१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अब नेपाली चिकित्सकबाटै कलेजो प्रत्यारोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o३:oo

 अबदेखि नेपाली चिकित्सकले नै कलेजो प्रत्यारोपण गर्ने भएका छन् । त्रिवि शिक्षण अस्पतालमा एक बिरामीको कलेजो प्रत्यारोपण सफल भएको छ । यसअघि विदेशी चिकित्सक बोलाएर कलेजो प्रत्यारोपण हुँदै आए पनि पहिलोपटक शिक्षण अस्पताल महाराजगन्जका सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको टिमले २७ पुसमा कलेजो प्रत्यारोपण गर्न सकेको हो । 

डा. भण्डारीको नेतृत्वमा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण सफल भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दान गरेकी थिइन् । ती पुरुषले अत्यधिक मदिरा सेवन गरेका कारण कलेजो नै काम नलाग्ने भएको थियो । कलेजो प्रत्यारोपण सफल भएपछि बिरामी १० दिनपछि डिस्चार्ज भएका थिए । अंगदान गर्ने महिला बिहीबार डिस्चार्ज भएकी छिन् । नेपालकै चिकित्सक टोलीले मात्रै प्रत्यारोपण गरेकाले अस्पताल प्रशासनले बिरामी डिस्चार्ज नहुँदासम्म सो विषय गोप्य राखेको थियो । 

प्रत्यारोपण सफल भएकाले अंगदानसम्बन्धी उपचारमा नेपाललाई थप सफलता मिलेको प्रा.डा. भण्डारीले जानकारी दिए । उनका अनुसार कलेजो प्रत्यारोपण गर्दा ५०–६० जनाको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको र करिब १२ घन्टा समय लागेको थियो ।

कलेजो प्रत्यारोपणमा करिब ३५ लाख रुपैयाँ खर्च भएको छ । त्यसमध्ये पाँच लाख रुपैयाँ सरकारले दिएको थियो भने अन्य रकम बिरामीका आफन्तले जोहो गरेका थिए । ‘कलेजो प्रत्यारोपण निकै जटिल मानिन्छ, यसको प्रत्यारोपण गर्दा जनशक्ति पनि धेरै चाहिन्छ, हामीले सफलतापूर्वक प्रत्यारोपण गर्न सकेका छौँ,’ भण्डारीले भने, ‘यसअघि प्रत्यारोपणको मुख्य काम नै विदेशी चिकित्सकले गर्दथे, तर यसपटक यहीँको टिमले प्रत्यारोपण गर्न सकेका छौँ । अब महिनामा एउटा प्रत्यारोपण गर्ने योजना छ ।’ उनका अनुसार कलेजो प्रत्यारोपणका अधिकांश बिरामी भारत जाने गरेका छन् ।

ad
ad