१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ जेठ १ मंगलबार १o:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल रेलवेको तेस्रो चरणको ट्रयाक निर्माणको सर्भे हुँदै 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:३५:oo

महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर रेलवे ट्रयाक निर्माणका लागि लोकेसनअनुसारको सर्भेको काम धमाधम भइरहेको छ । मुआब्जा वितरणमा ढिलाइ भएका कारण सर्भे काममा ढिलाइ हुन पुगेको सो खण्डमा अहिले नेपाल र भारतीयका प्राविधिक टोलीले संयुक्त रूपमा सर्भेको कामलाई गति दिएका हुन् । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलवे ट्रयाक निर्माण गर्न सन् २०१० मै दुई देशबीच सहमति भएको थियो ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको पहलमा जयनगरदेखि बर्दिवाससम्म तीन चरणमा उक्त रेलवे ट्रयाक निर्माण गर्ने सहमति भएको थियो । पहिलो चरणमा जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर, दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर रेलवे ट्रयाक निर्माण भइसकेको छ । अहिले जयनगरदेखि भंगहासम्म ५२ किलोमिटर ट्रयाकमा नेपाल सरकारले आफैँले खरिद गरेको रेल सञ्चालन भइरहेको छ । 

तेस्रो चरणअन्तर्गत भंगहादेखि बर्दिवाससम्मको ट्रयाक निर्माणका लागि अहिले दुई देशका प्राविधिक टोलीले सर्भे गरिरहेको रेलवे विभाग साइड कार्यालय जनकपुरधामका इन्जिनियर विनोद ओझाले जानकारी दिए । सो ट्रयाक निर्माणका लागि नेपाल सरकारले भारतीय पक्षलाई जग्गा उपलब्ध गराइसकेको छ । भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर लामो ट्रयाक निर्माणका लागि सरकारले एक सय २३ बिघा जग्गा अधिग्रहण गरेको छ ।  

अधिग्रहण गरिएकोमध्ये ८० प्रतिशतभन्दा बढी जग्गाको झन्डै दुई अर्ब ३० करोड मुआब्जा किसानलाई वित्तरण गरिसकेको उनले बताए । ट्रयाक निर्माण गर्ने जग्गामा परेको भौतिक संरचना घर, पसल तथा रूखहरूको क्षतिपूर्तिको विवरण अहिले संकलनको कार्य भइरहेको उनले बताए । सर्भेको काम सम्पन्नपश्चात् भारतीय पक्षले निर्माण कार्य थाल्ने उनले बताए । निर्माण कार्य सुरु भएदेखि तीन वर्षभित्रमा ट्रयाक निर्माणको काम पूरा हुने भारतीय पक्षले दाबी गरेको छ ।

भारत सरकारको स्वामित्वको भारतीय रेल कम्पनी इरकोनले गरिरहेको छ । उक्त ट्रयाक निर्माणका क्रममा महोत्तरीको रातु नदी र बरहडी खोलामा ठूला पुल र दर्जनभन्दा बढी साना पुल निर्माण गर्नुपर्ने हुन्छ । ती पुलहरू पनि भारतीय पक्षले निर्माण गर्ने उनले बताए । त्यस्तै, भंगहादेखि बर्दिवाससम्म विभिन्न स्थानमा स्टेसन र हल्ट निर्माण गर्नुपर्ने हुन्छ । उक्त स्टेसन र हल्ट निर्माण पनि भारतीय पक्षले नै गर्नेछ । तर, अहिलेसम्म भंगहादेखि बर्दिवाससम्म कतिवटा रेलवे स्टेसन र कतिवटा हल्ट निर्माण हुने भन्ने अहिले यकिन हुन सकेको छैन । 
 

ad
ad