कान्ति अस्पतालको फोहोर काठमाडौं महानगरले नउठाउने

बुधबार, २ फागुन, २०८०
डिजिटल संस्करण
कान्ति अस्पतालको फोहोर काठमाडौं महानगरले नउठाउने

कान्ति बाल अस्पतालमा फोहोर व्यवस्थापनबारे अनुगमन गर्दै महानगरपालिकाकी उपमेयर सुनीता डंगोल

काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ । महानगरका अनुसार अस्पतालको फोहोर वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर नउठाउने भएको हो ।

‘अरूलाई नमुना भएर देखाउनुपर्ने अस्पतालहरू आफैँले कमजोरी गरेको देखियो । अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो । तर, हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो । यो गलत प्रक्रिया हो,’ महानगरपालिकाकी उपमेयर एवं अनुगमन समितिकी संयोजक सुनीता डंगोलले मंगलबार अस्पतालको अनुगमन गर्दै भनिन्, ‘रोग उपचार गर्न आउने ठाउँ नै रोग उत्पादनस्थल बन्नुहुँदैन । यसलाई व्यवस्थापन गर्ने दायित्व महानगरपालिका एक्लैको होइन । अस्पतालहरूले आफूलाई स्वच्छ र स्वास्थ्य सेवा प्रवाह भएको प्रमाणित गराउनुपर्छ ।’

अस्पतालले हानिकारक फोहोर निर्मलीकरण गर्न उपकरण जडान गरेको छ । यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनुपर्ने अनुगमन टोलीले दिएको सुझाव छ । ‘फरक प्रकृतिको फोहोर राख्न रङ संकेतको पालना भएको पाइएन । यसबाट हानिकारक फोहोर अस्पतालबाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनुपर्ने अवस्था आएको हो,’ वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, ‘स्रोतमा फोहोर छुट्टिएको, हानिकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुनः प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको यकिन नहुन्जेल फोहोर उठाउँदैनौँ ।’

महानगरको टोलीले मंगलबार नै महाराजगन्जस्थित इन्टरनेसनल फ्रेन्डसिप चिल्ड्रेन हस्पिटलको अनुगमन गरेको छ । अस्पतालले स्रोतमा फोहोर वर्गीकरण गर्ने अभ्यास व्यवस्थित गरेको पाइयो । स्रोतबाट संकलन भएको फोहोर प्रशोधन कक्षमा पुगेपछि एकै ठाउँमा हुने गरेको देखियो । हानिकारक फोहोर निर्मलीकरणका लागि राखिएको अटोक्लेभ मेसिन सञ्चालन भएको देखिएन । मेसिनमाथि धुलो जमेको थियो । यसपछि फोहोर संकलन गर्ने स्थान पनि व्यवस्थित थिएन । यसरी हेर्दा स्रोतमा फोहोर वर्गीकरण राम्रो भए पनि नतिजा राम्रो थिएन । अनुगमन टोलीले अस्पताललाई वर्गीकरण भएको फोहोर प्रकृतिअनुसार व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

See More On

सुझावित समाचार