१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १८:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

माछापुच्छ्रे टेनिस प्रतियोगिता १० पुसदेखि

नेपालसहित चार देशका २१६ खेलाडीले प्रतिस्पर्धा गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:५७:oo

२०औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता ०८० पुस १० गते मंगलबारदेखि हुने भएको छ। कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र बेलायतका गरी दुई सय १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

६ दिनसम्म चल्ने प्रतियोगितामा मेन्स तथा विमेन्स सिंगल्स र डबल्ससँगै ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि गरी विभिन्न १२ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नवीन चालिसेले जानकारी दिए।

पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन भएका प्रतियोगिताहरूमध्ये यो हालसम्मकै धेरै खेलाडीको सहभागिता रहने प्रतियोगित रहेको चालिसेले बताए। प्रतियोगितामा नेपालका नम्बर १ पुरुषतर्फ पोखराका प्रदीप खड्का र नम्बर १ महिला खेलाडी अभिलाषा विष्टसहित आठ नम्बर र्‍याङकिङका खेलाडीले प्रतिस्पर्धा गर्ने चालिसेले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत ओपन मेन्स तथा विमेन्स सिंगल्सतर्फका विजेताले ८० र उपविजेताले ४० हजार नगद, मेन्स तथा विमेन्स डबल्सतर्फका विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलिस्टले १० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।

३५ वर्षमाथि भेट्रान्स सिंगल्सतर्फ विजेताले ६० हजार, उपविजेताले ३० हजार तथा सेमिफाइनलिस्टले १० हजार, डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनलिस्टले १० हजार पाउनेछन्। ४५ वर्षमाथि सिंगल्सका विजेताले ४० हजार, उपविजेताले २० हजार र सेमिफाइनलिस्टले १० हजार तथा डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनलिस्टले १० हजार प्राप्त गर्नेछन्। 
५५ वर्षमाथि सिंगल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलिस्टले १० हजार तथा डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनलिस्टले १० हजार पाउनेछन्।

६५ वर्षमाथि सिंगल्सतर्फ विजेताले १५ हजार, उपविजेताले सात हजार पाँच सय र सेमिफाइनलिस्टले दुई हजार पाँच सय प्राप्त गर्ने संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए।

२१ लाख आम्दानी र १९ लाख खर्च हुने प्रतियोगिताको पुरस्कार राशिमा मात्रै नगद आठ लाख खर्च हुने संघका कोषाध्यक्ष अनुज बास्तोलाले जानकारी दिए।

ad
ad