
दोस्रो संस्करणको आइसिसी विश्वकप लिग–२ मा नेपालले घरेलु मैदानमा आज नेदरल्यान्ड्सको सामना गर्दै छ । नेपाल र नेदरल्यान्ड्सबीच यो समग्रमा चौथो एकदिवसीय खेल हुनेछ । यसअघि दुई टोलीले चारपटक एकदिवसीय खेलमा प्रतिस्पर्धा गरिसकेका छन् । नेदरल्यान्ड्सले दुई र नेपालले एकपटक जित निकालेका छन् । नेपालले एकदिवसीय मान्यता प्राप्त गर्दा नेदरल्यान्ड्सविरुद्ध नै पहिलो सिरिज सन् २०१८ मा खेलेको थियो । पछिल्लोपटक यी दुई टोलीबीच जिम्बावेमा भएको विश्वकपको एकदिवसीय ग्लोबल छनोटमा प्रतिस्पर्धा भएको थियो ।
आइसिसी विश्वकप सुपर लिगको पुछारमा रहेपछि नेदरल्यान्ड्स विश्वकप लिग–२ मा घटुवा भएको हो । नेदरल्यान्ड्स पहिलोपटक लिग–२ मा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले पछिल्लो लिग–२ मा तेस्रो स्थानमा रहँदै एकदिवसीय ग्लोबल छनोट स्थान सुरक्षित गरेको थियो । यसपटक पनि आइसिसीले एकदिवसीय विश्वकप छनोटको रोडम्यापका रूपमा रहेको विश्वकप लिग–२ मा ढाँचा बनाएको हो । यसपटकको शृंखलामा नेपालले कमजोर सुरुवात गरेको छ । बिहीबार आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भयो । पछिल्लो संस्करणमा नेपालले १२ मध्ये ११ खेलमा जित निकालेको थियो ।
नेदरल्यान्ड्सविरुद्ध नै पहिलो एकदिवसीय सिरिज
सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गरेलगत्तै नेपालले नेदरल्यान्ड्सको घरेलु मैदानमा तीन खेलको शृंखलामा सहभागिता जनाएको थियो । नेपाली क्रिकेटकै पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेदरल्यान्ड्स ५५ रनले विजयी भयो । सो खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ६१ बलमा आठ चौकाको सहयोगमा ५१ रन र दीपेन्द्रसिंह ऐरीले ४८ बलमा दुई चौका र एक छक्का प्रहार गरी ३३ रन बनाएका थिए । बलिङतर्फ तत्कालीन कप्तान पारस खड्काले २६ रन खर्चेर चार विकेट लिएका थिए । सोमपाल कामीले ८.४ ओभरमा ३४ रन खर्चेर तीन विकेट लिएका थिए ।
दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि एक रनको रोमाञ्चक जित निकाल्यो । पहिलो ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा सबै विकेट गुमाएर दुई सय १६ रन जोडेको थियो । प्रत्युत्तरमा नेदरल्यान्ड्स ५० आभेरमा दुई सय १५ रनमा समेटियो । नेपाल र नेदरल्यान्ड्सबीचको तेस्रो खेल भने अनिर्णीत रूपमा सकियो ।
सन् २०२३ को १४ जुनमा नेपाल र नेदरल्यान्ड्सबीच चौथो एकदिवसीय खेल जिम्बावेमा भएको थियो । जसमा नेपालमाथि नेदरल्यान्ड्सले सात विकेटको जित निकाल्यो ।