
नगर क्षेत्रमा छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापनका लागि सिद्धार्थनगर नगरपालिकाले पुनः अभियान सुरु गरेको छ।
यसअघि पनि सडकमा छाडिएका गाईगोरु नियन्त्रणमा लिई व्यवस्थापन गरेको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाया पुनः सडकमा देखिन थालेपछि नियन्त्रण तथा व्यवस्थापन गर्ने अभियान चलाएको नगरप्रमुख इस्तियाक अहमद खाँले बताए।
छाडा गाईगोरुका कारण सवारी दुर्घटना हुनुका साथै नगरको सौन्दर्यमा समेत असर परेपछि गत वर्ष पनि नगरपालिकाले अभियान चलाएर छाडा गाईगोरु व्यवस्थापन गरेको थियो। ‘नगर क्षेत्रबाट छाडा गाईगोरुको समस्या निर्मूल पार्ने उद्देश्य र विश्वासका साथ अभियान चलाएर छाडा गाईगोरु नियन्त्रण तथा व्यवस्थापन गर्न सुरु गरेका छौँ,’ प्रमुख खाँले भने।
व्यवस्थापनपश्चात् पालिएका गाईगोरु पुनः छाडा नछाड्न र सचेत रहन नगरप्रमुख खाँले नगरवासीलाई आग्रह गरेका छन्।
नगरवासी, अन्य पालिका तथा खुला सीमाका कारण भारतबाट समेत गाईगोरु छाडा छाड्ने गर्दा सिद्धार्थनगरमा समस्या देखिएको नगरपालिका कार्यालयले जनाएको छ। छाडा चौपायाले नगरको सौन्दर्यका लागि लगाइएका फूल, बिरुवा, धानखेतलगायतमा नोक्सानी गर्ने गरेका छन्।
व्यवस्थापनका लागि नियन्त्रणमा लिइएका गाइगोरुलाई देवकोटाचोकनजिकै होल्डिङ सेन्टरमा जम्मा गर्ने गरिएको नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जानकारी दिइन्। सेन्टरमा हालसम्म ४५ वटा छाडा गाईगोरु जम्मा गरिएको छ। होल्डिङ सेन्टरमा गाईगोरुलाई पशु चिकित्सकद्वारा स्वास्थ्य जाँच र उपचार गरी घाँस, पराल खुवाएर राखिएको उपप्रमुख अधिकारीले बताइन्।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले छाडा गाईगोरु नियन्त्रणका लागि नगरपालिका संवेदनशील भएर लागेको बताए। नियन्त्रणमा लिइएका गाईगोरुको गौसंरक्षण तथा अनुसन्धान केन्द्रमा व्यवस्थापन गरिने उनले बताए।