१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २५ बिहीबार
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २५ बिहीबार o७:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल र स्विट्जरल्यान्डबीच हवाई सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २५ बिहीबार o७:४८:oo

नेपाल र स्विट्जरल्यान्डबीच सीधा हवाई सम्पर्क विस्तार गर्न द्विपक्षीय हवाई सम्झौता भएको छ । मंगलबार नेपाल र स्विट्जरल्यान्ड सरकार सम्झौतामा हस्ताक्षर भएसँगै द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशहरूको संख्या ४२ पुगेका छन् । अझै केही देशसँग द्विपक्षीय हवाई सम्झौताका लागि प्रक्रिया अगाडि बढिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता हेमराज तामाङले बताए । नेपालले अमेरिका र इन्डोनेसियासँग पनि द्विपक्षीय हवाई सम्झौताका लागि प्रक्रिया अघि बढाएको छ । गत मंसिरमा रुवान्डासँग पनि द्विपक्षीय हवाई सम्झौता भइसकेको छ । 

यो सम्झौतासँगै नेपाल र स्विट्जरल्यान्डबीच सीधा उडान गर्न बाटो खुला भएको छ । स्विट्जरल्यान्ड युरोपेली देश भए पनि युरोपियन युनियन (इयू)मा आबद्ध नभएकाले नेपाली वायुसेवाले पनि उडान गर्न सक्ने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । इयूले नेपाली उड्डयन क्षेत्रलाई सुरक्षा चासोको लिस्टमा राखेर नेपालमा दर्ता भएका वायुसेवाले युरोपमा उडान गर्न नपाउने गरी १० वर्षदेखि कालोसूचीमा राखेको छ । ‘सम्झौतासँगै दुवै देशका वायु सेवाले उडान गर्न पाउने भएका छन्,’ उनले भने, ‘झन्डै दुई वर्षदेखिको प्रयासले मूर्तता पाएको छ, बिस्तारै उडान पनि हुनेछन् ।’

नेपालले ४२ देशसँग द्विक्षीय हवाई सम्झौता गरे पनि १५ देशमा मात्र उडान गर्दै आइरहेको छ । नेपाल वायुसेवा निगम (नेवानि), हिमालय एयरलाइन्स र बुद्ध एयरले मलेसिया, दोहा (कतार), दुबई, भारतको दिल्ली, मुम्बई, बंगालुरु, कोलकाता र बनारस, हङकङ, बैंकक, दमाम, जापानको नारिता, अबुधाबी, रियाद, कुवेत, बंगलादेशको ढाका, चीनका विभिन्न सहरमा उडान गर्दै आएका छन् । नेपालसँगको द्विपक्षीय हवाई सम्झौताबाट विदेशी वायुसेवा कम्पनीले भने भरपुर फाइदा उठाउँदै आइरहेको देखिन्छ । अन्तर्राष्ट्रिय उडानका लागि नेवानिसँग दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी गरी चारवटा एयरबस छन् ।