Skip This
पूर्व र पश्चिमबाट एकसाथ हिँडेका मिटरब्याजीपीडित चितवनमा भेट्दै- ‘मरेको न्याय’ ब्युँताएरै छाड्ने अठोट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २ बुधबार
  • Saturday, 27 July, 2024
मिटरब्याजीपीडितले १५ दिनअघि महेन्द्रनगरबाट सुरु गरेको ‘न्याय मार्च’का सहभागी । काठमाडौं हिँडेका ‘न्याय मार्च’का सहभागी मंगलबार नवलपरासीको नवलपुर आइपुगेका छन् । तस्बिर : नयाँ पत्रिका
२o८o फाल्गुण २ बुधबार o८:४९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्व र पश्चिमबाट एकसाथ हिँडेका मिटरब्याजीपीडित चितवनमा भेट्दै- ‘मरेको न्याय’ ब्युँताएरै छाड्ने अठोट

पीडितहरूको व्यथा एक, कथा अनेक 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २ बुधबार o८:४९:oo

गत वर्ष काठमाडौं आएर लामो समयसम्म धर्ना बस्दा पनि रित्तो हात फर्किएका मिटरब्जायीपीडितहरू ‘न्याय मरेको’ भन्दै ‘मरेको न्याय’ ब्युँताउन पूर्व–पश्चिमबाट एकसाथ आन्दोलनमा उत्रिएका छन् । १५ दिनअघि पश्चिमबाट ‘न्याय मार्च’ अभियानसहित काठमाडौंतर्फ हिँडेका मिटरब्याजीपीडितहरूको टोली मंगलबार नवलपुर आइपुगेको छ । यसैगरी, पूर्वबाट आएको टोली बुधबार चितवन नारायणगढ पुग्ने र भेटेर शनिबारसँगै काठमाडौंतर्फ उक्लने जनाइएको छ । 

मिटरब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिको अगुवाइमा काँकडभिट्टास्थित मेचीपुलबाट र पश्चिमको सीमावर्ती महेन्द्रनगरबाट ‘न्याय मार्च’ सुरु भएको हो । दुवैतर्फका सहभागीहरू चितवनमा भेट्ने र एकीकृत भएर काठमाडौं जाने संघर्ष समितिले जनाएको छ । पश्चिम नेपालबाट आएको टोलीलाई पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायतका मिटरब्याजीपीडितहरूले साथ दिएका छन् । उनीहरूलाई सम्बन्धित जिल्लाका 
मिटरब्याजीपीडितले खाना र वासको व्यवस्था गर्ने गरेका छन् । 

पीडितहरूको व्यथा एक, कथा अनेक 

- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका– ५ पक्लिहवानिवासी रामशुभग मुसहर आफ्ना लागि न्याय मरेको र जगाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘समाज (पीडितहरू) बल्ल जागेको छन् । अब त न्याय पाइन्छ कि भन्ने आस छ ।’ उनले छोरीको विवाह गर्न लिएको साढे चार लाख रुपैयाँ दशा बनेर घर भित्रियो । उनी भन्छन्, ‘छोरीको विवाह गर्न १० कट्ठा जग्गा दिएर साढे चार लाख लिएको थिए । उक्त ऋण डेढ वर्षपछि साँवा–ब्याजसहित नौ लाख ४० हजार तिरे । तर, साहुले अझै पनि न पैसा तिरेको कागज दिन्छ न त जग्गा नै फिर्ता ।’ ऋण चुक्ता भइसक्दा पनि जग्गा नदिने साहु हुन् सन्दीपप्रसाद जोशी । उनले उक्त जग्गा अर्कैलाई बेचेर बिदेसिएका छन् । यही पीडा सहन नसकेर रामशुभगकी श्रीमतीको हृदयाघातका कारण निधन भएको छ । छोरीको विवाहमा लागेको ऋण तिर्न छोरालाई विदेश पठाउन उनले अर्को साहु प्रतापपुरका जगदिश बानियासँग साढे १० धुर जग्गा दिएर डेढ लाख रुपैयाँ लिए । डेढ लाख लिए पनि तीन लाख बुझेको कागज गराए । मुहसरले भने, ‘छोरालाई विदेश पठाउन लिएको रकम पनि दलालले खाइदियो । छोरा बीचबाटोबाट फर्कियो । तीन वर्षमा डेढ लाखको नौ लाख बुझाएँ । अझै १० लाख पुगेन भन्छ ।’ बानियाँले उक्त गाउँका ७०–८० जनाको जग्गा यसरी नै हडपेको पीडितहरूको गुनासो छ । बानियाँकै घरमा प्रतापपुर गाउँपालिकाको कार्यालय बसेका कारण मेरै घरमा गाउँपालिकाको अफिस छ मलाई कसले कारबाही गर्छ भन्दै धम्क्याउँदै हिँड्ने गरेको पीडितहरूले बताए । रामशुभगलाई यति चोटले मात्रै छाडेन । छोरा विदेश जान लिएको डेढ लाख ऋण तिर्न (साहुका अनुसार १० लाख) उनले साढे तीन कट्ठा घडेरी बेचे । तर, उनी त्यसमा पनि ठगिए । उनले भैरहवाका मनीष पोखरेलबाट एक लाख लिएर बाँकी पैसा पछि भुक्तान गर्ने गरी साढे नौ लाखमा जग्गा बेचे । जग्गा बेचाउन दलाली गरेका मुरारीले एक लाखबाट ७५ हजार खाइदिए । रामशुभगको हातमा २५ हजार मात्र पर्‍यो । उनले केही समयपछि ६ लाख ८३ हजारको चेक त पाए । तर मनीषले उनलाई झुक्याएर चेकमा मिति नै बिगारेर दिएकारहेछन् । उनले भने, ‘मैले चेकमा मिति मिलाउन एक वर्ष धाएँ । न मिति मिलाइदियो न अर्को चेक दियो । २५ हजारमा साढे तीन कट्ठा घडेरी खाइदियो ।’ 

- रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– २ निवासी रामावती लोधको पनि व्यथा उस्तै छ । उनले घरखर्च चलाउन स्थानीय नरेश यादवसँग ३० हजार ऋण लिए । यादवले ३५ हजारको कागज गराए । रामावतीका श्रीमान चन्दभान लोन वीरगन्जमा काम गर्थे । एक वर्षपछि ३० हजारको एक लाख २५ तिरेको उनले सुनाइन् । ‘बिरामी भएर उपचार गर्न र आराम गर्न घर आएका श्रीमान्लाई ऋण नतिरेको भन्दै बन्धक बनाए,’ उनले भनिन्, ‘राति ८ बजे श्रीमान्लाई बन्धक बनाएर साहुले लग्यो । त्यसपछि जग्गा धरौटी राखेर एक लाख २५ हजार ऋण तिरायो । अहिले त्यही ऋण साढे सात लाख पुग्यो भनेर दिनदिनै साहु घरमा आउँछन् । साहुले डबल तमसुक बनाएर राखेको छ ।’ 

- रुपन्देहीको भैरहवा– २ निवासी मुबारक धुनियाको कथा पनि उस्तै छ । उनले स्थानीय राम अवतारसँग २५ हजार ऋण लिए । तर, साहूले चार लाख रुपैयाँ बुझेको कागज गराए । उनले कतार गएर तीन वर्ष बसेर दुई लाख ७० हजार तिर्दा पनि उनको ऋण अझै चुक्का भएको छैन । मुबारक धुनिया भन्छन्, ‘२५ हजार लिएको हो । चार लाखको कागज गरायो । अहिले ब्याजसहित ६ लाख ६ हजार ६७ रुपैयाँ पुर्‍एको छ । मैले दुई लाख ७० हजार तिरेँ बाँकी तिर्न नसकेपछि भएको जग्गा पनि अदालतमा मुद्दा हालेर रोक्का गराइदिएको छ ।’ 

- रुपन्देही घर भई निवासी सुमित्रा लोहारले चार वर्षअघि छोरीको विवाह गर्न स्थानीय एक साहुसँग एक लाख ८० हजार लिएका । तर, उनलाई झुक्याएर पाँच लाखको कागज गरायो । अहिले ३६ लाख पुग्यो भनेर माग्ने गरेको उनले बताइन् । लोहार भन्छिन्, ‘न खेत छ न बारी छ । श्रीमान्ले साउदीमा कमाएको पैसा साहुलाई तिर्दै ठीक हुन्छ ।’ त्यसो त उनले छोरीको विवाहका लागि लिएको ऋण एक वर्षभित्र एकपटक एक लाख र अर्कोपटक ४० हजार गरी एक लाख ४० हजार तिरिसकेको बताइन् । उनी भन्छिन्, ‘तर चार वर्षपछि अहिले ३६ लाख पुग्यो भनेर दिनदिनै माग्न आउने गरेको छ ।’