित 
सेमिफाइनलमा मेरो प्रतिद्वन्द्वी भारतीय खेलाडी दीनेशकुमार सिंह थिए । उनी भारतका निकै राम्रा खेलाडी थिए । भारतले उनीबाट स्वर्णको आशा गरेको थियो । फेरि चीनमै आयोजना भएको बेइजिङ ओलम्पिकमा उनी क्वार्टरफाइनलसम्म पुगेका थिए । त्यसवेला भारतमा विजेन्द्र सिंहपछि दिनेशको आउँथ्यो । उनको बानी नै रिङमा धेरै अट्याक खेल्ने थियो । उनका अगाडि म हाइटमा अलि होचो नै थिएँ । उनलाई हाइटको फाइदा थियो । फेरि जुरीमा भारतकै पदाधिकारी थिए । त्यसकारण पनि भारतीय खेलाडीलाई फाइदा भयो । भारतीय जुरी नभएको भए त्यो खेलको नतिजा मेरो पक्षमा हुने थियो । उनले हल्का मलाई छुँदा पनि जुरीका सदस्यले अंक दिन्थे । मज्जाले जति बल गरी उनलाई मुक्का प्रहार गर्दा पनि स्कोर जुरीले दिएनन् । तर, अट्याकअनुसार मैले जितेको जस्तो लागेको थियो । मेरो आफ्नो प्रदर्शनअनुसार फाइनल पुग्नेमा ढुक्क थिएँ । तर, निर्णय भारतीय खेलाडीको हकमा आयो । मेरो प्रहारमा भारतीय खेलाडीको रगत आएको थियो । मैले रिङको चारैतिर भारतीय खेलाडीलाई लखेटेको थिएँ । उनी भने भाग्दै हिँडे । यसकारण फाइनल पुग्ने विश्वस्त थिएँ । बक्सिङमा जुरीको निर्णय नै अन्तिम हुन्छ । अपिल गर्‍यो भने पदक नै खोसिने हुँदा केही गरिनँ । 

सेमिफाइनल पुगेपछि नेपाल ओलम्पिक कमिटीले तत्कालै पाँच सय डलर पुरस्कार घोषणा गरेको थियो । त्यसको भोलिपल्टै रुपैयाँ दिएको थियो । सम्भवतः त्यसवेला बक्सिङबाट पदक आउने कसैले पनि कल्पना नै गरेका थिएनन् । फेरि कसैले पनि थाई खेलाडीलाई हराउँछ भनेर सोचेकै थिएन । संघका कुनै पदाधिकारी र प्रशिक्षकले मबाट कांस्य भित्रिने कल्पना नै गरेनन् । विमानस्थल ओर्लिँदा निकै खुसी भएँ । हजारौँ मान्छे अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । मलाई विजय र्‍याली गर्दै गौशाला, नारायणगोपाल चोक, लाजिम्पाट हुँदै रंगशाला ल्याइएको थियो । 

सफल भएको हेर्न नचाहने प्रशिक्षक 
अहिले राखेप तालिम तथा प्रशिक्षण विभागका प्रमुख प्रचण्ड शर्मा हुनुहुन्छ । सन् २०१० को एसियाडमा उहाँ र विजय डंगोल (हाल अमेरिका) रहनुभएका प्रशिक्षकबीच चर्काे प्रतिस्पर्धा थियो । प्रचण्ड गुरुको स्वभाव जहिल्यै पनि ठूलो बन्नुपर्ने हुन्थ्यो । एसियाडको तयारीमा विजय गुरुले मलाई प्रशिक्षण गराइराख्नुभएको थियो । राखेपको आधिकारिक प्रशिक्षकमा प्रचण्ड गुरु नै हुनुहुन्थ्यो । एसियाडमा म पनि समावेश भएपछि प्रचण्ड गुरु खासै खुसी देखिनुभएन । उहाँले प्रशिक्षणका दौरान मलाई एकपटक पन्च हान्न सिकाउनुभएन । तर, जब मैले पदक ल्याएँ, उहाँ नै ठूलो हुनुभयो । उत्कृष्ट प्रशिक्षक पनि हुनुभयो । मैले पदक जित्नुको पछाडि विजय गुरुको योगदान निकै ठूलो छ । एसियाडमा मैले कांस्य जितेपछि सर्वत्र प्रचण्ड गुरुकै बखान भयो । अन्तर्राष्ट्रिय खेलकु्द प्रतियोगितामा सहभागी हुने खेलको मुख्य प्रशिक्षक निर्धारण गर्ने काम राखेपको हुन्छ । त्यसवेला मैले विजय गुरुसँग प्रशिक्षण गरिरहे पनि अन्तिममा राखेपले नै प्रचण्ड गुरुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । कांस्य जित्दा मैले विजय गुरुको नाम खासै लिन सकिनँ । कमै मात्र मैले उहाँको नाम लिएको होला । तर, आज म खुलस्त रूपमा भन्छु, ग्वान्झाउ एसियाडमा मलाई प्रचण्ड गुरुले केही पनि सिकाउनुभएन । सायद म विजय गुरुको चेलो भएका कारण उहाँले ईष्र्या राखेको हुनुपर्छ । आजको दिनसम्म पनि यही छ । १९औँ एसियन गेम्समा म प्रशिक्षक थिएँ । तर, मलाई कहिल्यै पनि उहाँले खेलाडीलाई प्रशिक्षण गर्ने अवसर दिनुभएन । यो विषयमा सदस्यसचिव (टंकलाल घिसिङ)लाई पनि भनेको थिएँ । तर, प्रचण्ड गुरु नै राखेपमा हाबी हुनुभयो ।