तीन वर्षमा २८ प्रतिशत घर पुनर्निर्माण

२०७६ बैशाख २४ मंगलबार ०७:१२:००

भूकम्पले भत्किएका ललितपुरका २८ प्रतिशत निजी आवास मात्रै पुनर्निर्माण भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार, सात हजार आठ सय ३५ निजी आवास मात्र बनेका हुन् । पहिलो अनुदान किस्ता पाएकामध्ये १६ हजार सात सय ६४ परिवारले घर बनाउन सकेका छैनन् । पहिलो किस्ता पाउने लाभग्राहीको संख्या २४ हजार पाँच सय ९९ रहेको छ । त्यस्तै, १० हजार ६ सय १४ लाभग्राहीले दोस्रो किस्ता रकम लिएका छन् । 

ललितपुरमा लाभग्राहीको सूची २८ हजार चार सय ३५ रहेको छ । त्यसमध्ये तीन हजार ६ सय ३८ परिवारले प्राधिकरणसँग सम्झौता पनि गरेका छैनन् । उनीहरू घर बनाउन अनिच्छुक देखिएको, केही आर्थिक अभावले बनाउन नसकेको र केही लाभग्राहीको मृत्यु भएको जिल्ला कार्यान्वयन एकाइको प्रतिवेदनमा उल्लेख छ । 
ललितपुरमा सबैभन्दा बढी कोन्जोसोम गाउँपालिकामा ६१.७ प्रतिशत निजी आवास पुनर्निर्र्माण गरिएका छन् भने सबैभन्दा थोरै ललितपुर महानगरपालिकामा १०.८ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन् ।