१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
लुइज इनासियो लुला दा सिल्भा
२o८१ बैशाख २० बिहीबार १o:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

लोकतन्त्र सुदृढीकरणमा ब्राजिलको अनुभव

Read Time : > 2 मिनेट
लुइज इनासियो लुला दा सिल्भा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o३:oo

यही ८ जनवरीमा ब्राजिलले लोकतन्त्रमाथि मडारिएको खतरालाई निमिट्यान्न गर्ने सामथ्र्य देखाएको एक वर्ष पुगेको छ । नवनिर्वाचित सरकारले जिम्मेवारी सुरु गरेको हप्ता दिन नबित्दै अतिवादी समूहले ब्राजिल गणतन्त्रको तीन शक्ति स्तम्भको मुख्यालयमा अतिक्रमण गरेको थियो । झुट र दूराशययुक्त सूचनाको लहलहैमा लागेर ती अतिवादीले भवनको ढोका र ऐतिहासिक एवं कलात्मक वस्तुमा क्षति पुर्‍याए । अतिवादी समूहले आफ्ना विध्वंशात्मक अतिक्रमणलाई इन्टरनेटमा समेत प्रदर्शन गरे । ६ जनवरी २०२१ मा अमेरिकी कांग्रेस भवन युएस क्यापिटोलमा भएको हमलाको झल्को दिने गरी अतिवादीले गरेको अतिक्रमणले लोकतन्त्रको अवमूल्यन गरेको थियो ।

भाग्यवश यो ‘कु’ प्रयास असफल भयो । ब्राजिलको समाजले यो अतिक्रमणलाई अस्वीकार गर्‍यो । गत वर्ष राष्ट्रिय कांग्रेस, संघीय सर्वोच्च अदालत र कार्यपालिकाले सत्यतथ्य उजागर गर्न र अतिक्रमणकारीलाई कानुनी दायरामा ल्याउन यथासम्भव प्रयास ग¥यो । यो कु प्रयास लोकतन्त्रलाई लामो समयदेखि व्यक्तिगत लाभका लागि अवमूल्यन गर्दै आएका मुलुकका अतिवादी नेताका गतिविधिको परिणाम हो ।

ब्राजिलको अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त निर्वाचन प्रणालीमाथि प्रश्न तिनैले गरिरहेका थिए जो कुनै वेला यही प्रणालीबाट निर्वाचित भएका थिए । अमेरिकी निर्वाचन अस्वीकार गर्नेले जसरी मेल–इन भोटिङमा प्रश्न उठाए, त्यसरी नै यिनले प्रमाणविनै ब्राजिलको विद्युतीय मतदान यन्त्रमाथि प्रश्न उठाए । यो झुटो दाबीको उद्देश्य भनेकै लोकतन्त्रको अवमूल्यन गर्दै अधिनायकवादी शैलीबाट सत्ता हत्याउनु थियो । यसका बाबजुद ब्राजिलमा लोकतन्त्र कायम रह्यो र बलियो बन्यो । 

लोकतन्त्रले जनतालाई समृद्ध बनाउन नसकेपछि अतिवादीहरूले राजनीतिक प्रक्रिया अवमूल्यन गर्ने र सार्वजनिक संस्थामाथि अविश्वासको बिउ रोप्ने प्रयास गर्छन्

१२ वर्षपछि राष्ट्रपतिमा पुनर्निर्वाचित भएपछि मुलुकको एकता एवं सफल सार्वजनिक नीतिको पुनर्निर्माण मेरो नेतृत्वको उद्देश्य रहँदै आएको छ । सरकारले जनताको जीवनलाई उत्थान गर्नु भनेकै लोकतन्त्रमाथि हमला गर्नेप्रति दिइने सशक्त जवाफ हो । अघिल्लो सरकारका पालामा अमेजन क्षेत्रमा बढिरहेको वनविनाश सन् २०२३ मा हाम्रो सरकार आएयता ५० प्रतिशतले घटेको छ ।

हामीले आफ्ना सन्तानलाई खोप लगाउने र विद्यालय पठाउने महिलाको आम्दानीको प्रत्याभूति गर्ने ‘बोल्सा फेमिलिया’जस्ता गरिबी निवारण नीतिलाई ब्युँताएका छौँ । सन् २०२३ मा अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमानभन्दा तीनगुणा बढीले हाम्रो अर्थतन्त्रमा वृद्धि भएको छ । अहिले हामी आर्थिक सहयोग एवं विकास संगठन (ओइसिडी)का अनुसार प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वकै दोस्रोअनुकूल मुलुक बनेका छौँ । लोकतान्त्रिक मान्यतामा प्रतिबद्ध हुँदै ब्राजिल अन्तर्राष्ट्रिय परिदृश्यमा जलवायु परिवर्तनलाई अस्वीकार गर्ने स्थितिबाट माथि उठेको छ । हामीले कोभिड– १९ मा लाखौँको ज्यान जानुमा जिम्मेवार यसअघिको सरकारको विज्ञानलाई बेवास्ता गर्ने नीतिलाई पनि त्यागेका छौँ । 

आज विश्वले विरोधाभासी क्षणको सामना गरिरहेको छ । वैश्विक चुनौतीको निवारण गर्न मुलुकहरूबीच प्रतिबद्धता एवं सहकार्य आवश्यक छ । तर, हामीले संवाद अगाडि बढाउने, भिन्न मतलाई स्वीकार गर्ने र संयुक्त पहलकदमी लिने मामिलामा दिनानुदिन अप्ठ्यारा व्यहोरिरहेका छौँ । समाजलाई व्यक्तिवादले खाइरहेको छ भने मुलुकहरू एक–अर्काबाट अलग हुँदै गएका छन् । नतिजा, विश्वशान्तिलाई प्रोत्साहन गर्न सकिएको छैन र हामीले जलवायु, खाद्य एवं ऊर्जा संकट, भूराजनीतिक तनाव एवं युद्ध, बढ्दो द्वेषी अभिव्यक्ति एवं जातिद्वेषजस्ता जटिल समस्या व्यहोर्नुपरिरहेको छ । यी समस्याले विश्वभरका मुलुकबीच र मुलुकभित्रको असमानतालाई मलजल गरिरहेका छन् ।     

हालैका दशकमा मुट्ठीभरका मानिसलाई पोस्ने आर्थिक विकासले आम्दानीलाई एकत्रित गरेको छ, निराशालाई प्रोत्साहन गरेको छ, मजदुरको अधिकारलाई कुण्ठित गरेको छ र सार्वजनिक संस्थाप्रतिको अविश्वास बढाएको छ । असमानताले अतिवाद एवं राजनीतिक ध्रुवीकरणलाई मलजल गर्छ । जब लोकतन्त्रले जनताको जीवनलाई समृद्ध बनाउन सक्दैन तब अतिवादीहरूले राजनीतिक प्रक्रिया अवमूल्यन गर्ने र सार्वजनिक संस्थामाथि अविश्वासको बिउ रोप्ने प्रयास गर्छन् ।

लोकतन्त्रको क्षयीकरणलाई मानिसका समाचारका स्रोत एवं सामाजिक संवादलाई मञ्च प्रदान गर्ने डिजिटल एप्लिकेसनले थप क्षयीकरण गरेको छ । यी डिजिटल एप्लिकेसन लोकतान्त्रिक सहअस्तित्वका लागि नभई नाफा कमाउने उद्देश्यले बनेका हुन् । ठूला प्रविधि कम्पनीको व्यापारिक मोडेलले प्रयोगकर्ताको संलग्नता र ध्यान खिच्ने नाममा भडकाउ सामग्री र अतिवादी संकथनलाई प्रोत्साहन गर्छ । यसले विश्वव्यापी रूपमा जोडिएको लोकतन्त्रविरोधी शक्तिलाई फाइदा पु¥याउँछ । यसमाथि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले पनि थप नकारात्मक भूमिका खेलेको छ । मिथ्या सूचनालाई बल पु¥याउनुका अलावा एआईले विभेदलाई प्रोत्साहन गरिरहेको छ, बेरोजगारी बढाइरहेको छ र मानिसको अधिकार मिचिरहेको छ । 

यी प्राविधिक, सामाजिक र राजनीतिक मामिला एकै ठाउँमा जोडिएका छन् । लोकतन्त्रलाई बलियो बनाउन राज्यले संरचनागत असमानतालाई सम्बोधन र जनताको जीवन समृद्ध बनाउनुबाहेक अतिवादलाई मलजल गर्ने कारकको सामना गर्न सक्नुपर्छ । आगामी दिनमा ६ र ८ जनवरीका जस्ता कु प्रयास रोक्न असमानताको यथार्थ र अनिश्चित रोजगारीको अवस्थामा रूपान्तरण ल्याउन सक्नुपर्छ । यसका लागि अन्तर्राष्ट्रिय श्रमिक संगठनको सौजन्यमा म र अमेरिकी राष्ट्रपति जो बाइडेनले उचित रोजगारीको प्रोत्साहनका लागि साझेदारी कार्यक्रम अघि सारेका छौँ ।

हामीलाई समावेशिता र मानवतालाई फाइदा हुने ढंगले सत्य सूचना र एआईको विकास एवं प्रयोग सुनिश्चित गर्ने विश्वव्यापी पहलकदमी आवश्यक छ । राष्ट्रसंघ, युनेस्को र अन्य अन्तर्राष्ट्रिय संस्थाले यसमा काम गरिरहेका छन् । गत महिना ब्राजिलले जी–२० को अध्यक्षता ग्रहण गरेको छ । ‘न्यायपूर्ण विश्व र दिगो ग्रह निर्माण’को मर्म बोकेर ब्राजिल विभिन्न प्रकारका असमानताविरुद्ध लड्न प्रतिबद्ध छ । विश्वका राजनीतिक नेता यो वर्ष ब्राजिलमा भेला भएर विश्वव्यापी चुनौतीको समाधान खोज्नेछन् भन्नेमा म आशावादी छु ।
(लुला ब्राजिलका राष्ट्रपति हुन्) द वासिङटन पोस्टबाट 

ad
ad