मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १६ बुधबार
  • Wednesday, 28 February, 2024
साहिद जाबेद बुर्का
२०८० माघ २८ आइतबार ०९:३६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इरान र पाकिस्तान युद्ध गर्न गइरहेका हुन् ? 

Read Time : > 2 मिनेट
साहिद जाबेद बुर्का
२०८० माघ २८ आइतबार ०९:३६:००

तनाव बढ्दै गएको र छद्म शक्ति यस क्षेत्रभर फैलिएकाले अबका घटनाक्रम के हुने हुन् भनेर आकलन गर्न गाह्रो हुँदै गइरहेको छ 

के बृहत् मध्यपूर्वी द्वन्द्वमा पाकिस्तान पनि घसेटिएको हो ? यसको उत्तर इरानमा भर पर्छ । इरानका छद्म समूहले गाजा, लेबनान र यमनमा मात्रै क्षेत्रीय तनाव बढाइरहेको छैन, इरानले मित्रवत् सम्बन्ध रहेका भनिएका मुलुक सिरिया, इराक र पाकिस्तानका हमलावर सशस्त्र समूहलाई समेत ढाडस दिएको छ । आणविक शक्तिसम्पन्न हुन खोजिरहेको इरानले हालै आणविक शक्ति राष्ट्र पाकिस्तानको भूमिमा मिसाइल र ड्रोन आक्रमण गर्नु चिन्ताजनक हो ।

सिरिया, इराक र पाकिस्तानमा गरिएको हमलालाई इरानले जवाफी कारबाहीको संज्ञा दिएको छ । इरानका अनुसार यी तीन मुलुकमा इरानविरोधी गतिविधि भइरहेका थिए । उदाहरणका लागि इरानी सहर केर्मनमा भएको आत्मघाती बम हमलापछि इरानले सिरियामाथि हमला गरेको थियो । एक हिसाबले यो नौलो विषय भने होइन । इरान र यसका छद्म समूहले वर्षौंदेखि इस्लामिक स्टेट (आइएसआइएस) विरुद्ध संघर्ष गर्दै आएको छ । सिरियाली राष्ट्रपति बसर अल–असद आफैँ आइएसआइएससँग युद्ध लड्न इरानमा निर्भर थिए । वास्तवमा असदले आइएसआइएसविरुद्धका अमेरिकी, इजरायली र टर्किस हमलाबाट लाभ लिएका छन् ।

तर, इराकी सहर तथा कुर्दिस्तानको राजधानी इर्बिलमा भएको इरानी हमला इजरायललाई सजाय दिन गरिएको थियो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका जनरल अमिर अलि हजिजदेहले इरानको राष्ट्रिय टेलिभिजनमा १६ जनवरीका दिन इजरायलले इरानको आणविक भट्टीमा हमला गर्न र आणविक वैज्ञानिक हत्या गर्न इर्बिलमा कार्यालय सञ्चालन गरेको जनाएका छन् । ‘हामीले यसको सामना गर्नैपथ्र्याे र सहिदका रगतको बदला लिनै गर्नुपथ्र्याै नै,’ हजिजदेहले भनेका छन् ।

त्यसैगरी इरानका विदेशमन्त्री होसेन अमिर–अब्दोल्लाहियाले सोही दिन पाकिस्तानको अस्थिर बलुचिस्तान प्रान्तमा सुन्नी अतिवादी समूहको तालिम केन्द्रलाई निसाना बनाएको जनाएका छन् । इरानीहरू जैस अल–अदल भन्ने समूहले पाकिस्तानसँगको इरानी सीमामा हमला गर्छ भन्नेमा विश्वास गर्छन् । जैस अल–अदलले हालै ११ इरानी अधिकारी हत्या गर्ने गरी हमला गरेको थियो । अदलको स्थापना सन् २०१२ मा भएको थियो । यो संगठन सुन्नी लडाकु संगठन जुन्दल्लाह समूह समाप्त भएपछि जन्मेको संस्था हो । जुन्दल्लाह समूह त्यतिवेला पतनउन्मुख भएको थियो, जब यसका नेता अब्दोलमालेक रिगीलाई सन् २०१० मा इरानले गिरफ्तार गरेर मृत्युदण्ड दिएको थियो । सन् २०२१ मा आइआरजिसीले जैस अल–अदलको कब्जामा परेका दुई इरानी अधिकारीलाई छुटाउन सीमापार कारबाही चलाएको थियो ।

गत महिना इरानी हमलापछि विश्लेषक अहमद कुरैसीले ‘पाकिस्तान यो घटनामा प्रतिक्रियारहित हुन सक्दैन । तर, जवाफी कारबाही एकदमै छिटो हुनेछ र त्यसले मानिसलाई आश्चर्यचकित बनाउनेछ’ भनी चेतावनी दिएका थिए । र, भयो पनि यस्तै । १८ जनवरीका दिन पाकिस्तानले इरानका लडाकु समूहमाथि हवाई हमला गर्‍यो, जसमा नौजना मारिएका थिए । 

पाँच सय ५९ माइलको सिमाना भएको इरान र पाकिस्तानले एक–अर्कालाई लडाकु समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएका छन् । पाकिस्तानले लामो समयदेखि इरानले बलुचिस्तानका पृथक्तावादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । सन् २०१७ मा पाकिस्तानले बलुचिस्तान प्रान्तमा एक इरानी ड्रोनलाई खसालेको थियो । तर, हालैको घटनाले पाकिस्तानी हतासाको आगोमा घिउ थपेको छ । इरान आफ्ना शत्रुलाई आफ्नो इच्छाअनुसार हमला गर्न सक्षम छ भन्नेमा विश्वस्त छ । इरानी रक्षामन्त्री मोहम्मद रेजा अस्तियानीले राज्य सञ्चालित मिडियामा ‘हामी मिसाइल शक्ति हौँ’ भनेका थिए । मिडियामा उनले ‘जहाँ कोही इस्लामिक गणतन्त्र इरानलाई खतरामा पार्ने कोसिस गर्छन् भने हामी तत्कालै प्रतिक्रिया जनाउनेछौँ र प्रतिक्रिया निश्चित रूपमा समानुपातिक, कडा र निर्णायक हुनेछ’ भनेका थिए । तसर्थ इरानको हालैको मिसाइल हमलाले इरानको शक्तिशाली हतियार प्रणालीको प्रदर्शन पनि गर्छ । सन् २०२२ मा मात्रै ल्याइएको ‘खेइबर सेकन’ मिसाइललाई गत महिना प्रयोग गरिएको थियो । यसले एक हजार चार सय ५० किलोमिटर दूरीमा हमला गर्न सक्छ, अर्थात् यो दूरी इजरायलमा हमला गर्न पर्याप्त छ ।

इरानले सन् १९८० को दशकमा लिबिया र उत्तर कोरियाबाट ल्याएको कच्चा स्कड मिसाइलको हतियार भण्डारण गरेयता लामो यात्रा तय गरिसकेको छ । आज इरानले आफ्नै मिसाइल डिजाइन र निर्माण गर्छ । यी मिसाइल इरानको बृहत् सैन्य र विदेश नीतिको केन्द्रबिन्दु हुन् । आफ्नै मिसाइल र आणविक कार्यक्रम विकास गरिसकेको पाकिस्तानलाई पनि आफ्नो छिमेकीको बढ्दो सैन्य शक्तिबारे कुनै भ्रम छैन । 

पाकिस्तानी र इरानी विदेशमन्त्रीले इरानी हमलापछि तुरुन्तै फोनमा कुरा गरे । र, पनि पाकिस्तानले जवाफी कारबाहीको आवश्यकता महसुस गर्‍यो । दुवै पक्षले सीमापारका पृथक्तावादी लडाकु समूहलाई लक्षित गरेको बताए । तर, यो घटना इजरायल र हमासबीचको द्वन्द्वसँग जोडिएको छैन भन्ने दुवैको दाबीमा विश्वास गर्न गाह्रो छ । तनाव बढ्दै जाँदा र छद्म बल यो क्षेत्रभरि फैलिएको अवस्थामा अबका घटनाक्रम के हुने हुन् भनेर आकलन गर्न थप गाह्रो हुँदै गएको छ ।

अहिले दुवै सरकार तनाव कम गर्नतर्फ लागिरहेका छन् । विदेशमन्त्री अमिर–अब्दोल्लाहिया इरानले ‘पाकिस्तानमा रहेका इरानी आतंककारीमाथि हमला गरेको हो, पाकिस्तानी जनतामाथि हमला गरेको होइन’ भनेका छन् । पाकिस्तानको पनि जवाफ यस्तै छ । दुवै पक्षले दशकौँदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको र त्यही यथास्थितिमा फर्कन चाहेको बताएका छन् । तर, छद्म बलले तनाव बढाउन र युद्धमा भ्रमको फाइदा उठाउन जारी राख्दासम्म यी क्षेत्रीय शक्तिबीच नयाँ हिंसाको वास्तविक खतरा मौजुद नै हुन्छ ।

(बुर्का पाकिस्तानका पूर्वअर्थमन्त्री एवं विश्व बैंकका पूर्वउपाध्यक्ष हुन्)
 प्रोजेक्ट सिन्डिकेट